१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
देश/विदेश काठमाडाैं
२०७६ असार ६ शुक्रबार ०९:१८:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

सीको उत्तर कोरिया भ्रमण र विश्वको अपेक्षा

सीको उत्तर कोरिया भ्रमणले द्विपक्षीय सम्बन्धलाई स्वस्थ रूपमा उच्च तहमा पु-याउन भूमिका खेल्ने अपेक्षा गरिँदै छ

Read Time : > 1 मिनेट
देश/विदेश काठमाडाैं
२०७६ असार ६ शुक्रबार ०९:१८:००

चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबारदेखि उत्तर कोरियाको ऐतिहासिक भ्रमण सुरु गरेका छन् । सन् २००५ पछि चीनका सर्वोच्च नेताले उत्तर कोरिया भ्रमण गरेको यो पहिलो अवसर हो । त्यसैले अन्तर्राष्ट्रिय समुदायले यस भ्रमणलाई नजिकबाट नियालिरहेको छ । चीन र उत्तर कोरियाबीचको सम्बन्धमा यो ठूलो घटना हो । उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्षयता चारपटक चीन भ्रमण गरिसकेका छन् । सीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई स्वस्थ रूपमा उच्च तहमा पु-याउन भूमिका खेल्ने अपेक्षा गरिँदै छ । 

चीन र उत्तर कोरियाबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । दुवै देशले यस सम्बन्धबाट रणनीतिक फाइदा लिने गरेका छन् । उत्तर कोरिया र चीन दुवै ‘कमरेड’ हुन्, नजिकका छिमेकी र साझेदार हुन् । यो रणनीतिक रोजाइ इतिहास र यथार्थलाई आधार मानेर दुवै देशले गरेका हुन् । दुवैले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अवस्था र द्विपक्षीय सम्बन्धलाई पनि ध्यानमा राखेका छन् । 

दुई देशको परम्परागत मैत्रीपूर्ण सम्बन्धले उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता बनाउन पनि सहयोग पु-याएको छ । यस सम्बन्धले कोरियाली प्रायद्वीपको आणविक समस्या समाधानका लागि वातावरण बनाउन निरन्तर भूमिका खेलेको छ । उत्तर कोरिया र अमेरिकाबीचका दुइटा सम्मेलन यसको उदाहरण हो । चीनले उत्तर कोरियाली नेतालाई यातायात र रेल्वे मार्ग उपलब्ध गराएको छ । दुई देशबीचको यो रणनीतिक विश्वास सधैँ कोरियाली प्रायद्वीपको विवाद समाधानमा सहयोगी सिद्ध हुने गरेको छ । बाहिरी विश्वले वेला–वेलामा उत्तर कोरिया र चीनबीचको सम्बन्ध र साझेदारीको गलत व्याख्या गर्ने गरेको छ । यस्तो व्याख्या केही हदसम्म सैद्धान्तिक एकपक्षीय तथा केही हदसम्म साँघुरो भूराजनीतिक दृष्टिकोणबाट प्रेरित छ । 

अमेरिका र दक्षिण कोरियाका केही कुलीन वर्ग चीन र उत्तर कोरियाबीच माथिल्लो स्तरमा संवाद हुँदा आत्तिने गरेका छन् । कोरियाली प्रायद्वीपको विवादमा चीन पनि सरोकारवाला पक्ष हो भन्ने आधारभूत तथ्यमा देखिएको गलत बुझाइका कारण यस्तो भएको हो । यसमा केही स्वार्थी भावनाले पनि काम गरेको छ । त्यस्ता व्यक्ति चाहन्छन्, कोरियाली महाद्वीपको आणविक समस्या समाधान खोज्न रोडम्याप तयार गर्ने क्रममा चीन सहभागी नहोस् । उनीहरू यो आशा गर्छन्, अमेरिकाको योजनामा चीनले पूर्ण सहकार्य गरोस् र त्यसलाई अगाडि बढाओस्, चीनले आफ्नो चाहनाविपरीतका योजनामा पनि यस्तो समर्थन गरोस् भन्ने उनीहरूको कामना हुन्छ । 

चीन र उत्तर कोरियाले द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र खुला गरेर मात्रै पुग्दैन, बरु कोरियाली प्रायद्वीपको आणविक समस्यालाई समाधान गर्न संयुक्त रूपमा काम गर्न जरुरी छ
 

त्यस्ता केही अमेरिकी पनि छन्, जो सधैँ शंका गर्छन् कि चीनले व्यापार युद्धका वेला उत्तर कोरियाको कार्ड खेल्न चाहेको छ । खासमा अतिवादी दृष्टिकोण राख्ने उनीहरू अरूलाई पनि आफ्नै अवस्थाबाट नियाल्छन् । चीन र उत्तर कोरियाबीचको मित्रता दुवै देशको दीर्घकालीन चाहनाअनुसार निर्माण भएको हो । यो कुनै एक समस्या समाधानको हिसाब निकाल्न तयार भएको होइन । 

समग्रमा कोरियाली प्रायद्वीपको समस्या समाधान चुनौतीपूर्ण छ र अन्तर्राष्ट्रिय वातावरण निरन्तर कठिन बन्दै छ । सीमित व्यक्तिले यसैसँग जोडेर उत्तर कोरिया र चीनको सहकार्यको आलोचना पनि गर्ने गरेका छन् । यी घटनालाई सम्बोधन गर्नु दुवै देशका लागि ठूलो विषय हो, तर आजको आवश्यकता पनि हो । चीन र उत्तर कोरियाले द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र खुला गरेर मात्रै पुग्दैन, बरु कोरियाली प्रायद्वीपको आणविक समस्यालाई समाधान गर्न संयुक्त रूपमा काम गर्न जरुरी छ, जसले सम्बन्धलाई थप फैलाउन सकोस् । 
(ग्लोबल टाइम्सको सम्पादकीयबाट)