मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामचन्द्र न्यौपाने डोल्पा
२०७६ असार ९ सोमबार १०:५०:००
Read Time : > 1 मिनेट
प्रदेश

जाजरकोट–डोल्पा सडक हस्तान्तरण गर्दै सेना

Read Time : > 1 मिनेट
रामचन्द्र न्यौपाने डोल्पा
२०७६ असार ९ सोमबार १०:५०:००

नेपाली सेनाले जाजरकोट–डोल्पा सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सडक विभागलाई असार मसान्तभित्रै हस्तान्तरण गर्न लागेको हो ।  सेनाले निर्माणको जिम्मा पाएको जाजरकोट–डोल्पा सडक यसै महिनाभित्र सम्पन्न हुँदै छ । निर्माण सम्पन्न भएसँगै सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । जाजरकोटको पासागाडदेखि दुनैसम्मको एक सय १८ किलोमिटर सडक निर्माण सम्पन्न गरेर आयोजना नै सडक विभागलाई हस्तान्तरण गर्न लागिएको सडक निर्माण कार्यदलप्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए । 
भौगोलिक कठिनाइका कारण विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले सुरक्षाका लागि पनि सेनालाई दिइएको थियो । असारभित्र सबै काम सकेर सडक विभागलाई हस्तान्तरण गरिने पहाडीले बताए । ‘दिनरात खटिँदै ज्यान हत्केलामा राखेर सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गरेका छौँ,’ उनले भने । निर्माणका क्रममा थुप्रै चुनौती बेहोरेको उनको भनाइ थियो । 
अहिले सुँपानी–दुनै सडकखण्डको १४ दशमलव तीन किलोमिटर सडक सुधारको काम भइरहेको छ । यस खण्डमा पर्ने कालागौँडा र लामालोटे भिरलगायत सात भिरमा सडक निर्माण सम्पन्न भएको छ । त्यसमा सुधारको काम अन्तिम चरणमा पुगेको र यो महिनाभित्र पूरा हुने कार्यदलप्रमुख पहाडीले बताए ।  दुनैसम्म ४ मंसिरमै ट्र्याक खुलेको थियो । सँुपानी–दुनैखण्डको ट्र्याक तत्कालीन जिल्ला विकास समितिले नै गरेको थियो । त्यो खण्ड साँघुरो भएकाले चौडा बनाउने काम भइरहेको सेनाले जनाएको छ । डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै त्रिदेशीय नाका जोड्ने सकडका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । यो सडकले उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतको रुपैडिया जोड्नेछ ।

 जाजरकोट–डोल्पा सडक बनेसँग स्थानीय बासिन्दा खुसी भएका छन् । उनीहरू आवतजावत गर्न सजिलो भएको छ । दुनैसम्म गाडी चल्न थालेको बताउँदै त्रिपुरासुन्दरी नगरपालिका–१का दुर्गाप्रसाद देवकोटाले भने । ‘यति छिट्टै डोल्पालीले सडक पुग्ला भनेर कल्पनासमेत गरेका थिएनन् । तर, सेनाले जिम्मा लिएर निर्माण कार्य पूरा ग-यो ।’ सडक पुगेसँगै आवतजावत गर्न त सुविधा भएको छ नै सरसामान पनि सस्तो भएको उनको भनाइ छ । 

दर्जन पुल नहुँदा सास्ती
जाजरकोट–डोल्पा सडकको ट्र्याक खुले पनि एक दर्जनभन्दा बढी नदी तथा खोलाहरूमा पुल निर्माण नहुँदा सास्ती खेप्नु परिरहेको स्थानीय बासिन्दाले बताएका छन् । जाजरकोट–डोल्पा सडकअन्तर्गत राडीज्युला, तल्नुबगर, हरियापानी, सुँपानी, छलगाड, चुँगाड, रूपगाडलगायत एक दर्जनभन्दा बढी  ठाउँमा पक्की पुल निर्माण हुन बाँकी नै छ । अहिले ती स्थानमा झोलुंगे पुल छन् ।  भेरी नदीमा मात्रै आवश्यक ६ वटा पक्की पुलमध्ये रिम्ना र चिसापानीमा मात्रै निर्माण भएका छन् । राडिज्युला, तल्लु, हरियापानी र सुँपानीमा पुलनिर्माण गर्न बाँकी छ । पुल नहुँदा यात्रुले गाडीबाट ओलिएर वारपार गर्नुपर्छ । 

कालोपत्रे र पुल बनाउन माग
पहिलो चरणको ट्र्याक खुलिसकेको छ । अब सडक स्तरोन्नति गर्नुपर्ने स्थानीय बासिन्दाले बताए । उनीहरू जाजरकोट–डोल्पा सडक कालोपत्रे गर्न प्रदेश र संघीय सरकारसँग बजेट विनियोजन गर्न माग गरेका छन् । त्यस्तै, यो सडकमा पुल निर्माणका लागि पनि स्थानीय बासिन्दाले आग्रह गरेका छन् । पुल नहुँदा आवतजावत गर्न समस्या भएको र यात्रुहरूले सास्ती 
खेप्नु परिरहेको उनीहरूको गुनासो छ ।