मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विश्वराज पछल्डङ्ग्या बाँके
२०७६ असार ९ सोमबार ११:०१:००
Read Time : > 1 मिनेट
प्रदेश

विषादी परीक्षण नहुँदा भन्सारमै  रोकिए तरकारीका गाडी

Read Time : > 1 मिनेट
विश्वराज पछल्डङ्ग्या बाँके
२०७६ असार ९ सोमबार ११:०१:००

सरकारले विषादी जाँच अनिवार्य गरेपछि तरकारी र फलफूल बोकेका चार दर्जन गाडी नेपालगन्ज नाकामा थन्किएका छन् । सरकारले भारतबाट आयात हुने फलफूल र तरकारीको विषादी जाँच अनिवार्य गरेपछि भारतबाट ल्याउँदै गरेका फलफूल र तरकारी बोकेका गाडी बीच बाटोमै अलपत्र परेका हुन् ।  सरकारी नियमअनुसार विषादी जाँच गराउन नसकेपछि ती गाडी शनिबारदेखि नेपालगन्ज भन्सार कार्यालयको यार्डमा थन्काएर राख्नुपरेको तरकारी तथा फलफूल आयातकर्ता हैदर अलिले बताए । ‘सरकारले ल्याएको नियमका बारे जानकार नहुँदा तरकारी र फलफूल बोकेका गाडी अलपत्र परेका छन्, अलीले भने, ‘नेपालगन्ज भन्सारका कर्मचारीले अचानक विषादी जाँच प्रमाणपत्र मागेपछि मात्र विषादी जाँच अनिवार्य गरिएको थाहा भयो ।’ प्रमाणपत्र ल्याउन नसकेपछि आधा नेपालगन्ज भन्सार यार्डमा र आधा गाडी  रुपैडिहामा थन्किएका छन् ।

कुहिन थाले फलफूल र तरकारी 
दुई दिनदेखि गाडीमा रहेका फलफूल र तरकारी कुहिन थालेका छन् । अपर्झट लागू हुने नियमका कारण आफूहरू अप्ठेरोमा परेको गुनासो व्यवसायीको छ । केन्द्रीय निर्देशन भन्दै नेपालगन्ज भन्सार कार्यालयले विषादी जाँचपासविना तरकारी र फलफूल आयातमा रोक लगाएको छ ।  प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भन्सार विभागको निर्देशन पालना गरेको बताए । उनले केन्द्रको अर्को निर्देशन नआउँदासम्म विषादी जाँचपास नभएका फलफूल र तरकारी आयात हुन नदिने स्पष्ट पारे । ‘विषादी छैन भन्ने प्रमाणपत्र ल्याए मात्र जान दिइनेछ,’ प्रमुख भन्सार अधिकृत निरौलाले भने ।

 विषादी दु्रत विश्लेषण इकाइले परीक्षण गर्ने 
झन्डै चार वर्ष अघि नेपालगन्जस्थित रानीतलाउ तरकारी बजारमा स्थापना भएको दु्रत विषादी विश्लेषण इकाइलाई तरकारी र फलफूलको विषादी जाँच गर्ने जिम्मा दिने तयारी गरिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा स्थापना भएको उक्त दु्रत विषादी विश्लेषण इकाइ जनशक्तिका कारण कामविहीन अवस्थामा छ ।  स्वदेश र बाहिरी देशबाट आएका फलफूल र तरकारीमा विषादीको मात्रा कति छ भन्ने पत्ता लगाउन उक्त इकाइ स्थापना भएको थियो । ‘अब त्यो कार्यालयले विषादीरहित छ÷छैन भन्ने प्रमाणित गरेको आधारमा तरकारी र फलफूल आयात गर्न दिइनेछ,’ प्रमुख भन्सार अधिकृत निरौलाले भने ।  व्यवसायीले आइतबार नै तरकारीको ‘स्याम्पल’ उक्त कार्यालयमा जचाउन लगेका छन् । विषादी जाँच्ने काममा इकाइका कार्यालय प्रमुख शकिल अहमदले आइतबारबाट परीक्षणको काम सुरु गरेको बताए ।