१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार १५ आइतबार ११:४४:००
Read Time : > 1 मिनेट
प्रदेश

प्रधानमन्त्री रोजगार कार्यक्रम : सिरहामा सडक मर्मत, सरसफाइ र वृक्षरोपण गरिँदै

Read Time : > 1 मिनेट
२०७६ असार १५ आइतबार ११:४४:००

बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी उपलब्ध गराउन थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिरहाका अधिकांश स्थानीय तहले सडक मर्मत, कुलो सरसफाइ र वृक्षरोपणको काममा जनशक्ति खटाएका छन् ।  जिल्लामै सबैभन्दा ठूलो लहान नगरपालिकाअन्तर्गतका २४ वडामध्ये ९, १२, १७ र १९ वडामा पछिल्लो ७ असारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम थालिएको रोजगार संयोजक देवकुमार साहले बताए । 

उनले वडा–९ मा वृक्षरोपण, १२ मा कुलो सरसफाइ तथा १७ र १९ मा सडक मर्मतको काम भइरहेको बताए । पूर्व– पश्चिम सडकअन्तर्गत लहान–१२ मत्स्य फर्म नजिक साथीहरूसँग कुलो सफाइ गरिरहेकी ५१ वर्षीया फूलकुमारीदेवी रामले भनिन्, ‘सडक, बजार क्षेत्रको सरसफाइको काम गर्छु भनेर आवेदन दिएको थिएँ, कुलोको सफाइमा लागेकी छु ।’ सरस्वती–दूधमती–भवरी कुलोको सरसफाइमा रामकै छिमेकी गाउँ जटियाहीका ३५ र भोटिया टोलका १२ गरी ४७ जना महिला बिहीबार अपराह्नसम्म खटिँदै थिए । 

उक्त कुलोको फूलबारी र भोटियाटोल खण्डमा २७ जनालाई सरसफाइको काममा खटाइएको वडासदस्य महेश्वर ठाकुर दनुवारले बताए । ‘पहिलो चरणमा ३० जनालाई मात्र काममा लगाइने योजना थियो । तर, आवेदक बेरोजगारहरूको संख्या बढी भएकाले बिहीबारसम्म ८० जनासम्मलाई काममा लगाइएको छ,’ उनले भने । 

 गोलबजारमा पनि कार्यक्रम सुरु 
जिल्लाकै मध्यबिन्दुमा पर्ने गोलबजार नरगपालिकाका रोजगार संयोजक सुरेश ठाकुरका अनुसार वडा ५ मा १५ जनालाई बिहीबारदेखि भित्री सडक क्षेत्रको सरसफाइ र मर्मतको काममा लगाइएको छ । त्यस्तै, वडा ९, ११ र १२ मा शुक्रबारदेखि काम सुरु भएको छ । ‘आवेदन दिएका करिब तीन हजार चार सयजनामध्ये नगर कार्यपालिकाले एक सय ६५ जनाको नाम बेरोजगारका रूपमा अनुमोदन गरेकाले त्यहीमध्येबाट काममा लगाएका छौँ,’ संयोजक ठाकुरले भने । गोलबजारमा १३ वटा वडा छन् । 

मिर्चैया नगरपालिकाले नगरका वडा १, २, १० र ११ मा असार १ गतेदेखि नै काम सुरु गरेको रोजगार संयोजक गणेश गुप्ताले बताए । ‘१ असारदेखि नै हरेक वडाबाट १८ जनाका दरले ७२ जनालाई सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय सरसफाइको काममा परिचालन गरेका छौँ,’ गुप्ताले भने । संयोजक गुप्ताका अनुसार नगरक्षेत्रभित्र मलहनियास्थित वडा कार्यालय, रामपुर विर्तामा सडक मर्मत र सरसफाइ,  महेशपुरमा सडक व्यवस्थापन तथा सरसफाइ, सीतापुरमा सार्वजनिक पोखरी सफाइ र व्यवस्थापनको काम भइरहेको छ । उनले सरसफाइको काम सकिएपछि वृक्षरोपणको काम सुरु गरिने बताए । सफाइ र वृक्षरोपणका लागि कामदारहरूलाई दैनिक न्यूनतम पाँच सय १७ रुपैयाँ ज्याला दिने गरी एक महिनासम्म खटाइनेछ,’ उनले भने, ‘नगरका १२ वटै वडामा १८ जनाका दरले ३० दिनसम्म काम दिनेछौँ ।’ 

 सिरहामा ६ करोडभन्दा बढी बजेट
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिरहाका १७ स्थानीय तहमा ससर्त अनुदानमा ६ करोड १२ लाख रुपैयाँ बजेट आएको छ । लक्ष्मीपुर पतारी गाउँपालिकाले बेरोजगारको सूचीमा परेकालाई वृक्षरोपण, सडक किनारमा नाला निर्माण, सडक मर्मत, पतारी पोखरीको सौन्दर्यकरणका लागि बगैँचा बनाउने काममा खटाएको रोजगार संयोजक प्रकाश चौधरीले बताए । 

जिल्लाका अन्य स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम थालनी भए पनि अर्नमा गाउँपालिकामा रोजगार संयोजक नहुँदा काम अलपत्र परेको प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले बताए । ‘पछिल्लो वैशाखतिर रोजगार संयोजकको रूपमा आएकी इन्दु यादवले बैंकमा नाम निस्किएपछि पदबाट राजीनामा गरिन् । संयोजक खाली भएलगत्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयमा पत्राचार गरिएको छ । तर, नयाँ रोजगार संयोजक आएका छैनन्,’ महतोले भने ।