मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असार १५ आइतबार ०८:५६:००
Read Time : > 1 मिनेट
विश्व

व्यापार वार्ता गर्न  चीन र अमेरिका सहमत

Read Time : > 1 मिनेट
२०७६ असार १५ आइतबार ०८:५६:००

अमेरिका र चीन व्यापार तथा आर्थिक वार्ता सुरु गर्न सहमत भएका छन् । २० वटा औद्योगिक राष्ट्रको समूह जी–२० को सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको साइडलाइन बैठकमा यस्तो सहमति भएको हो ।

दुवै नेताबीच समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापार वार्ता गर्न सहमति भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन भेटवार्ता फलदायी भएको चीनका राष्टपति सी जिनपिङले बताए । ‘सहकार्य र समझदारीले चीन र अमेरिका दुवैलाई फाइदा पुर्‍याएको छ, सहकार्यलाई अझ राम्रो बनाउँदै लैजानेबारे छलफल भएको छ,’ वार्तापछि चिनियाँ राष्ट्रपति सीले भने । राष्ट्रपति सी र ट्रम्पले जी–२० सम्मेलनको सन्दर्भमा विश्वका मुख्य अर्थतन्त्र भएका विभिन्न १९ मुलुक र युरोपेली युनियनका उच्च नेताहरूबीच पनि भेटवार्ता गरेका थिए । उनीहरूले चीन र अमेरिकाबीचको पछिल्लो विकसित सम्बन्ध, व्यापार विवाद साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाबारे पनि जानकारी गराएका थिए । 

चीन व्यापार विवादबारे देखिएका असमझदारीलाई छलफल गर्न तयार रहेको, तर यसो गर्दा दुई देशबीच समानता र आपसी सम्मानमा आधारित भएर विचारविमर्श हुनुपर्ने राष्ट्रपति सीको भनाइ थियो । चीनको सार्वभौमिकता र सम्मानका विषयमा चीनले आफ्ना मूलभूत चासोलाई सुरक्षा गर्ने पनि राष्ट्रपति सीले बताए । विश्वका दुई ठूला अर्थतन्त्रले वार्ताबाटै समस्या समाधान निकाल्नुको विकल्प नरहेको उनले बताए । यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चीनसँग द्विपक्षीय सम्बन्ध विस्तार गरेर अघि बढ्न चाहेको बताए । चीन–अमेरिकाबीच व्यापारमा देखिएको असन्तुलनलाई सही तरिकाले समाधान गर्न दुई मुलुक छलफल र वार्ताबाट अघि बढ्न सक्नेतर्फ ट्रम्पले जोड दिए ।

सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिएका थिए । अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन् । जी–२० सम्मेलनमा समसामयिक विश्वका विषयहरू जस्तै, जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ । सम्मेलनमा उत्तर कोरिया, इरान र भेनेजुएलाबारे पनि छलफल भएको थियो । जी–२० समूहमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका छन् ।