मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ मङ्सिर २९ शनिबार १०:२४:००
Read Time : < 1 मिनेट
समाचार

घ्याङफेदी दुर्घटना : मृतकको सङ्ख्या २० पुग्यो [अपडेट]

Read Time : < 1 मिनेट
रासस
२०७५ मङ्सिर २९ शनिबार १०:२४:००

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ । 

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जनाको मृत्यु भएको थियो । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु रहेका छन् ।  

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान खुलेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौँमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । 

घाइतेलाई अस्पताल पुर्याउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिएपनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेको उनले बताए । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ । 

मिनीट्रकमा ४० भन्दा बढी यात्रु चढेका थिए । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीय प्रेम स्याङताङले जानकारी दिए । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल तादी खोलामा खसेको थियो ।