मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार १७ मंगलबार ०८:४६:००
Read Time : < 1 मिनेट
अर्थ

दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

भण्डारणबारे २० महिनामा थाहा हुन्छ – चिनियाँ टोली

Read Time : < 1 मिनेट
२०७६ असार १७ मंगलबार ०८:४६:००

पेट्रोलियम भण्डारण हुन सक्ने भन्दै दैलेखको पञ्चकोसी क्षेत्रको नाभिस्थानबाट चिनियाँ टोलीले अन्वेषण थालेको छ । चीनबाट आएको विशेषज्ञसहित नेपाली प्रतिनिधिको टोलीले पेट्रोलियम पदार्थको अन्वेषण सोमबारबाट थालेको हो । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अन्वेषणको उद्घाटन गरेका छन् । शिरिस्थान र नाभिस्थानमा भएको ज्वालाको अनुसन्धानसँगै मन्त्री यादवले खोलामा बगेको पानीमाथि आगो बलेको समेत अवलोकन गरेका थिए । 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले कर्णाली प्रदेश धरै सम्भावनाको क्षेत्र भएकाले पेट्रोलियम भण्डारण खोजी थालिएको बताए । अन्वेषणका लागि चिनियाँ टोली दैलेख आएको छ । अहिले जिओलोजिकल सर्भे, म्याग्नेट सर्भे हुने बताइएको छ । जमिनको १० किलोमिटर भित्रसम्मको माटो निकालेर पेट्रोलियम पदार्थको अवस्था अन्वेषण गरिनेछ । सबैले अन्वेषण टोलीलाई सहयोग गरी पेट्रोलिय पदार्थ भए–नभएको यकिन गर्न सहयोग गर्नुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

०७२ मा चैतमा पनि चिनियाँ टोली एक साता बसेर अनुसन्धान गरी फर्किएको थियो । अहिले चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालको तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि फेरि अन्वेषणको कामले निरन्तरता पाएको हो । 

चीन सरकारको विशेषज्ञ टोलीमा १९ जना रहेका छन् । टोलीप्रमुखका रूपमा टान फुयाङ रहेका छन् । उनले विभिन्न देशमा पेट्रोलियम सम्भावना भएका स्थानहरूको खोजी गरेका छन् । टोलीले जिओलोजिकल सर्भे गर्नेछ । पहिलो २० महिनाभित्र विभिन्न तीन विधामार्फत अध्ययन गरेपछि पेट्रोलियम पदार्थ भएको स्थान पहिचान हुनेछ । २० महिनासम्म अध्ययन गरेर चिनियाँ टोलीले नेपाल सरकारलाई अध्ययन प्रतिवेदन दिनेछ ।