मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार ५ बिहीबार १६:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बजेटको विरोधमा संसद भवन अगाडि प्रतिपक्षीले जलाए रातो किताब

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार १६:३२:००

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विरोध गर्दै प्रदेश सभामा प्रतिपक्षी दलहरुले बजेटका योजना समावेश गरिएको रातो किताब जलाएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरुले प्रदेश सभा भवनको गेटमा रातो किताब जलाएका हुन् । रातो किताब जलाएर सांसदहरुले बजेट र सरकारको विरोधमा केही समय नाराबाजी समेत गरेका थिए । 

त्यसअघि प्रतिपक्षीले संसद बैठकमा पनि बजेटको विरोध जनाएका थिए । दिउँसो ३ बजे सभामुख अर्जुनबहादुर थापाले संसद बैठक सुरु भएको जानकारी गराए लगत्तै टेबुल ठोक्दै आआफ्नो सिटबाट उठेर प्रतिपक्षी सांसदहरुले मौन विरोध जनाएका थिए ।

सभामुखले विरोधको कारणबारे धारणा राख्न एक जनालाई समय दिएपछि कांग्रेस सांसद भरतबहादुर खड्काले पहुँचका आधारमा बजेट निर्माण गरिएकोले विरोध जनाउनु परेको उल्लेख गरे । सांसदलाई मात्र नभइ सिङ्गो सदनलाई अपमान गरेर बजेट ल्याइएको खड्काले आरोप लगाए ।

‘२–४ जना पहुँचवालाले ल्याएका योजनाका आधारमा बजेट निर्माण गरिएको छ ।’ खड्काले भने, ‘सांसदले दिएको सुझाव समावेश गरेर र योजना नखुलाइएको बजेटको ब्रेक डाउन गरेर ल्याएमात्रै संसद चल्न दिन्छौं ।’ खड्काको भनाईपछि सांसदहरुले उठेर मौन विरोध जारी राखेका थिए ।

आफ्नो सिटमा बस्न पटकपटक आह्वान गर्दा पनि विपक्षी सांसदहरुले अस्विकार गरेपछि सभामुखले ८ असारसम्म संसद बैठक स्थगित भएको घोषणा गरे । 

रातो किताब जलाएपछि प्रतिक्रिया दिँदै कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बजेट संशोधन नभएसम्म सदन चल्न नदिइने बताए ।