Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार ०६:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नयाँ वर्ष मनाउन हजारौँ यात्रु उपत्यकाबाहिर

उपत्यका आसपासका होटेल भरिभराउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार ०६:२३:००

अंग्रेजी नयाँ वर्ष मनाउन हजारौँ सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा सोमबार अन्य दिनको तुलनामा सवारीसाधन र यात्रु उपत्यकाबाट बढी बाहिरिएका छन् ।  उपत्यकाका चार नाका नागढुंगा, जगाती, मुड्खु र फर्पिङबाट सोमबार करिब ११ हजार सवारीसाधनमार्फत ८० हजार यात्रु बाहिरिएको ट्राफिक महाशाखाको तथ्यांक छ । सामान्य अवस्थामा  यी नाकाबाट औसत ९ हजार सवारीसाधनमार्फत ७० हजार यात्रु बाहिरिने गर्छन् । 

‘अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा उपत्यकाका सबै नाकाबाट बाहिरिने सवारीसाधनको चाप रह्यो,’ ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए । अंग्रेजी नयाँ वर्षको अवसरमा पारिवारिक घुमघामको संस्कृति बढ्दो छ । उपत्यकाका चारै नाकामा भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको संख्या धेरै रहेको पन्त बताउँछन् । उपत्यकाबाट काठमाडौं आसपास तथा पोखरा, चितवनलगायत क्षेत्रमा नयाँ वर्ष मनाउन निस्किएका छन् ।

उपत्यका आसपासका होटेल भरिभराउ 
उपत्यका आसपास पर्यटकीय गन्तव्यका होटेलहरू भरिभराउ छन् । नगरकोट, धुलिखेल, ककनी, जहरसिंहपौवा, दामनलगायत क्षेत्रका होटेलहरू भरिभराउ रहेको होटेल व्यवसायीले बताए । नयाँ वर्षको पूर्वसन्ध्यामा धुलिखेलका सबैजसो होटेलहरू भरिएका क्षेत्रीय होटेल एसोसिएसन काभ्रेकी सचिव जोत्सना सैंजूले बताइन् । ‘केही होटेलमा १–२ वटा कोठा खाली होलान्, बाँकी सबै भरिएका छन्,’ उनले भनिन् । धुलिखेलमा साना–ठूला गरेर ६० वटा होटेल छन् । 

नगरकोटमा पनि करिब ८० प्रतिशत होटेल भरिएका छन् । तर, बाटो र करका कारण विगतको तुलनामा पर्यटक नआएको स्थानीय होटेल व्यवसायी छेवाङ लामाले बताए । ‘पहिला पर्यटकको ओभरफ्लो हुन्थ्यो, तर नियमितभन्दा धेरै भए पनि शतप्रतिशत भने छैन ।’  ककनी क्षेत्रका अधिकांश होटेल भरिएको व्यवसायीले बताएका छन् । नयाँ वर्षमा पोखरा, चितवन, लुम्बिनीलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या बढेको छ । विदेशीभन्दा आन्तरिक पर्यटक नै यतिबेला होटेलका मुख्य ग्राहक बनेका छन् ।

ठमेल, दरबारमार्गमा  दिउँसैदेखि भिडभाड 
उपत्यकाका होटेल तथा रेस्टुरेन्टमा पनि सोमबार दिउँसैदेखि भिडभाड रह्यो । ‘न्यु इअर इभ’मा रेस्टुरेन्ट, डिस्को तथा लाउञ्ज बारले नयाँ वर्ष विशेष कार्यक्रम गरे । दरबारमार्ग, ठमेल, झम्सिखेलसहितका स्थानमा नयाँ वर्ष मनाउने रेस्टुरेन्टहरूले लाइभ म्युजिकसहितको कार्यक्रम गरे । क्यासिनोहरूमा पनि विशेष कार्यक्रम राखिएका थिए ।  ठमेलमा सोमबार साँझदेखि नै भिड बढेको थियो । नयाँ वर्षको भिडभाड अत्यधिक भएकाले नियमितभन्दा थप प्रहरी परिचालन गरिएको काठमाडौं परिसरका डिएसपी होविन्द्र बोगटीले बताए ।