१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार १० मंगलबार ०७:२१:००
Read Time : > 1 मिनेट
अर्थ

विषादी परीक्षणविनै भारतबाट भित्रिन्छ लिची

आँप, स्याउ, खरबुजालगायत फलफूलमा भने विषादीको मात्रा जाँचिन्छ

Read Time : > 1 मिनेट
२०७६ असार १० मंगलबार ०७:२१:००

नेपाल–भारत सीमा काँकडभिट्टाबाट भित्रिने आँप, स्याउ, खरबुजालगायत फलफूलमा विषादीको मात्रा जाँचिन्छ । मात्रा बढी भए भित्र्याउन दिइन्न । तर लिचीको प्रयोगशाला परीक्षण गर्ने गरिएको छैन । लिची सेवनका कारण भारतको पश्चिम बंगाल, विहारलगायत राज्यमा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको समाचार सार्वजनिक भइसकेको छ । तर, भारतबाट नेपाल भित्रिने लिचीको नियमित जाँच भइरहेको छैन । ठ्याक्कै नतिजा नआउने भएकाले प्राथमिकता दिएर लिचीको परीक्षण नगरिएको बिर्तामोडस्थित कृषिथोकमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन् ।

आचार्यका अनुसार सुरुमा केही लिचीको परीक्षण गरिएको थियो । तर, नतिजाचाहिँ ठ्याक्कै आएन । आँपको विषादी परीक्षण गर्दा रुकावट प्रतिशत ३१ देखिएको उनले बताइन् । ‘रुकावट प्रतिशत ३५ भन्दा तल देखिए खान मिल्छ,’ उनले भनिन्, ‘त्यसकारण भारतबाट भित्रिएका आँप खान तत्काल समस्या छैन ।’ तर, लिचीमा भने यस्तो स्पष्ट नदेखिने भएकाले नियमित परीक्षण नभएको उनको भनाइ छ । भारतबाट भित्रिएका तरकारी तथा फलफूलको परीक्षण बिर्तामोडस्थित कृषिथोकमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा हुँदै आएको छ ।
 
प्रदेशकै पहिलो  प्रयोगशाला
यो प्रयोगशाला प्रदेश नम्बर– १ मा पहिलोपटक राखिएको हो । फलफूल तथा तरकारी परीक्षण गरेर विषादीको मात्रा पत्ता लगाउने उपकरण बिर्तामोडको कृषिथोकमा स्थापना भएको दुई वर्ष भयो । परीक्षणपछि आएको रिपोर्ट बजार विकास समितिमा दिइने प्रयोगशालाकी प्राविधिक सहायक आचार्यले बताइन् । ‘धेरै विषादी भएर खान अयोग्य छ भने नगरपालिका र प्रशासनसँगको समन्वयमा जफत गरेर नष्ट गरिन्छ,’ उनले भनिन्, ‘अहिलेसम्म एकपटक त्यसो गरिएको छ ।’

न कर्मचारी न आवश्यक दरबन्दी
भारतबाट नेपालमा वर्षेनी फलफूल तथा तरकारीजन्य खाद्यपदार्थको आयात बढ्दै गइरहेको छ । त्यसरी आयात हुने तरकारी तथा फलफूल स्वस्थ अर्थात् खानयोग्य हुनुपर्छ भनेर विषादीको मात्रा चेकजाँच गर्न प्रयोगशाला स्थापना भएको हो । तर, प्रयोगशाला स्थापना भएको दुई वर्ष बितिसक्दा पनि त्यसका लागि आवश्यक दरबन्दी प्राप्त हुन सकेको छैन । प्रयोगशालामा अधिकृत, प्राविधिक सहायक र नायब प्राविधिक सहायकको पनि अस्थायी दरबन्दी त छ तर उनीहरू आउन नै बाँकी छन् । त्यसैले प्रयोगशाला छ  भन्ने मात्र भइरहेको छ । एक्लो प्राविधिक सहायकले कार्यालय धान्नु परेको अवस्था छ । 

भारतले धानेको बजार
बिर्तामोडस्थित कृषिथोक बजारमा ७० प्रतिशत तरकारी भारतबाट आउने गरेको छ । नेपालको उत्पादनले यो बजारको ३० प्रतिशत मात्र हिस्सा ओगट्ने गरेको बिक्रेताले बताएका छन् । भारतबाट नेपाल आउने तरकारीमा विषादीको मात्रा अत्यधिक रहने गर्छ । ‘जंगलबाट टिपेर ल्याएको निगुरोमा समेत विषादी हालेको पाइयो,’ आचार्यले भनिन्, ‘भारतबाट ल्याइएका पर्बल, टमाटर, काउली, स्याउ र च्याउमा अलि बढी विषादी पाइन्छ ।’ उनले कृषिथोकमा पाइने अधिकांश तरकारीमा विषादी पाइएको बताउँदै भनिन्, ‘तर, खानै नहुने अवस्थाको तरकारी भने बजारमा पाइएको छैन ।’

कति विषादी भएको तरकारी खाने ? 
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यका अनुसार ‘रुकावट प्रतिशत शून्यदेखि ३४ सम्म आएको तरकारी उपभोग गर्नलायक हुन्छ ।’ यतिको मात्रामा भएको विषादीलाई मानिसको शरीरले केही दिनभित्र पचाउन सक्ने उनले बताइन् । ३५ देखि ४५ लेभलसम्म विषादीको मात्रा रहेको तरकारी केही दिन भण्डारण गरेपछि मात्र उपभोग गर्न सकिने उनको भनाइ छ । ४५ लेभलभन्दा माथि विषादीको मात्रा भएका तरकारी भने उपभोग गर्नलायक नमानिने भन्दै उनले त्यस्तो तरकारी तथा फलफूल नष्ट गर्नुपर्ने बताइन् ।