मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मेयर ध्रुवकुमार सिवाकोटी र उनको घर
२०७६ असार १० मंगलबार ११:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मेयरले गाडी र घरको समेत क्षतिपूर्ति बिमाबाट लिएपछि  सरकारसँग पनि पैसा मागेको पुष्टि

मोटरसाइकल पनि छोराको नाममा नभएको खुल्यो

Read Time : > 1 मिनेट
२०७६ असार १० मंगलबार ११:१८:००

नयाँ पत्रिका फलोअप

एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ–घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार ९८३ गरी ६ लाख ३५ हजार ९८३ रुपैयाँ लगिसक्नुभयो

स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ । २२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन् । 

‘मेयर सा’बले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो बिर्तामोड शाखामा निवेदन हाल्नुभएको थियो । २२ असार ०७५ मा दुवैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी जम्मा ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ ।’ 

इन्स्योरेन्स कम्पनीमा भएको रेकर्डअनुसार गाडी मेयर सिवाकोटीकै नाममा र घर श्रीमती विद्या बस्नेतको नाममा छ । गाडीको बिमा रकम मेयर सिवाकोटीको नाममा भुक्तानी दिएको र घरको भने सिंहबाहिनी टी स्टेट प्रालिको नाममा चेक बनाएर दिएको इन्स्योरेन्सका कर्मचारीले बताए । सिंहबाहिनी टी स्टेट मेयरको फर्म हो । 

मेयर सिवाकोटीले गाडीको बिमा गरिएको भए पनि बिमा कम्पनीले रकम दिन नमानेको नयाँ पत्रिकालाई बताएका थिए । ‘बिमा कम्पनीले तीन लाख मात्र दिन्छु भनेपछि मेरो दिमाग खराब भयो, छाडिदिएँ । त्यो कम्पनीको नाम पनि मलाई थाहा छैन ,’ मेयरले भनेका थिए । बिमा र सरकारबाट दोहोरो रकम लिएकोबारे सोमबार जानकारी लिन खोज्दा मेयर सिवाकोटी सम्पर्कमा आउन चाहेनन् । 

साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा आन्दोलित स्थानीयले १० कात्तिक ०७४ मा मेयरको शनिश्चरेस्थित घरमा आक्रमण गरेका थिए । घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै आक्रोशित स्थानीयको आक्रमणमा सिवाकोटीको घरका झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे.१झ १२१ नम्बरको गाडीमा र बा.१०च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो । त्यस्तै मे.७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए । दुवै गाडी मर्मतपछि सञ्चालनमा छन् भने मोटरसाइकल बन्न नसक्ने भएपछि ग्यारेजमा थन्किएको छ । 

मेयर सिवाकोटीले घटनाको केही समयपछि जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड चार लाखबराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति माग गरेका थिए । २० र २३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ३० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो । 

मोटरसाइकल पनि छोराको नाममा नभएको खुल्यो 
मेयर शिवाकोटीका छोरा नेपाल रत्नले मे.७प ३००० नम्बरको बुलेट मोटरसाइकल आफ्नो भएको, नबन्ने अवस्थामा रहेपछि ग्यारेजमा थन्किएको र बिमा गरिएको भए पनि दाबी नगरेको बताएका थिए । तर, यातायात व्यवस्था कार्यालय मेचीको रेकर्डअनुसार यो नम्बरको मोटरसाइकल झापाकै अनारमनीका उद्धिन न्यौपानेको नाममा देखिन्छ । न्यौपाने मेयर सिवाकोटीका छोरीज्वाइँ हुन् ।