मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ५ बिहीबार १३:३०:००
Read Time : > 1 मिनेट
समाचार

मन्त्रिपरिषद छिट्टै हेरफेर हुन्छ : प्रचण्ड

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार १३:३०:००

नेपाल  कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा छिट्टै हेरफेर हुने बताएका छन् । प्रेस संगठन कास्कीले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मन्त्रिपरिषदमा केही हेरफेर गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको बताए । तर उनले कहिले  को को फेरिने भन्ने नितान्त प्रधानमन्त्रीको विषय रहेको बताए । 

‘मोटामोटी नीति कार्यक्रम र बजेटपछि मन्त्रीहरु हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेकै छ,’ उनले भने, ‘यो नितान्त प्रधानमन्त्रीसँग निहित र उहाँको अधिकारको विषय हो ।’ 

सरकार आलोपालोमा चलाउने  सार्वजनिक गरेको भनेर गलतढंगले प्रचार भएको उनले बताए । पहिले जे सहमति भएको भएपनि ५ वर्षसम्म यही सरकारले निरन्तरता पाउने उनले प्रष्ट पारेका छन् । ‘हिजो जे सहमति भएपनि यही सरकारले पाँच वर्षसम्म निरन्तरता पाउँछ,’ उनले भने, ‘यसमा कुनै दुविधा राख्नुपर्ने जरुरी छैन, अन्य सबैकुरा पार्टी एकताको स्पिरिट, सहमति र जनादेशले दिएको निर्देशन बमोजिम हुन्छ ।’

जन असन्तुष्टि देखेरै गुठी विधेयक फिर्ता 
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले गुठीलगायतका केही विधेयकमा जनअसन्तुष्टि देखेर नै सरकारले विधेयक फिर्ता लिएको बताए । विधेयक फिर्ता लिएपछि जनताको कुरा सुन्ने सरकार रहेको पुष्टि भएको उनले दावी गरे । यद्यपी गुठी व्यवस्थापन गरिनुपर्ने कुरामा भने उनले जोड दिए । काठमाडौं उपत्यका र उपत्यका बाहिरका गुठी एउटै प्रकृतिका नरहेको उनको टिप्पणी छ । उनले विधेयकबारे सबैलाई समयमै बुझाउन नसक्नु र विधेयक निर्माणका क्रममा सरोकारवालासँग परामर्श नभएका कारण अनेक ढंगले चर्चा भएको उनको भनाई छ । छलफल नहुँदा सरकारले ल्याएको विधेयकका विषयमा पार्टीका नेता र सरोकारवालाले समेत अपनत्व लिन नपाएको उनले खुलाए  ।

सोचे अनुरुप सुशासन कायम भएन 
जनताको जनजिविका सहज बनाउने र सुशासन कायम गर्ने सवालमा सरकारले अपेक्षित परिणाम दिन नसकेको उनले प्रष्टाए । ‘मुल रुपमा पार्टी एकताको स्पिरिट र लक्ष्य अनुरुप नै काम भएको छ,’ उनले भने, ‘तर जनजिविका सहज बनाउने र सुशासन कायम गर्ने सन्दर्भमा सोचे अनुरुप काम हुन नसकेको भन्ने जनताको गुनासो सुनियो ।’

पार्टी एकताका सबै कामले अव पूर्णता पाउँछन्
अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा भएका सहमति र त्यसबेला गरेका प्रतिवद्धतामा कसैलाई पनि दयाँबायाँ गर्ने छुट नभएको बताए ।  कम्युनिष्ट पार्टीको एकतालाई जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्पबाट दायाँबायाँ गर्न नमिल्ने उनको प्रष्टोक्ति छ । 

अध्यक्ष प्रचण्डले आव पार्टी एकताका सबै प्रक्रियाले पूर्णता पाउने धारणा राखे । दुई तिहाई नजिक जनमत प्राप्त पार्टी र दुई तिहाई मत बोकेको सरकारको नेतृत्व गरेको पार्टी एकता प्रक्रियामा भएको अलमलको असर सरकारमा पर्ने तर्फ आफू सचेत रहेको उनले सुनाए । ‘स्वभाविक पार्टी एकताको प्रभाव सरकारमा पर्छ नै, कतिपय सवालमा यो देखिएको पनि छ, उनले भने ‘अव छिट्टै एकता प्रक्रियाले पूर्णता पाउँछ । ’