१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रा.डा. विद्यानाथ कोइराला
२०७५ पौष १७ मंगलबार १४:४१:००
Read Time : > 4 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

शैक्षिक कुइनेटाहरू

Read Time : > 4 मिनेट
प्रा.डा. विद्यानाथ कोइराला
२०७५ पौष १७ मंगलबार १४:४१:००

विकास चक्रीय हुन्छ कि धर्सीय ? चक्रीय भन्नेले आधुनिक दुनियाँ देख्यौँ । पढेकाहरूको दुनियाँ । आधुनिकोत्तर दुनियाँ पनि देख्यौँ । पढेर पनि बेकार बनेकाहरूको दुनियाँ । धर्सीय भन्नेले हिजोको भन्दा आज परिवर्तन भइरहेछ भन्ने देख्यौँ । हिजो दुई प्रतिशत साक्षर । अर्थात् मौखिकहरूको बोलवाला । लिखितवालाहरूको चर्को मानमनितो । आज ८२ प्रतिशत साक्षर छौँ । लिखितहरूको बोलवाला । मौखिकहरू खुम्चिँदै छौँ । यसको अर्थ हो– हरदृष्टिमा घुम्तीहरू छन् । बन्छन् । बनाइन्छन् । कुन कुइनेटामा छौँ ? अनि कता जाने ? कसरी जाने ? मैले तिनै कुराहरूमा चर्चा गरेको छु । 

क) बालविकासका कुइनेटाहरू
छरछिमेकी तथा साथीसँगीले गर्भवती महिलालाई शिक्षा दिन्थे । झारफुके तथा जडीबुटीवालाले औषधि गर्थे । सुडेनीहरूले थप जिम्मेवारी लिन्थे । योगीहरूले सद्मति दिन्थे । लालनपालनका । देखभालका । सहरीकरणले छरछिमेक हरायो । आधुनिकीकरणले हिजोका छरछिमेक हराए । अन्तरंग साथीहरू हराए । हाई तथा बाईवाला साथीहरू भेटिन थाले । यसको अर्थ हो– हिजोका छरछिमेकीको काम एम्बुलेन्सले गर्‍यो । साथीसँगीको काम पैसाले गर्‍यो । झारफुके तथा सुडेनीको काम डाक्टर र नर्सले गरे । गर्भस्थ शिशु तथा गर्भिणीको हेरचाहसम्बन्धी जानकारी दिने काम युट्युब तथा गुगलले गरे । यहीँ बालशिक्षा अलमलियो । अबको कुइनेटो हो– छरछिमेकी, साथीसँगी, झारफुके, जडीबुटीवाला, सुडेनी तथा योगीहरूको ज्ञान बटुल्ने । तिनमा विज्ञान खोज्ने । यसको अर्थ हो– बालविकास शिक्षाका नीति बनाउनेले गर्भिणी तथा भ्रूणदेखि आठ वर्षसम्मका बालबालिकाको रेखदेख एवं देखभालसम्बन्धी परम्परागत ज्ञान तथा विज्ञान खोज्नुपर्छ । आधुनिक एवं आधुनिकोत्तर भनिएका हाम्रा ज्ञान एवं विज्ञानहरूलाई झनै समृद्ध बनाउनुपर्छ । दुवै ज्ञानविज्ञानका मिलित कुराहरूलाई उपयोग गर्नुपर्छ । 

बालविकासकै अर्को कुइनेटो हो– बालबालिकाको स्वतन्त्र सिकाइ । गाउँ देहातका बालबालिकाले स्वतन्त्रतामा सिके । गाई गोठालो भएर । बाआमालाई सघाएर । सहरी तथा पढेलेखेका बाबुआमाको व्यस्त जीवनीले बालबालिकालाई बन्धनमा बाँच्न बाध्य बनायो । ती स्वतन्त्रता हरिएका बालबालिकालाई थुन्ने नर्सरी, केजीहरूलाई कसरी बाल स्वतन्त्रता सुनिश्चित गर्न लगाउने ? कसरी विद्यालयलाई स्वतन्त्रताको सम्मान गर्ने संस्था बनाउने ? कसरी कारखाना बन्दै गएका बाबुआमालाई जिउँदाहरूसँग व्यवहार गर्न सिकाउने ? यसको अर्थ हो– बालविकासले त्यतापट्टि पनि ध्यान दिनुपर्छ । 

पुर्खाले अनेकानेक ज्ञानहरू संस्थागत गरेका छन । आधुनिक भन्न–भनाउन चाहनेहरूले ती ज्ञान तथा सीपहरू मारिरहेका छौँ । अर्थात् हामी क्याल्सियम जान्दछौँ । गँड्यौला तथा बस्र्यौला खानेहरूको ज्ञान जान्दैनौँ । सन्तुलित खाना जान्दछौँ । दाल, भात, तरकारी तथा अचार खानेहरूको ज्ञान जान्दैनौँ । अबको बालविकासले यी र यस्ता कृत्रिम खाडलहरू चिन्नुपर्छ । पुर्नुपर्छ । यो पनि बालविकासको अर्काे कुइनेटो हो । 

ख) आधारभूत शिक्षाको कुइनेटो 
हिजो कसैले पढे पुग्थ्यो । आज सबैले पढनु जरुरी छ । स्कुल गएर । स्कुललाई घरैमा पु¥याएर । छरछिमेकमै गएर । आधुनिक प्रविधिमा जोडिएर । सीप सिक्ने तरिका त्यही हो । अद्यावधिक हुने तरिका त्यही हो । प्रश्न हो कसको लगानीमा ? सरकार सक्तैन । जनताको लगानी बढ्दो क्रममा छ । प्रविधिको चर्को दबाब छ । यसवेलाको कुइनेटो हो– खर्च कसले गर्ने ? हुनेले गर्ने हो भने सबैलाई निःशुल्क भएन । नहुनेलाई निःशुल्क भयो । यस अर्थमा समानता भएन । समता भयो ।  प्रश्न हो– समानता खोज्ने कि समता खोज्ने ?

समानता खोज्नेले निजी शिक्षाको विरोध गर्‍यौँ । अस्तित्वै नास्ने विरोध । समता खोज्नेले तिनको भरपुर उपयोग खोज्यौँ । तिनको बदमासी रोक्न खोज्यौँ । नियमन गरेर । विधिले बाँधेर । निश्चित क्षेत्रको जिम्मा दिएर । जिम्मेवारी तोकेर । तेस्रो चिन्तकले अमूर्त भाषा बोल्यौँ । सेवामुखी निजी । गुठीका निजी । यस्ता अमूर्तवादीले निजीका शिक्षकको तलब तोकेनौँ । सुविधा तोकेनौँ । नाफाको शब्दै भनेनौँ । यस अर्थमा इस्लामी देशका बैँकजस्ता बन्यौँ । सुद (ब्याज) लिन नपाइने कुरान पढेका । सुदको नाम बदलेर सेवाखर्च भनी लिए हुन्छ भन्नेहरू । आधारभूत शिक्षाका यी तीन कुइनेटामा हामी अलमलिएका छौँ । मैले दोस्रो बाटो रोजेँ । समताको बाटो । स्कुल जोनिङ गर्ने बाटो । मिलान गर्ने बाटो । नियमन गर्ने बाटो । विधिले बाँध्ने बाटो । निजी, सरकारी, धार्मिक जहाँ पढे पनि हुने बाटो । तर, न्यूनतम गुणस्तरको यकिन गर्ने प्रबन्धसहितको बाटो । 

ग) माध्यमिक शिक्षाको कुइनेटो 
सीपसहितको माध्यमिक शिक्षा । सबैको रहर यही हो । बेग्लै विद्यालयले छुट्टै सीप दिने कि ? एउटै विद्यालयले सँगै सीप दिने ? सीप दिन शिक्षक नै चाहिने कि ? प्रविधिले दिने ? स्वसीप सिकाइमा जोड दिने कि आमनेसामने बसेर सीप दिने ? सबैलाई सीप दिने कि ? इच्छुकहरूलाई सीप दिने ? निश्चित सीप दिने कि रोजाइको सीप दिने ? कुइनेटाहरू यिनै हुन् । यहीँनेर मेरो सोच हो– प्रविधिले सीप दिने । स्थानीय शिल्पीले सीप दिने । परम्परागत सीपका शिल्पीले । आधुनिक सीपका शिल्पीले । उद्योगी, व्यवसायी तथा व्यापारीकोमा इन्टर्नको काम गर्ने । अर्थात् शैक्षणिक एवं संस्थागत उपाय गर्ने । पहिलो तरिकाले शिक्षण सीप बदलेर सीप सिकाउने बाटो दिन्छ, दोस्रो तरिकाले विस्तार कार्यक्रमसहितका व्यावसायिक, पेसागत तथा प्राविधिक सीप दिन्छ । व्यावसायिक सीप लिनेलाई छोटो अवधिको तालिम भए पुग्छ । पेसागत सीप लिनेलाई प्रविधिमै सीप हाले हुन्छ । प्राविधिक सीप लिनेलाई लामो अवधिसम्म शिक्षण संस्थामै राखेर सीप तथा ज्ञान दिनुपर्ने हुन्छ । यसो गर्दा विद्यालय तथा क्याम्पस छाडेर बसेकाहरू पनि समेटिन्छन् । प्रश्न हो– स्विकार्ने कि जिद्दी लिने ? स्वीकारे सस्तो तरिकाले सीपसहितको शिक्षा दिन सकिन्छ । जिद्दी लिए रकम थप्नुपर्छ । दाता वा साहु खोज्नुपर्छ । 

घ) उच्च शिक्षाको कुइनेटो 
कसले खोज्यो उच्च शिक्षा ? तथ्यांकले भन्छ– धनीले । कसले खोज्यो सीप ? अनुभवले भन्छ– गरिबले । कसरी चलाउने उच्च शिक्षा ? लागत आपूरणको सिद्धान्तमा ? तत्कालीन आवश्यकताको सिद्धान्तमा ? दीर्घकालीन आवश्यकताको सिद्धान्तमा ? मागको सिद्धान्तमा ? सबैको पहुँच सुनिश्चित गर्ने सिद्धान्तमा ? अरू कुनैमा ? पहुँचका कुइनेटाहरू यिनै हुन् । गुणस्तरको जिम्मा कसले लिने हो ? गुणस्तर भनेकै के हो ? गुणस्तरका कुइनेटाहरू तिनै हुन् । दलीयताले स्कुल तथा कलेज ध्वस्त पा¥यो । दलैपिच्छेका संघसंगठनले ध्वस्त पारे । व्यवस्थापकीय कुइनेटाहरू तिनै हुन् । पढेकाले रोजगारी पाएनन् । उपलब्धिको कुइनेटो त्यही हो । 

संविधानले लेख्यो– दलित, गरिब र अपांगता भएकाहरूलाई निःशुल्क उच्च शिक्षाको पहुँच छ । त्यो समूहले चाहेमा तथा सकेमा माथिका कुनै पनि सिद्धान्त काम गर्दैनन् । कि सरकारको लगानी चाहिन्छ कि विश्वविद्यालयको कमाइ । अरूहरूको प्रवेशमा भने छुट छ । मेरो भनाइ हो– गरिखाने सीपका लागि छोटो अवधिको तालिम र प्रविधिमा सीप सिक्ने व्यवस्था । हुनेले तिर्ने प्रबन्ध । नहुनेलाई छात्रवृत्तिसहितको सुविधा । सिक्नका लागि समुदायको छनोट । त्यहीँ सिक्न । त्यहीँकालाई सिकाउन । त्यहीँ अनुसन्धान गर्न । त्यहीँका जनतालाई सेवा गर्न । दोस्रो भनाइ हो– जुत्ता फकाल्ने, जुत्ता लगाउने, तथा साझा जुत्ता बनाउने दलीयताका शिक्षक, कर्मचारी एवं विद्यार्थीको तयारी । यी तीन तरिकामध्ये जे गरे पनि हुने छनोटका शिक्षक, विद्यार्थी, कर्मचारी । आंशिक पढाइको व्यवस्था । द्वैध मोडका कलेज । क्याम्पस मिलान । मानित विश्वविद्यालय ।

त्रिविको ७ वटा विश्वविद्यालय । सामुदायिक कोर्स पनि भएका सामुदायिक कलेज । गुणस्तरको खाकाअनुसार न्यूनतम ज्ञान, सीप, अभिवृत्ति तथा क्षमता भएका विद्यार्थी । त्यहीअनुसारका शिक्षक एवं कर्मचारी । पढाइलाई व्यावहारिक बनाउन सक्ने शिक्षक एवं विद्यार्थी । सबैले पढ्न पाउने गरी प्रविधिमा आधारित शैक्षिक प्रबन्ध । यसो गर्दा विश्वविद्यालयमा नियमित, आंशिक, खुला मोड तथा खुला विश्वविद्यालयका विद्यार्थीहरू हुन्छन् । चाहेकाले पढ्न पाउने व्यवस्था हुन्छ । सीप सिक्नेहरू छोटो अवधिको तालिम लिन्छन् वा प्रविधिमा सीप सिक्छन् । अनुसन्धान गरेर बिक्ने ज्ञान तथा सीप लिन्छन् । जुन कलेज वा विश्वविद्यालयमा पढे पनि डिग्री हस्तान्तरित हुने व्यवस्था पाउँछन् । भर्चुअल तथा अगुमेन्टेड रियालिटीको सहायताले चाहेका प्राध्यापक एवं अन्य व्यक्तिसँग सिक्न तथा सिकाउन पाउँछन् । 

ङ) जनशिक्षाको कुइनेटो 
पुर्खाले हाम्रा जनतालाई अनेक ज्ञान सिकाएका छन् । संस्कार बनाएर । आचार बनाएर । तिनको अदम्य तागत हामीले मारेका छौँ । धर्मको नाममा । रुढिवादीको नाममा । ती ज्ञानहरूको प्रोफाइल बनाउनु जनशिक्षाको कुइनेटो हो । तिनलाई आधुनिक ज्ञान तथा विज्ञानसँग घोट्नु अर्को कुइनेटो हो । यसले प्रविधिको सहारा माग्छ । प्रयोगशाला माग्छ । हामीसँगै भएका प्रयोगशालामा यो काम हुन  सक्छ । गर्नुपर्छ । 

च) शिक्षक तथा कर्मचारीको कुइनेटो 
बालविकासदेखि विश्वविद्यालयसम्म शिक्षक छन् । कर्मचारी छन् । कोही आराध्य छन् । कोही बसुवा । कोही नुनको सोझोसमेत नगर्ने । तागत नभएकालाई भर्न सकिन्छ । पढाएर । देखाएर । तर, प्रवृत्ति नहुनेहरूलाई बिदा गर्नैपर्छ । प्रश्न हो– छान्ने कसले ? बिदा गर्ने कसले ? यहीँनेर मेरो सोच हो– शिक्षक तथा कर्मचारीले आफ्नो तागत आफैँले चिन्न पाउने सामग्री बनाउनुपर्छ । टोफेलजस्तो । जिआरईजस्तो । प्रविधिबाट योग्यता बढाउने बाटो दिनुपर्छ । युट्युबजस्तो । क्षमता नहुनेहरूलाई आफैँ छोड्ने परिवेश दिनुपर्छ । त्यसको कारण हो– गुणस्तरका जिम्मेवार यिनै हुन् । अरूले सघाउने मात्रै हो । यो कुराका लागि प्रतियोगी संस्कार बनाउनुपर्छ । अन्तरपालिका प्रतियोगिता । अन्तरप्रदेश प्रतियोगिता । अन्तरक्षेत्रीय प्रतियोगिता । 

निचोड
चिन्तन बनाउनेले कार्यान्वयन गर्न पाउन्न । पाउनेले पनि चिन्तन नै बुझ्दैन । बुझे पनि लागू गर्दैन । केही नगर्दा पनि दलीय छाता पाउँछ । पाइरहेछ । यो संस्कार नबदल्ने हो भने चिन्तनहरू आत्मरतिका पोका बन्छन् । बनाइन्छन् । कुइनेटाका सोचहरू कतै त्यस्तै पो बन्लान् कि ?

प्राध्यापक कोइराला त्रिभुवन विश्वविद्यालयको शिक्षा केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।