मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ असार १४ शनिबार ०९:३७:००
Read Time : > 2 मिनेट
विश्व

जी–२० सम्मेलनमा मोदीदेखि ट्रम्पसम्म : विश्व अर्थतन्त्र प्रवर्द्धन प्रमुख एजेन्डा 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७६ असार १४ शनिबार ०९:३७:००

औद्योगिक राष्ट्रको समूह जी–२० को शिखर सम्मेलन  शुक्रबारबाट जापानको ओसाका सहरमा सुरु भएको छ । सम्मेलनमा युरोपेली युनियन तथा १९ सदस्य राष्ट्रका कार्यकारी प्रमुखसहितका सरोकारवालाहरू सहभागी छन् । 

शुक्रबार बिहान जापानका प्रधानमन्त्री सिन्जो अवेले सम्मेलन उद्घाटन गरेका हुन् । असमानतालाई कम गर्दै विश्वव्यापी अर्थतन्त्र प्रवद्र्धन गर्ने, गुणस्तरीय पूर्वाधार तथा स्वास्थ्य, जलवायु परिवर्तन र समुन्द्रमा बढ्दो प्लास्टिक प्रदूषणजस्ता विश्वव्यापी समस्या, डिजिटल अर्थतन्त्र, महिला सशक्तीकरणलगायत विषयलाई सम्मेलनले प्राथमिकतामा राखेको छ । सम्मेलनमा भेला भएका नेताहरूबीच अमेरिका–चीन व्यापार युद्ध तथा अमेरिका–इरान द्वन्द्वका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

को–को सहभागी छन् ?
सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोन, जापानका प्रधानमन्त्री सिन्जो अवे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री थिरेसा मे, जर्मन चान्सलर एन्जेला मर्केल, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेससहितका विशिष्ट नेताहरू सहभागी छन् । विश्वको ८५ प्रतिशत जिडिपी तथा दुईतिहाइ जनसंख्या जी–२० ले ओगट्छ । अमेरिका,चीन, जापान, रुस, दक्षिण कोरिया, फ्रान्स, इटली, जर्मनी, बेलायत, टर्की, साउदी अरेबिया, इन्डोनेसिया, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, भारत, दक्षिण अफ्रिका, क्यानेडा, अस्ट्रेलिया र युरोपेली युनियन जी–२० सदस्य हुन् । प्रत्येक वर्ष आयोजना हुने सम्मेनलमा जी–२० सदस्यबाहेक अन्य देशका कार्यकारी प्रमुखहरू पनि उपस्थित हुने गरेका छन् । यसपटकको सम्मेलनमा आगन्तुकका रूपमा स्पेन, चिली, इजिप्ट, नेदरल्यान्डस्, सेनेगल, सिंगापुर, थाइल्यान्ड र भियतनामका कार्यकारी प्रमुखले सहभागिता जनाएका छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय संघ–संस्थाका कार्यकारी प्रमुख पनि सहभागी छन् । सम्मेलनलाई विश्वको ठूलो जनसंख्याले चासोका साथ हेर्ने गरेको छ ।
 
पुटिन–ट्रम्प भेट : ट्रम्पलाई मस्को भ्रमणको निमन्त्रणा 


अमेरिकी निर्वाचनमा भएको रुसी हस्तक्षेपलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हल्का रूपमा लिएका छन् । शुक्रबार जी–२० सम्मेलनका दौरान भएको भेटमा पुटिनसँग ठट्टा गर्दै ट्रम्पले भने, ‘कृपया निर्वाचनमा हस्तक्षेप नगर्नुहोला ।’ सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे रोबर्ट मुलरले तयार गरेको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि दुई नेताबीच पहिलोपटक छलफल भएको हो ।

अमेरिकी गुप्तचर एजेन्सीहरूले रुसले पर्दापछाडि बसेर निर्वाचनलाई प्रभावित गरेको, रुसी सरकारको स्वीकृतिमा साइबर आक्रमण र सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने योजना बनेको निष्कर्ष निकालेका थिए । यद्यपि, विशेष परामर्शदाता मुलरको प्रतिवेदनले ट्रम्पको अभियानमा रुसी हस्तक्षेप भएको प्रमाण फेला पार्न सकेन । ट्रम्पले निर्वाचनमा रुसी हस्तक्षेपको विषय अस्वीकार गर्दै आएका छन् । 

सम्मेलनका दौरान दुई नेताबीच गम्भीर छलफल भएको रुसी सरकारका प्रवक्ता डिमिट्री पेस्कोभले जनाएका छन् । दुईपक्षीय सम्बन्ध र आर्थिक विषयमा गम्भीर छलफल भएको छ,’  पेस्कोभले भने । भेटका क्रममा आगामी मेमा रुस भ्रमण गर्नका लागि पुटिनले ट्रम्पलाई निमन्त्रणा गरेको पेस्कोभले बताए ।  

‘पुटिनले दोस्रो विश्वयुद्ध अन्त्यको ७५औँ वर्षगाँठमा आयोजना हुने विजय समारोहमा सहभागी हुन निमन्त्रणा गरेका छन्,’ पेस्कोभले भने, ‘ट्रम्पले यसलाई सकारात्मक रूपमा लिएका छन् र आधिकारिक निमन्त्रणाको प्रतिक्षामा रहेको बताएका छन् । निकट भविष्यमा उनलाई आधिकारिक निमन्त्रणा पठाइनेछ ।’

सी र ट्रम्पबीच आज भेटवार्ता 
सम्मेलनका दौरान शनिबार चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेट हुँदैछ । ‘हामी हेर्नेछौँ के हुनेछ र त्यसबाट कस्तो नतिजा आउनेछ,’ भेटअघि ट्रम्पले भनेका छन्, ‘यो निकै उत्साहप्रद दिन हो । म ढुक्क छु ।’

दुई शीर्ष नेताबीचको भेटअघि शुक्रबार अमेरिका र चीनका व्यापार प्रतिनिधिले ओसाकामा छलफल गरेका छन् । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहिजर र अमेरिकी वित्तीयमन्त्री स्टेफेन म्युनुचिनले चिनियाँ सहायक प्रिमियर लिउ हीसँग भेट गरेका हुन् । अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा करवृद्धि गरेपछि जवाफस्वरूप चीनले पनि अमेरिकी सामग्रीमा करवृद्धि गरेको छ । दुई देशबीचको अघोषित व्यापार युद्धले अन्तर्राष्ट्रिय कम्पनी तथा अन्य देशहरू पनि प्रभावित भएका छन् । त्यसैले, जी–२० सम्मेलनका दौरान अन्य देशका राष्ट्रप्रमुखले पनि यस समस्यामा छलफल गर्दैछन् । ट्रम्पले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री सिन्जो अवेलगायतका विशिष्ट अतिथिहरूसँग भेट गरेका छन् ।