मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी
२०७५ पौष १७ मंगलबार ०८:३१:००
Read Time : > 3 मिनेट
अर्थ

आयल निगमका कर्मचारीलाई उन्मुक्ति 

Read Time : > 3 मिनेट
अजित अधिकारी
२०७५ पौष १७ मंगलबार ०८:३१:००

भारतीय आयल कर्पाेरेसनको बरौनी रिफाइनरीबाट २० हजार लिटर डिजेल बोकेर आएको को१ख ५९६५ नम्बरको ट्यांकरबाट २ हजार ४ सय ८४ लिटर चोरी भएको विषयमा कर्मचारीको दोष भेटिए पनि कारबाही गरिएको छैन । सोही चोरी काण्डमा कर्मचारीको सहयात्री रहेका ट्यांकरधनी सुकदेव सिंह र चालक धर्मेन्द्र स्वर्णकारलाई भने कठोर सजाय तोकिएको छ ।

सञ्चालक समितिबाट निर्णय गराई निगम व्यवस्थापनले ट्यांकरधनी सिंहको डिजेल चोरीमा समातिएको को१ख ५९६५ नम्बरको ट्यांकरको सम्झौता खारेज गरिएको छ । उनको स्वामित्वमा रहेका थप १२ ट्यांकरलाई ४ महिनासम्म तेल बोक्न बन्देज लगाइएको छ । त्यस्तै चालक स्वर्णकारलाई भविष्यमा तेल बोक्ने ट्यांकर चलाउन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । तेल चोरीका विभिन्न घटनामध्ये यो अहिलेसम्मकै कडा कारबाही हो । 

तर, निगमकै छानबिन कमिटीले दोषी देखिएका कर्मचारीलाई भने कुनै कारबाही भएको छैन । उनीहरूलाई जोगाउन मन्त्रालय र निगम व्यवस्थापन क्रियाशील छ । कर्मचारीलाई कारबाही गर्ने दायित्वबाट पन्छिएर थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ ।

कर्मचारीले ताल्चाको चेकजाँच गरेनन्

डिजेल चोरी भएको ट्यांकरमा आधुनिक ताल्चा जडान गरिएको छ । उक्त ताल्चा र चेम्बरलाई ढाकेर आउने रडबीच भएको बढी ग्यापको फाइदा उठाएर चालकले लिभर लगाई तेल चोरी गरेको छानबिनबाट पत्ता लागेको छ । सो लकिङ सिस्टमको चेकजाँच गर्न निगमले समय–समयमा निर्देशन दिए पनि डिपोका कर्मचारीले चेकजाँच नगरी तेल चोर्न सहयोग गरेको रिपोर्टमा उल्लेख छ ।


व्यवसायीको बयान : कर्मचारी नमिली चोरी हुँदैन
निगमको छानबिन टोलीले पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका निवर्तमान अध्यक्ष मुकुन्द न्यौपानेसँग सोधपुछ गरेको थियो । त्यसक्रममा न्यौपानेले भनेका छन्, ‘तेल चोरी घटनामा ड्राइभरको मात्र संलग्नता भए ड्राइभर तेल चोरेर भाग्ने, गाडी छोड्नेलगायतका कार्य गरेको विगतमा पनि हामीले भोगेकै घटनाहरू हुन् । तर, यो घटनामा त्यत्रो परिमाणमा तेल कम हुँदाहुँदै ड्राइभरले दृढताका साथ गाडी निगमभित्र खाली गर्न कसरी छिरायो ?’ न्यौपानेको बयानमा पनि कर्मचारीको मिलेमतो भएको आशंका गर्दै विस्तृत अनुसन्धान गर्न प्रतिवेदनमा औँल्याइएको छ ।

एउटा ट्यांकरबाट करिब २५ सय लिटर डिजेल चोरी भएपछि छानबिन गरी आयल निगम र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले दिएको रिपोर्टमा विराटनगरस्थित डिपो कर्मचारीका आधा दर्जन गल्ती भेटिएका छन्, तर उनीहरूलाई मन्त्रालय र निगम व्यवस्थापनले कारबाहीबाट जोगाइरहेका छन् ।

ट्यांकरलाई धर्मकाँटामा नजोखी अनलोड गर्न खोजियो
विराटनगरमा तेल बोकेका ट्यांकरको एकमुष्ट नाप लिने धर्मकाँटा एकवर्षे कार्यसम्पादन हेर्दा बारम्बार बिगार्ने गरेको रिपोर्टमा उल्लेख छ । २० साउन ०७४ मा बिग्रिएको काँटा ८ महिनापछि ८ चैतमा सञ्चालन गरिएको थियो । त्यसको ५ महिनापछि १५ भदौ ०७५ देखि ९ असोजसम्म (२० दिन) रङरोगन गरेकाले बन्द गरिएको थियो । ६ पुसमा डिजेल चोरी भएको ट्यांकर भित्र आउँदा कसैले काँटामा नजोखेको रिपोर्टमा उल्लेख छ । ६ पुसको काँटा गरिँदा तयार गरिने रजिस्ट्रार हेर्दा जम्मा ११ वटा गाडीको काँटा भएको देखिए पनि डिजेल कम आएको ट्रक नम्बर को१ख ५९६५ को काँटा भएको देखिएन,’ रिपोर्टमा उल्लेख छ ।


पियन र पालेसम्मले चाबी प्रयोग गर्ने
आधुनिक लकिङ सिस्टम सञ्चालनका लागि बनाइएको कार्यविधिले डिपोका दुईजनासम्म अधिकृतस्तरका कर्मचारीलाई ट्यांकरको ताल्चा खोल्ने चाबी जिम्मा दिई रेकर्ड राखी प्रयोगमा ल्याउनुपर्ने व्यवस्था गरेको छ । तर, विराटनगर डिपोका उपप्रबन्धक रामकृष्ण श्रेष्ठ र सहायक प्रबन्धक वीरेन्द्र मिश्रले पियनदेखि गाडीसम्मलाई साँचो प्रयोग गर्न दिएको रिपोर्टमा उल्लेख छ । बिहान श्रेष्ठले चाबी झिकेर गार्डलाई दिने, दिउँसो ट्यांकरमा चाबी खोल्न–लगाउन हेल्परलाई दिने, साँझ फेरि गार्डले चाबी प्रयोग गर्ने र राति ९ बजे मिश्रले चाबी राख्ने गर्छन् । धेरैले प्रयोग गर्दा चाबीको दुरुपयोग गरी ताल्चा खोलेर तेल चोरी गरेको समितिको निष्कर्ष छ । ‘समितिले लिएको बयान तथा अध्ययनबाट यति धेरै कर्मचारीले मास्टर की (चाबी) प्रयोग गरिएको देखिएकाले मास्टर की दुरुपयोग हुने सम्भावनालाई नकार्न नसकिने देखिन्छ,’ रिपोर्टमा भनिएको छ ।


निगमकै मिलेमतोमा तेल चोर्न मिल्ने ताल्चा जडान
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले तयार गरेको प्रतिवेदनमा निगम कर्मचारीले तेल चोर्न मिल्ने ठाउँ राखेर लकिङ जडान गरेको र चालक तथा ढुवानी व्यवसायीले त्यसकै फाइदा उठाएको निष्कर्ष छ । सिआइबीले बुझाएको रिपोर्टमा भनिएको छ, ‘आयल निगमका ट्यांकरहरूमा फरक र कमसल किसिमको लक फिटिङ हुनुका साथै अनियमितता गर्न सजिलो होस् भनी लकिङ रडमा नियतवश ग्यास राख्नु नै ट्यांकरबाट तेल चोरी हुनुको प्रमुख कारण देखिएको छ ।’ यस्तो लकिङ प्रणालीको फिटिङमा निश्चित ढाँचा बनाई सोहीअनुसार देशभरका सम्पूर्ण ट्यांकरमा एकै प्रकृतिको लक फिटिङ जडान गरे तेल चोरी रोकिने सिआइबी रिपोर्टको सुझाब छ । निगम व्यवस्थापनले नै खटाएको कर्मचारीले बनाएको रिपोर्टसमेत लकिङ प्रणालीमा भएको कमजोरीका कारण तेल चोरी भएको निष्कर्ष निकालिएको छ । ‘लकिङ सिस्टमको फिटिङ चेकजाँच गर्दा ताल्चा लगाउने रडमा ताला र रडको बीचमा ग्याप बढी देखियो, माथिल्लो र तल्लो रडलाई जोड्ने ज्वाइन्ट शंकास्पद लागेकाले लिभरको सहायताले उक्त सेक्युरिटी लकिङ सिस्टम खोल्ने प्रयास गर्दा उक्त ट्यांकरको फिटिङ खुलेको थियो,’ रिपोर्टको निष्कर्षमा भनिएको छ, ‘तसर्थ, उक्त सेक्युरिटी लकिङ सिस्टमको फिटिङ खुलेकाले निज चालकले लिभर लगाई फिटिङ खोलेर तेल झिकेको सम्भावनालाई समेत नकार्न सकिँदैन ।’

प्रदेशभरि तेल बाँड्ने डिपोमा क्यालिब्रेसन टावर छैन

ट्यांकरको प्रत्येक च्याम्बरमा तोकिएको तेल राखिएको छ–छैन भनेर क्यालिब्रेसन गरिन्छ । यसका लागि प्रत्येक डिपोमा क्यालिब्रेसन टावर राखिएको हुन्छ । तर, डिजेल चोरी काण्ड भएका वेला विराटनगरको क्यालिब्रेसन प्रयोग गरिएको छैन । कर्मचारीले बिग्रिएको क्यालिब्रेसन टावर बनाउन पहल गरेका छैनन् । छानबिन समितिले शीघ्र टावर मर्मत गरी तेलको परिमाणबारे क्रसचेक गर्न सुझाब दिएको छ ।