मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बच्चु विक काठमाडाैं
२०७६ असार १४ शनिबार ०८:२३:००
Read Time : > 4 मिनेट
फिचर

पुतलीका ‘भैया’

‘पुलतीविनाको संसार कल्पनै गर्न सकिन्न’

Read Time : > 4 मिनेट
बच्चु विक काठमाडाैं
२०७६ असार १४ शनिबार ०८:२३:००

एउटा भनाइ छ, ‘स्वर्गबाट परीहरूले पठाएका चुम्बन हुन्, पुतली !’ चार दशकदेखि पुतलीको संगतमा रहेका ‘पुतलीका भैया’ भने त्यसभन्दा अगाडि बढ्छन् । उनी पुतली भएको ठाउँलाई स्वर्गसँग तुलना गर्छन् । र, पुतलीसँग सामीप्यताको अनुभवले भन्छन्, ‘जुन ठाउँमा पुतली नाच्छन्, त्यहीँ स्वर्ग हुन्छ ।’

पुतलीका भैया अर्थात् प्रा.डा. भैया खनालले यस्ता थुप्रै स्वर्ग चाहारेका छन्, जहाँ पुतलीको नृत्यले संसारै रंगीन लाग्छ । अझ पुतलीका जोडीले प्रेम साटासाट गरेको पलका साक्षी बनेका छन्, उनी । ‘पुतली साँच्चीकै सुन्दर हुन्छन् । पुतली नाचेको देख्दा संसार बिर्सिइन्छ । स्वर्ग भनिन्छ नि, यहीँ हो जस्तो लाग्छ,’ पुतलीविज्ञ प्रा.डा. खनाल पुतलीबारे वर्णन गर्दा पनि रोमाञ्चित हुन्छन् । 

प्रा.डा. भैया खनाल, पुतलीविज्ञ

नहुन पनि किन ? उनले पुतलीलाई पच्छ्याउन थालेको ठ्याक्कै ४० वर्ष भयो । यस अवधिमा उनले देशका ७१ जिल्ला चाहारेका छन् । जहाँ ६ सय ६० पुतलीलाई नजिकबाट नियालेका छन् । उनीहरूका क्रियाकलाप दिल र दिमागमा कैद गरेका छन् । सबैभन्दा होचो झापाको केचनादेखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको हिमाली भेगमा पुगेर पुतलीको संसार बुझेका छन्, प्रा.डा. खनालले । 

खनालले ‘पुतली बाजे’का नामले चर्चित बेलायती पुतलीविज्ञ कलिन पी स्मिथसँगको सहकार्यमा ‘बटरफ्लाइज अफ काठमाडौं भ्याली’ पुस्तक लेखेका छन् । खनालका पुतलीसम्बन्धी ५० भन्दा बढी ‘रिसर्च पेपर’ प्रकाशित छन् : अन्तर्राष्ट्रिय जर्नलमा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्यागेजिन र पत्रपत्रिकामा एक सय ५० भन्दा बढी लेख पुतलीकै सेरोफेरोमा लेखेका छन् । पुतलीको पिछा गर्न अझै छोडेका छैनन्, अर्थात् उनी थोकेका छैनन् ।

पुतलीसँग यात्रा
विराटनगरको आदर्श विद्यालयबाट ०२३ मा एसएलसी गरेपछि पढाइमा अब्बल उनलाई पनि विज्ञानले आकर्षित ग¥यो । काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेपछि त्रिचन्द्र कलेजतिर लागे, बिएस्सी पढ्न । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा एमएससी पढ्दै गर्दा पुतलीसँग ठोकिन पुगे । उनले एमएससीको ‘थेसिस’मा पुतलीलाई नै विषयवस्तु बनाए । त्यसपछि त उनको पुतली प्रेम बढ्दै गयो । ‘पुतलीसँगै रमाउन थाले, त्यसमै आनन्द लाग्न थाल्यो,’ विश्वविद्यालय पढाइका दिन सम्झिँदा उनको अनुहारको चाउरी पनि पुतलीझैँ चहकिलो बन्यो ।

पुतलीसम्बन्धी उनको अध्ययन, अनुसन्धानको यात्रा पनि पुतलीझैँ उड्न थाल्यो । देश, विदेशका पुतलीसम्बन्धी अध्ययन–अनुसन्धान हुने इन्स्टिच्युट, म्युजिमय र विश्वविद्यालय चाहारे । अमेरिकाको टेक्सास र फ्लोरिडा विश्वविद्यालयको अध्ययनले उनको ज्ञानको क्षितिज फराकिलो बनायो । भारतको मिजोरम विश्वविद्यालयबाट पुतलीकै विषयमा  विद्यावारिधि गरे ।

यो बीचमा त्रिभुवन विश्वविद्यालय र प्राकृतिक विज्ञान संग्रहालयसँगको उनको आबद्धता त यथावत् थियो नै । त्यहाँ पुतलीसँगै स्तनधारी जनावरबारे अध्ययन, अनुसन्धानलाई पनि निरन्तरता दिइरहे उनले । ‘नेचुरल साइन्स म्युजिमयलाई अध्ययन, अनुसन्धानको थलो र व्यवस्थित बनाउन पनि विदेशको अनुभवले काम ग-यो,’ उनी आफूले गरेको कामबारे थोरै बोले । त्यसैले त प्राकृतिक विज्ञान संग्रहालयमा पुतली र कीटपतंगका १४ हजार आठ सय ४३, माहुरीका चार हजार एक सय ४२, माछाका आठ सय ९०, चराका एक हजार एक सय ९४ प्रजाति संग्रहित छन् ।

केशरी हिन्द पुतली

पुतलीको यात्राले उनलाई प्रभावित गरेको अर्को तथ्य हो, जलवायु परिवर्तन । उनी पुतली अध्ययनकै सिलसिलामा लाङटाङ राष्ट्रिय निकुञ्ज पुगेका थिए । जहाँ उनले एपोलो बटरफ्लाइको अध्ययन गरे । सन् २००९ मा पहिलोपटक जाँदा जुन ठाउँमा एपोलो बटरफ्लाई देखेका थिए, एक दशकपछि त्यही ठाउँमा पुग्दा चकित परे । ‘एक दशकमा ६० मिटर माथि सरेछ, यो त जलवायु परिवर्तनले नै हो,’ उनको निष्कर्ष छ । जलवायु परिवर्तनको सूचकमा पुतली पनि एक भएको उनी बताउँछन् । 

पहाडमा सुन्दर पुतली
प्रा.डा. खनालले पुतलीको अध्ययनका लागि चार दशक देश दौडाह  गरे । ७१ जिल्ला पुग्दा तराईदेखि हिमालसम्म थरीथरीका पुतली देखे । नेपालमा रहेका ६ सय ६० पुतलीमध्ये सुन्दर पुतली मध्यपहाडमा हुने गरेको उनी सुनाउँछन् । ‘मध्यपहाडी भेगमा एकदम सुन्दर पुतली हुन्छन् । तिनलाई देख्दा जो–कसैको मन फुरुंग हुन्छ । मनै प्रफुल्लित हुन्छ,’ प्रा.डा. खनाल भन्छन् । 

प्रा.डा. खनालले ४० वर्षमा देशका ७१ जिल्ला चहारेका छन् । त्यहाँ ६ सय ६० पुतलीलाई नजिकबाट नियालेका छन् । उनीहरूका क्रियाकलाप दिल र दिमागमा कैद गरेका छन् । सबैभन्दा होचो झापाको केचनादेखि पाँच हजार चार सय मिटर उचाइमा रहेको हिमाली भेटमा पुगेर पुतलीको संसार बुझेका छन् ।

पहाडी क्षेत्रकै हाराहारीमा सुन्दर पुतली भेटिन्छन्, तराईमा । तिनको तुलनमा हिमालमा कम सुन्दर पुतली हुन्छन् । ‘पुतली नराम्रो भन्ने हुँदैन, सबै पुतली सुन्दर नै हुन्छन्,’ उनी सुन्दरताको तुलना गर्दै भन्छन्, ‘केशरी हिन्द असाध्यै सुन्दर हुन्छ ।’ किरण पिकक, हेयर स्ट्रिफ पनि उनलाई सबैभन्दा सुन्दर लाग्ने पुतलीमा पर्छन् । कालो रंगमा हुने एपोलो पुतली पनि उनलाई मन पर्ने अर्को प्रजाति हो । यी पुतलीले मनै लोभ्याउने उनी बताउँछन् । ‘पुतलीको समूहमा केही क्षण बस्दा पनि संसार बिर्सिइन्छ । त्यस्ता सुन्दर पुतली देख्न त भाग्यमा लेखेरै ल्याउनुपर्छ,’ यति बोल्दा प्रा.डा. खनालको अनुहार ध्यानमग्न ऋषिजस्तै देखियो । 

पुतलीको चुम्बन
प्रायः भन्ने गरिन्छ, पुतलीले टोक्ला ! उनी भन्छन्, ‘पुतलीले टोक्दैन । विचरा उसले के टोक्ला । उसले त चुम्छ ।’ उनको हातमा पनि कैयौँपटक पुतलीले चुमेका छन् । उनको टाउकोमा खेलेका छन्, नाचेका छन् । पुतलीसँग खेल्नुको आनन्द वर्णन गर्न मुस्किल हुन्छ, उनलाई पनि । 

मोनार्क पुतली

हुन त पुतलीको संसार त्यति लामो हुँदैन । प्रा.डा. खनाल भालेभन्दा पोथी अलि ठूलो हुने बताउँछन् । जब मार्च सुरु हुन्छ, त्यतिवेला तराईका पुतली ‘मिटिङ’मा रमाउन थाल्छन् । पहाडका पुतलीलाई एक महिनापछि रोमान्सले छोप्ने उनी सुनाउँछन् । ‘हिमालतिर भने हिउँ पग्लिनुपर्छ, त्यो अप्रिल महिनामा हुन्छ,’ उनको स्वर सानो सुनिन्छ । 

पोथी पुतली एकदम चलाख हुने उनी सुनाउँछन् । जसले सबै रूखमा फूल पार्दैन । ‘यो त विचित्रकै हुन्छ । एउटै रूखमा मात्रै फूल पार्छ, जुन रूखका पात पुतलीका बच्चाले खान्छन्,’ प्रा.डा. खनाल गुह्य कुरा सुनाएझैं बोल्छन् । पुतली जतासुकै चाहारे पनि फूल पारेको पात भने बिर्सिँदैन । पुतलीको आयु पनि धेरै लामो हुँदैन । तीनदेखि चार साता मात्रै । कुनै कुनै ठाउँमा चारदेखि पाँच साता पनि बाँच्ने गरेको उनी बताउँछन् । नेपालमा भने तीनदेखि पाँच साता बाँचेको पाइन्छ । उसो त पुतली

जस्तोसुकै वातावरणमा पनि बाँच्छ । पानी जमेको ठाउँ वा हिउँ । हिउँले छोपिए पनि जीवितै रहन सक्छ, पुतली । ‘पुतलीभित्र एन्टी फ्रिजर हुन्छ, त्यसले हिउँ वा चिसोमा जम्न दिँदैन,’ प्रा.डा. खनाल भन्छन् । 

पुतलीको संसार बयान गर्दै गर्दा उनी सतर्क पनि गराउँछन् । त्यो के भने सकभर पुतलीलाई समात्नुहुँदैन । किन ? पुतलीका भैया भन्छन्, ‘आत्मसुरक्षाका लागि पुतलीले पुच्छरको भागबाट लिक्विड निकाल्छ । जुन घातक हुन्छ । यो आँखामा पर्‍यो भने ज्योति नै गुम्न सक्छ ।’ कहिलकाहीँ सेतो पुतलीले आँखाको रोग लाग्यो भन्ने सुनिन्छ । त्यो त्यही लिक्विड आँखामा परेकाले हो । 

अवकाशपछिको यात्रा
प्रा.डा. खनालले चार दशकपछि त्रिभुवन विश्वविद्यालयको अध्यापनबाट अवकाश लिए, दुई वर्षअघि । अवकाशसँगै घरपरिवार र आफन्तजनलाई लागेको थियो, उनी अब आराम गरेर बस्लान् । पुतलीसँगको दौडधुप बन्द गर्लान् । ‘थपक्क बस्न त मनले मानेन । साथीभाइसँग मिलेर दुई–तीन ठाउँमा पुतलीको अध्ययन गरिरहेको छु,’ उनले सुनाए । 

कृष्ण पिकक पुतली

अवकाशपछि रोजेका तीन ठाउँ हुन् : ललितपुरको फूलचोकी, मकवानपुर र नुवाकोट क्षेत्र । यहाँ विशेष प्ररकारका पुतली पाइने गरेको उनी बताउँछन् । यहाँ पाइने किरण पिकक, केशर ए हिन्द र हकिस्टिक्सन प्रजातिका पुतली विशेष प्ररकारका छन् । जुन लोप हुने अवस्थामा रहेको जनाउँदै साटिसको अनुसूची दुईमा सूचीकृत छन् । यी वर्षमा एक महिना जति मात्रै देखिन्छन्, मे र जुन बीचमा । 

‘यिनलाई जोगाउनुपर्छ, त्यसैले अध्ययन गरिरहेका छौँ,’ उनी भन्छन् । उसो त केही पुतली नेपालबाटै लोप हुने अवस्थामा पुगेका छन् । नेपालमा रहेका ६ हजार ६० प्रजातिमध्ये एक सय ४२ रेड लिस्टमा छन् । उनीहरूको समूहले थप चार प्रजातिका पुतली फेला पारेको छ । ती सूचीकृत हुन बाँकी छन् । देशका सबै पुतलीलाई देखेका प्रा.डा. खनाल नेपालमा मात्रै १७ प्रजातिका पुतली रहेको बताउँछन् । संसारभर २० हजार प्रजातिका पुतली पाइन्छन् । नेपालमा पाइने पुतलीमध्ये पाँच सय प्रजातिका त प्राकृतिक विज्ञान संग्रहालयमा संग्रहित छन् । 

उनलाई लाग्छ, अब पुतली संरक्षणका लागि जनचेतना जगाउनुपर्छ । किनकि, पुतलीविना संसार चल्न मुस्किल छ । ‘पुतलीले पराग सेचनमा सहयोग गर्छ । पुतली भएन भने फलफूल उत्पादनमा असर पर्छ,’ उनी थप्छन् । त्यसका लागि पुतली संरक्षणसम्बन्धी नीति नै बनाउनुपर्ने उनको सुझाब छ । पुतली संरक्षणको आवश्यकताबारे बल दिँदै पुतलीका भैया प्रश्न गर्छन्, ‘अहिल्यै पुतली देखिन छोडेका छन्, संरक्षणमा ध्यान दिएनाैं भने अर्को पुस्ताले पुतली देख्न पाउनेछैन । पुतलीविनाको संसार कस्तो होला ?’