Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७५ पौष १६ सोमबार १९:२८:००
Read Time : > 2 मिनेट
समाचार

सन् २०१८ का विश्व चर्चित विषय, ट्रम्प-किमकाे नाटकीय सम्बन्धदेखि विश्वकपसम्म

Read Time : > 2 मिनेट
रासस
२०७५ पौष १६ सोमबार १९:२८:००

वर्ष सन् २०१८ मा केही राेचक र अप्रयाशित घटना भयाे । याे वर्ष पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो । अरु देशका विभिन्न घटना पनि विश्वव्यापी भए । वर्षभरिका चर्चित मुख्य घटना क्रमको सूचीमा राजनीतिक घटना नै धेरै भएका छन् । त्यसबाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाले पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस वर्ष भएका केही मुख्य  घटना संक्षेप यस प्रकारका छन् ।

१, अनपेक्षित ट्रम्प 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएको दुई वर्षपछि पनि राष्ट्रपतिमा अनपेक्षित भूमका देखाए । सञ्चार माध्यम, मन्त्री र कर्मचारीलाई समेत पूर्ण विश्वास गरेनन् । उनले यस अवधिमा झण्डै डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीलाई बर्खास्त गरे । अन्य देशसँगको सम्बन्धमा विश्वास बढाउन सकेनन् । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ताबाहेक उनको प्रशंसा योग्य भूमिका कमै भयाे ।

२, उत्तर कोरिया र अमेरिकाको नाटकीय सम्बन्ध 

लामो समयदेखि प्रमुख दुस्मनी मानिने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा २०१८ मा नाटकीय परिवर्तन भयो । एक अर्कालाई सिध्याउने चेतावनी दिँदै गर्दा दुई देशका नेताहरुले गत जुन १२ का दिन सिङ्गापुरमा भएको शिखर सम्मेलनको क्रममा एकअर्कालाई अङ्गालो हालेको भिडियो सार्वजनिक भयाे ।

उनीहरुकाे गतिविधिले विश्व समुदाय अचम्भित भए । यो सम्भव बनाउने मुख्य श्रेय भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई जान्छ । सम्बन्ध सामान्यीकरण गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने अभियान सन् २०१९ मा पनि जारी राख्ने प्रतिबद्धता तीनै देशबाट व्यक्त भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको दोस्रो शिखर बैठक सन् २०१९ को सुरुवातमा नै गर्ने तयारी हुँदैछ ।

३, नेतृत्व त्यागेका मर्केल

जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक पार्टीमा १८ वर्षदेखि राज गरेकी चान्सलर एन्जेला मर्केलले यस वर्ष पार्टी नेतृत्वबाट बिदा लिए । यस घटनालाई विश्वले महत्वपूर्ण घटनामा लिइएको छ । मर्केलले चान्सलरका लागि आफूले चौथोँ कार्यकालको अन्त्यपछि उम्मेदवारी नदिने घोषणा गरिसकिन् । उनको चौथोँ कार्यकाल आगामी सन् २०२१ मा सकिने छ । 

४, पुटिन चौथोँ कार्यकाल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यस वर्ष चौथोँ कार्यकालका लागि निर्वाचित भए । उनकाे निर्वाचनसँगै अर्को चर्चाको विषय बन्यो । गत मार्च १८ मा भएको निर्वाचनबाट उनी अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बने । रुसमा एउटै व्यक्ति दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहेकाले पुटिन विगत १८ वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्री भएर सत्तामा रहँदै आएका छन् । ६५ वर्ष पुगेका पुटिनको सन् २०२४ सम्मको कार्यकाल जोड्दा २५ वर्ष सत्तामा हुनेछ । 

५,पत्रकार खशोज्जीको हत्या

साउदी अरबका पत्रकार जमाल खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावासमा हत्या भयाे । याे घटना लामो समयसम्म विश्वव्यापी चर्चामा रह्यो । दशकौँसम्म साउदी राजपरिवारको सल्लाहकार भए पनि सम्बन्ध बिग्रेरपछि अमेरिकामा बस्दै आएका खशोज्जीले अमेरिकी पत्रिका 'द वासिङ्टन पोस्ट'मार्फत् साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्दै आएका थिए ।

६, विश्वकप फुटबलको २१औँ संस्करण

एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । याेसँगै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जित्याे । फ्रान्सले सुनको ट्रफीसँगै चार अर्ब १० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशी ४३ अर्ब रुपैयाँ रहेको थियो । एक महिनासम्म चलेको प्रतियोगितामा ३२ देशका सात सय ३६ खेलाडी प्रतियोगितामा सहभागी भए । प्रतियाेगितामा क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । 

त्यसैगरी जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन, मि–टु अभियान, अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, अफगानिस्तान आदिसहित पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई छोरीसहित जेलमा राखिएको समाचार र विश्वविख्यात क्रिकेट खेलाडी इमरान खानले सत्तारोहण गरेकाे विषय चर्चाकाे विषय बने । यस्तै, मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले ९२ वर्षको उमेरमा पुन: देशको नेतृत्व सम्हालेकाे विषय चर्चा भयाे । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले चौथोँ कार्यकाल सम्हाल्दै गर्दा उनकी चिरप्रतिद्वन्द्वी खालिदा जियाले ७३ वर्षको उमेरमा अस्वस्थ अवस्थामा जेलभित्रै छटपटारहनु परेको छ । यी उतारचढावका बीच वर्ष २०१८ साल समाप्त भएकाे छ ।