मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रचण्डमान श्रेष्ठ
२०७५ पौष १७ मंगलबार १४:२४:००
Read Time : > 7 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

पर्यटन विकासका ८ घुम्ती

Read Time : > 7 मिनेट
प्रचण्डमान श्रेष्ठ
२०७५ पौष १७ मंगलबार १४:२४:००

बन्द नेपाल र खुला तिब्बत 
नेपालको पर्यटन क्षेत्र तथा पर्यटक विकासको इतिहास केलाउँदा र विशेषगरी अन्तर्राष्ट्रिय पर्यटन विकासक्रम हेर्दा बडो चाखलाग्दो घटनाबाट थालनी भएको देखिन्छ । त्यो चाखलाग्दो विषय भनेको हाम्रो भौगोलिक अवस्थिति हो । हामी चीन र भारतको बीचमा अवस्थित छौँ । चीनतर्फ तिब्बत नेपालसँग जोडिएको छ । इतिहास हेर्दा नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको सुरुवात विन्दु हिमशृंखला नै हो । किनकि संसारभरका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अधिक नेपालमा पर्छ । उच्च पर्वतीय शृंखलामा विशेष चाख राख्ने एउटा समूह छ । जुन यस क्षेत्रको साहसिक कार्य, खोज तथा अनुसन्धानका लागि संलग्नता देखाउँदै आएको थियो र छ । तर, ००७ भन्दा अघि नेपालतर्फबाट हिमालमा जान सक्ने अवस्था थिएन । किनकि हाम्रो राजनीतिक प्रणालीले विदेशीलाई रोक लगाएको थियो । यसविपरीत उत्तरतर्फको तिब्बत त्यसवेला खुला थियो । यसकारण ००७ भन्दा अघिका साहसिक कार्य, खोज तथा अनुसन्धान सबै तिब्बततर्फबाट भएका थिए । 

ऐतिहासिक महत्व बोकेको १९५० को दशक
समय परिवर्तनशील छ । ००७ (१९५०/५१) मा नेपालको राजनीतिक प्रणालीमा परिवर्तन भयो । त्यसले देश खुला हुन गयो । त्यो विदेशीलाई भनेर खुला भएको भने थिएन । यसविपरीत तिब्बतलाई चीनले १९५२ मा कब्जा गर्‍यो । तत्कालै तिब्बत विदेशीका लागि बन्द हुन पुग्यो । उत्तरी भाग बन्द हुनु र हिमाली शृंखलाको दक्षिणी भाग नेपाल खुला हुन पुग्दा हिमालप्रति गहिरो चाख राख्ने समूह नेपाल आउन बाध्य भए । यसकारण १९५० को दशकभर नै नेपाल आउने पर्यटकको मुख्य उद्देश्य नै हिमालको एडभेन्चर, एक्सप्लोरेसन र रिसर्चमा थियो ।

त्यसलाई कसरी पनि प्रमाणित गर्न सकिन्छ भने १९५० देखि ६० सम्मको १० वर्षमा नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल सफलतापूर्वक आरोहण भए । यसरी सफलतापूर्वक आरोहण हुनेमध्ये पहिलो अन्नपूर्ण हो । यसको १९५० मा आरोहण सफल भएको हो । जसले पोखरालाई एक्पोज गर्‍यो । अहिलेसम्म पनि कुनै पर्यटक आएमा काठमाडौंबाट पोखरा जाने भनिरहेका हुन्छन् । अन्नपूर्ण चढ्नका लागि पोखरा बेसक्याप थियो । त्यसकारण अहिले पनि कोही मानिस फेवाताल गयो भने त्यसको छेउलाई क्याम्पसाइट भन्ने गरिन्छ । त्यो क्याम्पसाइट पर्यटन विभागले हिमाल चढ्न जानेका लागि बस्न, रात बिताउनका लागि खानेपानीलगायत अत्यावश्यक सामान उपलब्ध हुने गरी तयार गरिदिएको ठाउँ हो । किनकि त्यसवेला होटेल नै थिएनन् । १९५३ मा सगरमाथा, १९५४ मा मकालु, १९५५ कञ्चनजंघा, १९५६ ल्होत्से तथा मनास्लु र अन्तिममा १९६० मा धौलागिरिलगायतको सफल आरोहण भयो । यस १० वर्षमा उल्लेखित अग्ला हिमालको सफल आरोहणको प्रचारप्रसार विकसित राष्ट्र अझ भनौँ उत्तर अमेरिका, तत्कालीन पश्चिम युरोप, जापान र अस्ट्रेलियामा हुन पुग्यो । 

त्यस समयमा ८ हजार मिटरभन्दा माथिका हिमालको सफल आरोहणलाई चन्द्रमामा पुगेजस्तो गरी लिने गरिन्थ्यो । यसले विकसित देशमा नेपाल र नेपालका हिमालको प्रचारप्रसारलाई ह्वात्तै बढाइदियो । नेपाल गन्तव्यस्थलको छवि स्थापित हुन पुग्यो । त्यो छवि भनेको नेपालको सांग्रिला इमेज, हिमालयन इमेज नै हो । त्यस छविको अहिलेसम्म पनि पर्यटन उद्योगले प्रतिफल लिइरहकोे छ । नेपाल भन्नेबित्तिकै प्रविधिको विकास, अन्य विकास निर्माण खोजिँदैन, हिमाल र त्यो सौन्दर्यलाई सम्झिने गरिन्छ । यसकारण पनि उत्तर अमेरिकादेखि अस्टेलियासम्मको बजारलाई परम्परागत बजार भनेर भन्ने गरिएको छ । त्यसवेलाका आरोही, अनुसन्धाताले सिर्जना गरेको बजार हो, जसले तथ्य पत्ता लगाए, किताब, लेख र अन्य प्रचार गरिदिए । 

पर्यटकको आगमन र नीतिगत व्यवस्थाको थालनी 
नेपालको संसारभर चर्चा र प्रचारले पर्यटकको आगमनमा वृद्धि भयो । यसले पर्यटक आएर खर्च गर्ने भएकाले उनीहरूले गरेको खर्च गरेको विदेशी मुद्रा हाम्रो अर्थतन्त्रलाई काम लाग्छ भन्ने विचार आयो ।

फलस्वरूप १९५० उत्तराद्र्धमा सरकारका तर्फबाट टुरिस्ट बोर्ड (त्यसवेला टुरिजम बोर्ड भनिँदैनथ्यो) को स्थापना सन् १९५८ मा हुन पुग्यो । तत्कालीन अधिराजकुमार हिमालयवीरविक्रम शाहको अध्यक्षतामा उक्त बोर्ड गठन भयो । बोर्डले गुरुयोजना निर्माण गर्ने तयारी गर्‍यो, तर योजना बनाउने नेपालको सामथ्र्यको विषय थिएन । यसकारण जर्मनीको सहयोग लिएर गुरुयोजना बनाइयो । बिर्सन नहुने विषय चाहिँ के छ भने जर्मनीभन्दा पहिले सन् १९५८ मै फ्रान्ससँग सहयोग मागिएको थियो । फ्रान्सले त्यहाँको पर्यटन विभागको महानिर्देशकलाई निवृत्ति हुनेबित्तिकै परामर्शदाताका रूपमा नेपाल पठाएको थियो । जसको नाम जर्ज लबरेक । उनले काठमाडौंको रोचक ढंगले संस्मरण गरेका छन् । उनले डिजाइन गरेको काठमाडौंको ३ वटा साइट सिइङ (दृश्यावलोकन) लामो समयसम्म महत्वपूर्ण रहे । जसमा हनुमानढोका, पाटन दरबार स्क्वयर र भक्तपुर दरबार स्क्वायर थिए ।

त्यसबाहेक चाँगुनारायण, बौद्धनाथ र स्वयम्भूनाथलाई समावेश गरेको थियो । दिनभरका लागि दृश्यावलोकन गर्ने हो भने तीनवटै दरबार स्क्वायर र चाँगुनारायण, बौद्धनाथ र स्यम्भूनाथ तथा आधा दिनका लागि कुनै एउटा दरबार स्क्वायर र बाँकी दुईवटा दृश्यावलोकन गर्न सकिने गरी डिजाइन गरिएको थियो । त्यसलाई पहिलो ‘साइट सिइङ टुर अफ काठमाडौं भ्याली’ भनिन्छ । उसकै सुझाबअनुसार नै दीर्घकालीन योजना निर्माण गर्नुपर्ने तयारी थालियो । यो इतिहासमा रेकर्ड नभएको विषय पनि हो । 

त्यसपछि जमर्नीको सहयोगमा पर्यटन गुरुयोजना तयार भयो । तर, त्यसको कार्यान्वयन भने १९७२ सम्म कुर्नुपर्‍यो । यो नै पहिलो पर्यटन गुरुयोजना पनि हो । १९६२ मा पर्यटक बोर्डलाई खारेज गरेर पर्यटन विभाग गठन गरियो । रोचक विषय त उक्त पर्यटन विभाग निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत थियो । किनकि पर्यटन क्षेत्रको विकासका लागि राम्रो ठाउँमा जानुपर्छ र त्यहाँ जानका लागि बाटो चाहिन्छ । त्यो बाटो निर्माण तथा यातायात मन्त्रालयले निर्माण गर्ने भएकाले उक्त मन्त्रालयअन्तर्गत राखिएको थियो । 

त्यसैवेला पहिचान गरिएका ठाउँ हुन्, नगरकोट र ककनी । उक्त ठाउँमा पर्यटकका लागि रिसोर्ट निर्माण गर्न सकिन्छ भनेर पहिचान गरिएको थियो । ठाउँ पहिचान गर्ने काम भयो । नगरकोट जाने जुन बाटो बन्यो त्यो सुरुमा पर्यटन विभागले बनाएको हो । तर, पछि पूर्वाधार मात्र निर्माण गरेर नहुने, प्रचारप्रसार पनि आवश्यक पर्ने महसुस गरियो । ब्रोसर बनाएर वितरण गर्न थालियो । यसकारण पर्यटन विभागलाई तत्कालीन उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत राखियो । 

गुरुयोजनाको सुझाबमा पर्यटन मन्त्रालय स्थापना
सन् १९७२ देखि कार्यान्वयनमा आएको पर्यटन गुरुयोजनाले पर्यटन क्षेत्र भनेको सबै क्षेत्रसँग जोडिने क्रस कटिङ भएकाले सबैसँग समन्वय गर्न विभागस्तरको संयन्त्रले नपुग्ने ठहर गर्‍यो । त्यसकारण पर्यटन मन्त्रालय नै चाहिनेमा जोड दियो । पर्यटन क्षेत्रलाई प्राथमिकता दिने हो भने पर्यटन मन्त्रालयको अनिवार्यतामा अझ बढी पैरवी हुन थाल्यो । अन्ततः सन् १९७७ मा पर्यटन मन्त्रालय गठन भयो । गुरुयोजना भने १९७२ लाई नै निरन्तरता दिइयो । पछि १९८४ मा युरोपेली युनियनको सहयोगमा समीक्षा गर्ने काम भयो । उक्त समीक्षाले पनि अर्को गुरुयोजना आवश्यक नभएकोमा जोड दियो । किनकि गुरुयोजनामै भएका धेरै काम गर्न बाँकी रहेको समीक्षा भयो । त्यसलाई नै निरन्तरता दिँदै गयौँ । अझै पनि त्यसलाई नै सिफारिस गर्ने गरिएको छ । 

मन्त्रालयको स्थापनापछि हवाई यातायातको महत्वलाई मनन गरी निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत रहेको हवाई विभाग पर्यटन मन्त्रालयमा ल्याइयो । त्यस्तै, पर्यटकलाई देखाउने विषय भनेको संस्कृत हो भन्ने भयो । त्यसवेला सम्पदा हेर्ने पुरातत्व विभागअन्तर्गत थियो । त्यसलाई पनि पर्यटक मन्त्रालयअन्तर्गत ल्याइयो । यसरी १९८२ मा पर्यटन मन्त्रालयअन्तर्गत नै उड्डयन तथा संस्कृतिलाई पनि ल्याउने काम भयो । तत्पश्चात् नाम परिवर्तन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बन्यो । तर, पर्यटन र संस्कृति नीति एकआपसमा तादाम्यता राख्छन् त भन्ने प्रश्न पनि उठाउन सकिन्छ । किनकि कतिपय हाम्रा संस्कार व्यावसायिकताका लागि होइनन् । तर, कति देखाउने वा कति नदेखाउने भन्ने स्पष्ट रेखा अझै कोर्न सकिएको छैन । 

सन् ९० को दशक र नेपाल भ्रमण वर्ष
आफ्नै गतिमा पर्यटन क्षेत्रको विकास र विस्तार हुँदै गयो । १९८० को उत्तराद्र्धदेखि खुला बजार अर्थतन्त्रको प्रादुर्भाव पनि पर्यटनमा पर्न थाल्यो । होटेलको विस्तार हुँदै गयो । सरकारको प्रभाव कम हुँदै गयो । यस्तो अवस्थामा निजी क्षेत्र जहाँ नाफा हुन्छ त्यहीँ जाने भयो । सरकार भने देशका कुनाकाप्चामा पर्यटक पुगून् भन्ने चाहन्छ । तर, त्यहाँ पुग्न सहज छैन । यसकारण सरकार र व्यवसायीको चाहनामा फरक आएपछि त्यसलाई कतै न कतै साझेदारी गर्नुपर्ने आवश्यकता महसुस भयो । करिब ४ वर्षको लगातार तयारीपछि ३ वटा महत्वपूर्ण घटना विकास हुन पुगे ।

९० को दशकको सुरुवातमा बहुमतको सरकार पनि बन्यो । त्यही वेला निजीकरणको लहर सुरु भयो । तर, सरकारको संस्था निजी क्षेत्रलाई बेच्ने कामलाई निजीकरण भनियो जुन वास्तवमा निजीकरणको मर्म होइन । त्यो त सम्पत्ति बेचेको हो । यथार्थमा चाहिँ निजीकरण भनेको सरकारले गरिरहेको काम निजी क्षेत्रले गर्न सक्षम भएपछि त्यो कामको जिम्मेवारी सुम्पनु हो । त्यसकारण त्यसवेलाको पर्यटन विभागले नेपालबारे पर्चा छापेर देश–विदेशमा पठाउने काम गरिरहेको थियो, जुन व्यावसायिक थिएन । त्यसको सट्टामा व्यावसायिक मानिस वा संस्थासँग जोड्न सकेको खण्डमा मात्र पर्यटन क्षेत्रको विकासले गति लिने महसुस भयो । यसकारण १९९४ देखि ९८ को तयारीबाट पर्यटन क्षेत्र विकासका लागि निजी क्षेत्रलाई जिम्मेवारी दिनेबारे काम भए ।

यसकारण विभागलाई नेपाल पर्यटन बोर्ड बनाएर पूर्ण रूपमा निजीकरण गरिएको एउटा गतिलो उदाहरण हो । किनकि सरकारी नियन्त्रणमा काम गर्दै आएको विभागलाई खारेज गरेर बोर्ड बनाइयो । जुन आफ्नै खुट्टामा उभिने गरी खडा गरियो । त्यसवेला बोर्डको सञ्चालन सम्भव बनाउन फन्डको जोहोबारे लामो कसरत भयो । अन्तिममा होटेलले तिर्दै आएको बिक्रीकरको सट्टा १० प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने भएपछि साढे २ प्रतिशत पर्यटन शुल्क लाग्ने व्यवस्था गरियो । किनकि त्यसभन्दा पहिला होटेलमा बिक्रीकर भनेर १५ प्रतिशतसम्म लिने गरिएको थियो । त्यस्तै, कर कार्यालयमा होटेलहरूले शुल्क बुझाउने र जम्मा भएको शुल्कको ३ प्रतिशत सरकारलाई कमिसन दिने सम्भवतः पहिलो निकाय पनि पर्यटन बोर्ड हुनपुग्यो । त्यस्तै, बोर्डमा ६ जना निजी क्षेत्रबाट र ५ जना सरकारका प्रतिनिधि रहने व्यवस्था गरियो । यसकारण बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरकारले नभई निजी क्षेत्रको पहलमा नियुक्त गर्छ । बोर्डको यो मोडेल कपी गरेर सिंगापुर, श्रीलंका, बंगलादेशलगायतले अवलम्बन गरे । त्यसैले यो सफल मोडेलका रूपमा पनि स्थापित हुन पुग्यो । त्यस्तै, प्रमुख कार्यकारी नियुक्त गर्ने काम पनि खुला प्रतिस्पर्धाबाट नभई आवश्यकता, क्षमताका आधारमा ‘हेड हन्टिङ’मार्फत गर्ने मर्म हो । तर, पछि सिइओ नियुक्तिमा विवाद भइरहने गर्‍यो । 

२०११ को पर्यटन वर्षले छोडेर गएको अर्को महत्वपूर्ण विषय भनेको होमस्टे हो । यसको विकास र विस्तार भइरहेको छ । यसले ग्रामीण पर्यटनलाई पनि टेवा पुर्‍याएको छ । यसले ग्रामीण अर्थतन्त्रमा पनि सहयोग पुगेको छ । अहिले २०२० लाई पनि  पर्यटन वर्ष घोषणा गरिएको छ । यसले पनि केही न केही महत्वपूर्ण सिकाइ छोडेर जानेछ ।

१९९८ को नेपाल भ्रमण वर्ष 
०४७ पछिको राजनीतिक परिवर्तनपछि आएको सरकारले नयाँ के गर्ने भन्ने विषय टट्कारो भएर आयो । आर्थिक विकासका लागि पर्यटन पनि एउटा क्षेत्र हो भन्ने भयो । क्षेत्रीय विकास र विदेशी मुद्रा आर्जन गर्न सकिने विषय उठ्यो । पूर्वाधारको विकास गर्न सकिने विषय आयो । १९९२ देखि नै केही न केही गर्नैपर्छ भन्नेमा तयारी थालियो । सरकारले पर्यटन माग सिर्जना गर्नका लागि काम गर्नुपर्नेमा जोड दिइयो । त्यसवेला वार्षिक करिब ३ लाख मानिस नेपाल भ्रमणमा आउँथे । तर, १० लाख मानिस ल्याउने लक्ष्य निर्धारण गरियो । सन् १९९५ मा आइपुग्दा क्याम्पेन चलाउने विषय उठ्यो । पर्यटन व्यवसायी कर्ण शाक्यले ‘भिजिट नेपाल’ भनेर क्याम्पेनको नेतृत्व गरे । १९९६ मा सरकारबाट भिजिट नेपाल भ्रमण वर्ष घोषणा भयो । त्यसवेला १० लाख पर्यटन ल्याउने भन्दा कसैले पनि पत्याएनन् । त्यसपछि ५ लाख पर्यटक भित्र्याउने भनेर लक्ष्यमा संशोधन गरियो । तर, ‘वान मिलियनलाई हाफ मिलियन’ भनियो । र अन्तिममा ४ लाख ९० हजारभन्दा बढी पर्यटक भित्र्याउन सफल भयौँ । त्यसवेला भ्रमण वर्ष घोषणा गर्नुमा विश्वका महत्वपूर्ण मिडियामा नेपालबारे आएका नकारात्मक विषयलाई चिर्नु पनि थियो । त्यसवेला वायु प्रदूषण छ भन्ने हल्ला चलेको थियो । यथार्थमा त्यस्तो थिएन । 

यो भ्रमण वर्षले गाउँगाउँमा पर्यटनको माग बढायो । किनकि मेला–महोत्सव मनाउन सुरु भयो । यसले देशव्यापी रूप लियो । अहिले पनि यो क्रम जारी छ । यसकारण पहिले मेला–महोत्सव भनेको इन्द्रजात्रा, गाईजात्रा थियो भने अहिले देशका विभिन्न ठाउँमा मेला–महोत्सव आयोजना हुने गरेका छ । यो भ्रमण वर्षले छाडेर गएको चिनो हो ।

पर्यटन क्षेत्रको अधोगति र पुनर्जीवन
१९९८ मा उचाइ लिएको पर्यटन क्षेत्रले निरन्तरता दिन सकेन । नेपालमा द्वन्द्वले गाँज्दै लग्यो । २००६ सम्म साथै उल्लेखनीय हुन सकेन । २००७ मा शान्तिसम्झौता र राजनीतिक परिवर्तन भयो । नेपालमा ५ लाखको हाराहारीमा पर्यटक आउँदा ५ लाखले नै रोजगारी पाइरहेको र यसलाई वृद्धि गर्दा रोजगारीमा पनि वृद्धि हुने योजना तत्कालीन सरकारलाई बुझाइयो । त्यस्तै, २–३ वर्षमा नै दोब्बर गर्न सकिने योजना प्रस्तुत गरियो । १० लाख पर्यटक पुर्‍याउँदा ५ लाख रोजगारी बढ्ने भएपछि सरकारले पनि सकारात्मक रूपमा लियो । लगत्तै २०११ लाई नेपाल पर्यटन वर्ष भनेर घोषणा गर्ने काम भयो । त्यो लक्ष्यलाई पछ्याएर झन्डै ८ लाख पर्यटक भित्र्याउन सफल भइयो । 

भूकम्प, नाकाबन्दी र फेरि उदाउँदो पर्यटन क्षेत्र
भूकम्पले पर्यटन क्षेत्रलाई पनि असर पुर्‍यायो । त्यस्तै, नाकाबन्दी लाग्यो, यसले अझ खुम्च्याउने काम ग¥यो । तर, पछिल्ला २ वर्षमा फेरि पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ । २०१८ को अन्तिमसम्ममा १२ लाख पर्यटक आगमन हुने सम्भावना छ । अब होटेलको क्षमतामा वृद्धि भएको छ । हवाईजहाजको पहुँच वृद्धि भइरहेको छ । यसकारण वृद्धि हुनुको विकल्प छैन । तर, अझै पनि नेपालका ६ वटा ठाउँमा मात्र पर्यटन क्षेत्र सीमित रहेको छ । काठमाडौं, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथा रहेकोमा अहिले लुम्बिनी थपिएको छ । त्यसभन्दा अन्य ठाउँमा पर्यटन गतिविधि नै छैन । ९५ प्रतिशत पर्यटकीय क्रियाकलाप यी ६ ठाउँमा सीमित छन् ।

यसलाई आउँदा दिनमा वृद्धि गर्न अत्यन्तै जरुरी छ । अब तराई, पहाड र हिमाली क्षेत्रका लागि छुट्टाछुट्टै पर्यटक रणनीति कार्यान्वयनमा ल्याउने काम भइरहेको छ । नयाँ पर्यटन रणनीति २०७२ ले नेपालको क्षेत्रअनुसार सम्बोधन हुने किसिमले योजना बनाएको छ । यसले नेपाल जस्तो छ, त्यस्तै खालको पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्य छ । २०११ को पर्यटन वर्षले छोडेर गएको अर्को महत्वपूर्ण विषय भनेको होमस्टे हो । यसको विकास र विस्तार भइरहेको छ । यसले ग्रामीण पर्यटनलाई पनि टेवा पुर्‍याएको छ । यसले ग्रामीण अर्थतन्त्रमा पनि सहयोग पुगेको छ । अहिले २०२० लाई पनि घोषणा गरिएको छ । यसले पनि केही न केही महत्वपूर्ण सिकाइ छोडेर जानेछ । पर्यटन क्षेत्रलाई क्रियाशील बनाइराख्न आवश्यक छ ।
पर्यटनविज्ञ श्रेष्ठ नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।