मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ११ बुधबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार

मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै कार्टुन प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ११ बुधबार २०:०६:००

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दे कार्टुन प्रदर्शनी गरेको छ । राजधानी काठमाडाैंको बसन्तपुर डबलीमा महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिललगायत विधेयकको विरोधमा कार्टुन प्रदर्शनीको आयोजना गरेको हो । 

सरकारले दर्ता गराएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको हनन हुने भन्दै महासंघले विरोध गर्दै आएको छ । बिहीबार बसन्तपुर डबलीमा आयोजना गरिएको कार्टुन प्रदर्शनीमा सर्पले कलम टोक्न लागेको, मिडिया काउन्सिल विधेयक लेखिएको सिंहमाथि मान्छेको आकृति जस्तो बसेर ‘डराउनु पर्दैन घाँसपात खुवाउन ल्याएको हो’ भन्दै पत्रकारलाई लखेटेको, राष्ट्रको प्रथम अंगले चौथोँ अंग प्रेसलाई कुल्चिएको, त्यसरी प्रेसलाई कुल्चिँदा दोश्रोँ अंगले मुख थुनेको र तेश्रोँ अंगले आँखा छोपेका काटुर्नहरु राखिएको थियो । त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता बन्दुकको निशानामा परेको, सार्वजनिक संस्थाका सुचनाहरुमा लगाइएको नियन्त्रणलगायत विषयमा दर्जन बढी कार्टुनहरु राखिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दे महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन फिर्ता नहुन्जेल महासंघको आन्दोलन जारी रहने चेतावनी दिए । उनले गम्भीर परिस्थितिमा मात्रै पत्रकार र स्रष्टाहरु सडकमा आउने गरेको स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रता हरणविरुद्ध आन्दोलनमा उत्रन नागरिक समाज र कलम जिवीहरुलाई आग्रह गरे । कार्यक्रममा स्रष्टाहरुले सरकारको कार्यशैलीविरुद्ध व्यंग्यात्मक कविता सुनाएका थिए ।