मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जाने डेलरी काठमाडाैं
२०७६ असार ११ बुधबार ०८:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

किमलाई फकाउँदै सी जिनपिङ

Read Time : > 2 मिनेट
जाने डेलरी काठमाडाैं
२०७६ असार ११ बुधबार ०८:०४:००

चीनका राष्ट्रपति सी जिनपिङले जुन २१ मा उत्तर कोरिया भ्रमण गरे । भ्रमणमा उत्तर कोरियाको आणविक हतियारबारे छलफल हुने र त्यसलाई सीले यही हप्ता जी२० (विश्वका ठूला २० अर्थतन्त्र भएका मुलुकहरूको समूह)को बैठकको अवसर पारेर हुने अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा बार्गेनिङका लागि प्रयोग गर्ने एकथरीले अनुमान गरेका छन् । तर, यसरी व्याख्या गर्दा चीन–उत्तर कोरिया सम्बन्धको महत्वपूर्ण  पक्ष ओझेलमा परेको छ । चीन–उत्तर कोरिया सम्बन्धको लामो र जटिल इतिहास छ । त्यही इतिहासलाई निरन्तरता दिन सी जिनपिङ प्योङयाङ भ्रमण गरेर त्यहाँ आफ्नो पकड सुनिश्चित गर्न चाहन्छन् । चीनको नजरमा उत्तर कोरिया ‘अप्ठ्यारो र हठी’ सहयोगी हो । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र सुरक्षा सम्झौता भएको मित्रराष्ट्र हो । तर, यसका बाबजुद इतिहासमा यी दुई देशबीच सम्बन्धको विशेषतामा तनाव र अविश्वास देखिन्छ । 

किम जोङ उनले आणविक हतियार परीक्षण पुनः सुरु गरेपछि दुई देशको सम्बन्ध तनावपूर्ण बन्न पुग्यो । चीनले उत्तर कोरियामाथि लागेको कठोर अन्तर्राष्ट्रिय प्रतिबन्ध कार्यान्वयन गरेर उसको उक्त महत्वपूर्ण छिमेकीलाई आफू खुसी नरहेको सन्देश प्रसार ग¥यो । सीको पछिल्लो भ्रमणलाई यिनै ऐतिहासिक सन्दर्भमा हेर्नुपर्छ । पछिल्लो समय अमेरिकासँग किमको प्रत्यक्ष वार्ताबाट चीनमा केही भय छाएको छ । किम अमेरिकासँग नजिक होलान् भन्ने भय चिनियाँ सरकारमा देखिन्छ । चीन–उत्तर कोरिया गठबन्धनको आधार खोज्न सन् १९५०–५३ को अवधिमा भएको कोरियाली युद्धमा फर्कनुपर्छ । त्यो युद्धमा माओत्से तुङले उत्तर कोरिया र चीनको सिमानामा आइपुगेको अमेरिकी फौजसँग लड्न ठूलो संख्यामा चिनियाँ  फौज सिमानामा पठाएका थिए ।

युद्धमा लाखौँ चिनियाँ सैनिकको मृत्यु भयो । मर्नेमध्ये एकजना माओका छोरा पनि थिए । तर, युद्ध सकिएको लामो समयसम्म पनि माओ आफैँले पनि प्योङयाङको भ्रमण गरेनन् । माओले कोरियाली नेता किम इल सुङलाई आफूभन्दा कनिष्ठ सोच्थे भनिन्छ । सुङ उत्तर कोरियाका वर्तमान राष्ट्रपति किम जोङ उनका हजुरबुबा हुन् । त्यसैकारण सुङ उनलाई भेट्न बेइजिङ आउनुपर्ने उनी सोच्थे । सुङ यस्तो विभेदपूर्ण मानसिकताबाट रुष्ट थिए । तसर्थ सन् १९५० को दशकको अन्त्यमा जब चीन र सोभियत संघबीच फाटो आयो, किम इल सुङ सोभियत संघको पक्षमा लागे । उनका लागि माओ आवश्यक त थिए, तर भरोसायोग्य थिएनन् । दुई देशबीचको मतभेद सन् १९७२ पछि झनै बलियो गरी स्थापित भयो, जब माओले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई चीनमा स्वागत गरे र अमेरिकासँग मित्रता सुरु गरे । तर, उत्तर कोरिया दसौँ हजारको संख्यामा कोरियाली प्रायद्वीपमा रहेका अमेरिकी फौजप्रति विरोधी रहिरह्यो । 

सन् १९७६मा माओको मृत्युपछि चीन–उत्तर कोरिया सम्बन्धका आयाममा केही बदलाव आए । माओका उत्तराधिकारी ठूलो शक्ति राजनीतिमा भन्दा चीनको अर्थतन्त्र विकास गर्न बढी केन्द्रित थिए । सन् १९७८ मा नेताद्वय हवा गुफेङ र तत्कालीन देङ सियाओपिङले तिनको पहिलो विदेश भ्रमणको गन्तव्य उत्तर कोरिया बनाए । तर, यी कूटनीतिक प्रयासमा वृद्धिका बाबजुद तिनको राजनीतिक प्रणाली, अर्थतन्त्र र विदेश मामिला हेर्ने तरिकामा भिन्नता देखिन थाल्यो । चीन सुधार र खुलापनको मार्गमा अघि बढ्यो भने किम इल सुङले चीनले अंगीकार गरेको मार्गलाई समाजवादी विचारप्रतिको बेइमानीका रूपमा लिए ।

विदेश मामिलाको सन्दर्भमा पनि चीनले सबै देशसँग सम्बन्ध स्थापित गर्ने र बलियो बनाउने स्थिर विदेश सम्बन्धमा जोड दियो । स्थिरताले मात्र चिनियाँ अर्थतन्त्रको वृद्धिलाई सघाउने तिनको विश्वास थियो । तर, उत्तर कोरियाले खासगरी कम्युनिस्ट राष्ट्रसँग मात्र सम्बन्ध विस्तारको बाटो लियो । फलस्वरूप सन् १९९२ मा युरेसिया क्षेत्रका सम्पूर्ण कम्युनिस्ट शासन ढलेपछि उत्तर कोरिया एक्लियो । झन् चीनले दक्षिण कोरियासँग सम्बन्ध सामान्यीकरण गरेपछि किम इल सुङ चीनले पनि आफूलाई धोका दिएको निष्कर्षमा पुगे । सन् १९९४ मा किम इल सुङको मृत्युपछि उत्तर कोरियाको शासनमा आएका सुङका छोरा किम जोङ इलले ६ वर्षसम्म चीनको भ्रमण गरेनन् । उनले दक्षिण कोरियाली राष्ट्रपतिसँग भेट गरिसकेपछि र अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई प्योङयाङमा भित्र्याउने  तयारीमाझ सन् २००० मा चीनको भ्रमण गरेका थिए । 

त्यसपछि कैयौँ चिनियाँ नेताले प्योङयाङको भ्रमण गरे । ती सबैले उत्तर कोरिया र चीनबीचको विशेष सम्बन्धलाई जोड दिए । तर, प्योङयाङले सत्ता परिवर्तनको खतरामाझ भित्री रूपमा आणविक हतियार क्षमता विकास गर्न थाल्यो । किम जोङ इलको मृत्युपछि सत्तारोहण गरेका वर्तमान शासक किम जोङ उन उत्तर कोरियाको नेता भएको सात वर्षपछि बल्ल सन् २०१८ मार्चमा चीन पुगे । किमको बेइजिङ भ्रमण अत्यन्त महत्वपूर्ण  समयमा भएको थियो । उनी दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनसँग भेट्ने तयारीको अन्तिम अवस्थामा थिए । त्यो वार्ता सफल भएमा अमेरिकी राष्ट्रपतिसँग पनि भेटवार्ता हुन सक्ने सम्भावना थियो । उत्तर कोरियाको दक्षिण कोरिया र अमेरिकाबीच सुमधुर सम्बन्धको सम्भावनाका साथ चीन गएका किम सीसँग भेट्दा आत्मविश्वासको साथ प्रस्तुत हुन सक्थे । यसपछि उनी लगभग एक वर्षको अवधिमा चारपटक चीन पुगे । अहिले उनी चीनका राष्ट्रपतिलाई प्योङयाङमा स्वागत गरिरहेका छन् । उत्तर कोरियामा भेटको क्रममा किम र सीले क्यामेरा अघि त मुस्कुराउलान्, तर एक–अर्काका आखाँमा हेर्दा तिनले संशयका साथ हेर्नेछन् ।

(डेलरी सियोलस्थित योनसेई विश्वविद्यालयको चिनियाँ अध्ययन विषयका सहायक प्राध्यापक हुन्)

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य