नेपालगन्जमा मेरो घर पनि छ । र, बिजनेस पनि छ । त्यसैले, नेपालगन्ज गइरहन्छु । मलाई नेपालगन्ज खुब मन पर्छ । यो पुरानो सहर पनि हो । यहाँ मिश्रित संस्कृति छ । यहाँबाट भारतसँगको सीमा पनि नजिक छ । सीमातिरका बजार निकै रमाइला छन् । दसैँ–तिहारमा यहाँ आफ्नै किसिमको रमाइलो हुन्छ । हाटबजार लाग्छ । बरु काठमाडौं सुनसान हुन्छ । नेपालगन्जमा मुस्लिमको बढी बसोवास हुनाले मुस्लिम मार्केट पनि छ । म नेपालगन्ज गइरहे पनि लामो समय भने बस्न पाउँदिनँ ।
पहिला त हामी नेपालगन्जबाट फिल्म हेर्नकै लागि लखनउ पनि जान्थ्यौँ । उता फिल्म हेरेर किनमेल गरेर फर्किन्थ्यौँ । यहाँ वारिपारिको सम्बन्ध छ । यो पनि मलाई मन पर्छ । मलाई मन पर्ने सहर पोखरा पनि हो । पोखराको लेकसाइड पुग्दा नेपालमा होइन, विदेशमा भएजस्तो अनुभव हुन्छ । पोखरा जीवन्त छ ।
लेकसाइडबाट देखिने फेवाताल, हरिया डाँडा, उत्तरतिर सेताम्मे हिमालले मलाई खुब लोभ्याउँछ । पोखरा पुग्दा फरक देशमा पुगेजस्तो लाग्छ । लेकसाइडमा नेपाली र विदेशी हुन्छन्, बाहिर बसेर खाइरहेका देखिन्छन् । यो हामीले विदेशका सहरमा मात्र देख्न पाउँछौँ । मान्छे निस्फिक्री हिँडिरहेका हुन्छन् । भिडभाड पनि छैन ।