१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार १० मंगलबार ०९:२३:००
Read Time : > 1 मिनेट
अर्थ

‘बिग मर्जर’मा बाध्यकारी नीति लिने गभर्नर नेपालको संकेत

गभर्नरले भने, ‘बजेटमै आएको छ, मर्जर आवश्यक छ, बैंंकरले वेलैमा सोच्नुपर्छ, नत्र जाने ठाउँ छैन’

Read Time : > 1 मिनेट
२०७६ असार १० मंगलबार ०९:२३:००

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वाणिज्य बैंकहरूलाई बाध्यकारी नीतिमार्फत मर्जरमा लैजाने संकेत गरेका छन् । उनले बैंकरलाई तत्काल यसबारे सोच्न सुझाब दिँदै अन्यथा मौद्रिक नीतिपछि बैंकहरूसँग विकल्प नहुने चेतावनीसमेत दिएका छन् । 

आइबिएन मिडिया एन्ड रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर नेपालले मौद्रिक नीतिअगावै मर्जरको प्रक्रिया सुरु गर्न चेतावनीसहितको सुझाब दिएका हुन् । ‘तपाईंहरूको पे्रम भनेको छलफल नै हो, मौद्रिक नीति नआएसम्म प्रेम गर्ने गर्नुहोस्, प्रेम भएपछि विवाह आफैँ हुन्छ,’ उनले भने, ‘बैंक मर्ज भएपछि पुँजी धेरै हुन्छ, लेन्डिङमा गर्न पनि सजिलो हुन्छ, आइटीमा खर्च पनि कम हुन्छ, त्यसैले पनि मर्जरमा जानु आवश्यक हुन्छ ।’

३–४ वटा बैंक मर्जरमा गएपछि कर्जा प्रवाहको समस्या समाधान हुने भन्दै गभर्नर डा. नेपालले आफ्नो बैंकको अवस्थासमेत बुझेर अध्यक्षहरूलाई सोहीअनुसार सुझाब दिन बैंकरहरूलाई आग्रह गरे । ‘तपाईंहरूले हेरेको बैंकको अवस्थामा पनि जानकारी लिनु, अध्यक्षलाई पनि भन्नुहोस् बैंक कहिलेसम्म अघि बढ्छ भनेर,’ उनले भने, ‘३–४ वटा बैंक मर्ज हुनु, त्यसपछि लेन्डिङमा समस्या हुँदैन ।’

गभर्नर डा. नेपालले मलेसियामा सन् १९९९ देखि २००० सम्म ५० वटा ठूला बैंकहरू मर्ज भएको उदाहरण दिँदै बाध्यकारी मर्जरको चर्चा गरे । ‘मलेसियामा सन् १९९९ देखि २००० सम्ममा ५० वटा ठूला बैंकहरू मर्ज भएका थिए,’ उनले भने, ‘मलेसियामा पनि त्यसवेला पनि सुरुमा मर्जमा जाऊ भन्दा मानेनन्, १० वटा बैंक सरकारले छानेपछि मर्जरमा गए, त्यसवेला सरकार र केन्द्रीय बैंकले नै छानेको थियो ।’ अहिले बिग मर्जरको विषय बजेटमै आएको उल्लेख गर्दै उनले त्यसको समय सुरु भएकोसमेत बताए । ‘बैंकर साबहरूले वेलैमा सोचे हुन्छ । भोलि तपाईंहरूको जाने ठाउँ छैन,’ उनले भने, ‘मलाई पनि पहिलाको जस्तो समस्या छैन, बजेटमै आएको छ । अब तपाईंहरू पनि जाने ठाउँ कहीँ पनि छैन ।’ 

राष्ट्र बैंकले दीर्घकालीन सोचका साथ नीतिहरू ल्याउने भएकाले त्यसलाई मान्न तथा विश्वास गर्नसमेत उनले आग्रह गरे । ‘पुँजी बढाउने नीति लिँदा तपाईंहरूले बर्बाद नै हुन्छजस्तो गर्नुभएको थियो, तर केही भएन, पुँजी त बढ्यो नि,’ उनले भने, ‘तपाईंहरूले के मान्नुप-यो भने नेपाल राष्ट्र बैंकको रिसर्च विभागमा उच्च दक्ष ५२ जना कर्मचारी छन्, नेपालमा यतिको सक्षम संस्था अरू छैन, त्यो संस्थाले दीर्घकालीन रूपलाई हेरेर नीति ल्याउँछ ।’ 

भद्रसहमतिले ब्याज घटाएको छ : बैंकर
सोही कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकरहरूबीच भएको भद्र सहमतिले नै कर्जाको ब्याज बढ्न नदिएको बताए । व्यवसायीहरूले बैंकहरूबीच भएको भद्र सहमतिप्रति विरोध जनाउनु भनेको कालिदास प्रवृत्ति भन्दै उनले व्यवसायीको आलोचनासमेत गरे । ‘व्यवसायी साथीहरूले हाँगामा बसेर रूख काटन थाल्नुभयो, यो प्रवृत्तिलाई मैले कालिदास भन्न चाहेँ,’ उनले भने, ‘बैंकरहरूको सहमतिले कहीँ बाधा गरेको छ भने आजै हामी त्यसलाई तोड्न सक्छौँ ।’ सहमतिबाट कर्जाको ब्याज घटेको विषयलाई बिर्सन नहुने उनले बताए ।

बैंकप्रतिको विश्वास घट्दै गयो : उपाध्यक्ष प्रधान
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले विगत ४–५ महिनायता बैंकहरूप्रतिको विश्वास घट्दै गएको बताए । ‘बैंकहरूले ब्याजदरमा निकै कार्टेलिङ गरेका छन, ठूला १४–१५ जना व्यवसायीले ऋण पाएका छन्, साना उद्योगी–व्यवसायीले ऋण पाउन सकेका छैनन्,’ उनले भने, ‘यसले गर्दा बैंकप्रतिको विश्वास नै घटेको छ, समस्या झन् बढ्दै गएको छ, यस विषयमा राष्ट्र बैंकले तत्काल ध्यान दिनुपर्छ ।’ नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले बैंकको स्प्रेडदर घटाउनुपर्ने बताए ।