१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार १० मंगलबार ०७:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

वीर अस्पतालको सिटिस्क्यान पाँच दिनदेखि बन्द

Read Time : > 1 मिनेट
२०७६ असार १० मंगलबार ०७:१०:००

वीर अस्पतालको रेडियोलोजी सेवा पाँच दिनदेखि अवरुद्ध छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले सिटिस्क्यानबाट रेडिएसन चुहावट भएको रिपोर्ट दिएपछि रेडियोलोजी विभागका कर्मचारीले घातक हुने भन्दै सेवा रोकेका हुन् । अस्पतालका चिकित्सक तथा कर्मचारीले नास्टले एक साताअघि बुझाएको रिपोर्टलाई आधार बनाएर सिटिस्क्यान सेवा ठप्प पारेका छन् । 

अस्पतालका एक रेडियोलोजी विज्ञ नास्टले गलत रिपोर्ट दिएर गल्ती गरेको आरोप लगाए । उनका अनुसार सिटिस्क्यानबाट नास्टले भनेअनुसार कुनै रेडिएसन चुहावट भएको छैन । ‘तर गलत रिपोर्टका कारण उपचार सेवा रोक्न बाध्य हुनुपरेको छ,’ ती कर्मचारीले भने । स्रोतका अनुसार कोठा मर्मतका क्रममा कमसल सामान खरिद गरिएकाले रेडिएसन चुहावट भएको हो । सिटिस्क्यान राख्ने कोठाको मर्मतमा मात्रै करिब ७० लाख रुपैयाँ खर्च भएको वीर अस्पतालका एक उच्च अधिकारीले बताए । तर, नास्टले वीरको सिटिस्क्यानबाट घातक रेडिएसन चुहावट नभएको बताएको छ ।

दैनिक ४५ बिरामीको सिटिस्क्यान रोकियो
वीर अस्पतालका वरिष्ठ रेडियोलोजी विज्ञ डा. कञ्चन अधिकारीले सिटिस्क्यान सेवा अवरुद्ध हँुदा दैनिक ४५ जनासम्म बिरामी सेवा लिनबाट वञ्चित भएको जानकारी दिए । उनले घातक रूपमा रेडिएसन चुहावट नभएको बताए । ‘रेडिएसन चुहावटलाई कम गर्ने हो । कुनै न कुनै रूपबाट रेडिएसन चुहावट भएकै हुुन्छ,’ उनले भने । अस्पतालका अनुसार सिटिस्क्यान सेवा अवरुद्ध हँुदा दैनिक दुई लाख रुपैयाँ गुम्दै आएको छ ।

चिकित्सकका अनुसार रेडिएसनमा लामो समयसम्म काम गर्ने व्यक्तिको शरीरमा क्यान्सर देखापर्ने, जिनलाई कम गराउनेजस्ता समस्या देखापर्न सक्छन् । अस्पतालले आठ महिनामा १० हजारभन्दा बढी बिरामीको सिटिस्क्यान गरेको जनाएको छ । हालै मात्र रेडिएसनको चुहावट र प्रकाश बाहिर नजाओस् भनेर करिब ७० लाख रुपैयाँमा कोठा बनाइएको थियो । ढोकामा प्वाल राखेका कारण सोही स्थानबाट चुहावट भएको अनुमान गरिएको निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । 

के छ नास्टको रिपोर्टमा ? 

  • ढोकाबाट बिरामी कुरुवा बस्ने स्थानसम्म रेडिएसनको मात्रा १३ माइक्रो सिभल्ट ।
  • सिटी टेक्निसियन बस्ने ठाउँमा २.१२ माइक्रो सिभल्ट । 
  • चिकित्सकले रिपोर्टिङ गर्ने स्थानमा १.२ माइक्रो सिभल्ट । 
  • बाहिरी कुरुवा बस्ने ठाउँमा १ हुनुपर्नेमा ०.२४ माइक्रो सिभल्ट ।