मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ असार १२ बिहीबार ०८:४०:००
Read Time : > 1 मिनेट
सप्तरंग

गलबन्दी विवादमा सम्झौता : प्रकाश सपुत भन्छन् ‘तत्कालको समाधान मात्र’

शम्भु राई भन्छन् ‘अब विवाद छैन ’

Read Time : > 1 मिनेट
नवीन प्यासी काठमाडाैं
२०७६ असार १२ बिहीबार ०८:४०:००

युवा गायक प्रकाश सपुतले गाएको ‘गलबन्दी’ अहिले पनि चर्चामा छ । मंगलबार साँझसम्ममा युट्युबमा यो गीत एक करोड ६५ लाख १२ हजार २०५ पटक हेरिएको छ । पुराना लोकगायक शम्भु राईले सो गीतको भाका आफूले ०४८ सालमा रेकर्ड गरेको ‘आऊ नाचौँ साथी हो’ गीतसँग मिलेको दाबी गरे । त्यही विवाद बढ्दै जाँदा समर्थकबीच फेसबुकमै घोचपेच चल्यो । शम्भु राईले आफ्नो गीत नक्कल भएको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दिए । तर, दुई पक्षबीच मंगलबार सम्झौता भएपछि विवाद साम्य भएको छ । विवाद र सम्झौताबारे नयाँ पत्रिकाका नवीन प्यासीले दुवै सर्जकसँग कुराकानी गरेका छन् ।

‘अब विवाद छैन :शम्भु राई 

त्यो सिर्जना मेरो भयो । पुनः संगीत प्रकाश सपुतको भयो । यत्रो विवाद त भयो, तर मेरो आर्थिक हिसाबमा कुनै दाबी थिएन । सिर्जना गर्ने पुरानो पुस्ताको अस्तित्वलाई मान्नुपर्छ भन्ने दाबी मात्र थियो । 

यो सम्झौता अन्तिम हो । हामीले लेखेर हस्ताक्षर गरेका छौँ । अब विवाद हुँदैन । गीतको भिडियोमा मेरो नाम हुन्छ । तर, युट्युब प्राविधिक कुरा भएकाले स्क्रिनमा लेख्न त सम्भव हुँदैन । प्राविधिक हिसाबमा सम्भव हुनेजति गरेर नाम राख्ने कुरा भएको छ ।

सम्झौताअनुसार संगीत शम्भु राई र पुनः संगीत प्रकाश सपुत हुन्छ । हुन त यो विवादको विषय हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेछैन । प्राविधिक कुरा थियो, मिलिसक्यो । पहिला पनि हाम्रो छुट्टै हार्दिकताका साथ छलफल भइरहेको थियो । तर, कहिले प्रकाश भाइ व्यस्त हुने, कहिले मेरो काम पर्ने भएकाले भेट हुन सकेको थिएन । हामी दुवै सकारात्मक नै थियौँ । अलिकति ढिला भएको हो । 

तत्कालको समाधान मात्र : प्रकाश सपुत

अहिले हामीले तत्कालीन समस्या समाधानका लागि काम गरेका हौँ । अन्य कुरा छँदै छ । सिर्जना चोरीको कुरा आयो, त्यो बहसको अर्कै पाटो छ । यदि मैले चोरी नै गरेको भए कारबाही हुनुपथ्र्यो । तर, हाम्रो कानुनमा त्यो नभएकाले सम्झौता गरेका हौँ । 

शम्भु राई अग्रज भएकाले उहाँलाई सम्मान गरेको हुँ । उहाँप्रति मेरो सदैव सम्मान छ । तर, जुन हिसाबले समुदायको रूपमा विभाजन भयो, एकले अर्कोलाई गालीगलौजमा पुग्ने अवस्था आयो, त्यो गम्भीर थियो । त्यसैले हामीले तत्काललाई सम्झौता गरेका हौँ । सामुदायिक विभाजन गीत–संगीतका कारण मात्र नभई अन्य कारणले पनि आउँथ्यो ।

गीतका कारण आएकाले यसलाई किनारा लगाउनुपर्छ भन्ने ठानेर लागेका हौँ ।  तर, यो तत्कालको समस्या समाधान मात्र हो । विवाद त लोकदोहोरीको कुरामा हो । त्यसैले लोकदोहोरीको विषयमा भने बहस हुन आवश्यक छ । हामी सबै स्पष्ट हुन आवश्यक छ ।