मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राज सरगम  काठमाडाैं
२०७६ असार ४ बुधबार ०८:४०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मलाई ५ पुस्तक मनपर्छ : मोमिला जोशी

पुस्तक वार्ता

Read Time : > 1 मिनेट
राज सरगम  काठमाडाैं
२०७६ असार ४ बुधबार ०८:४०:००

पुस्तक : दस स्पेक जराथुस्त्र
लेखक : फेडेरिक नित्से
विधा : दर्शन
मनपर्ने कारण :मलाई पुस्तक पढिसकेपछि त्यसैमा हराइरहन पाउँदा आनन्द लाग्छ । त्यसैले होला, दर्शन मेरो प्रिय विषय हो । अस्तित्वप्रेमीहरूका लागि आकर्षक र सुन्दर शैलीमा रचिएको मानवजीवनको उत्कृष्ट कर्मवादी दर्शनको पुस्तक दस स्पेक जराथुस्त्र हो भन्ने लाग्छ ।
 
पुस्तक : द प्रोफेट
लेखक : खलिल जिब्रान
विधा : ललित निबन्ध 
मनपर्ने कारण : ललित निबन्ध मलाई मनपर्ने विधा हो । यसमा धर्म, पाप, प्रेम, विवाह, खुसी, मृत्यु, मित्रता, सौन्दर्य, उज्यालो, अँध्यारोजस्ता जीवनका अत्यन्त सूक्ष्म संवेदनाको सुरुचिपूर्ण सार्वभौम विन्यास भेटिन्छ । हुन त यो पुस्तक एकप्रकारले पश्चिमा शास्त्रीय अभिव्यक्ति हो । यद्यपि, यो पढ्दा मानवीय पात्रताको बोधले अपनत्वको महसुस गराउँछ, त्यसैले प्रिय लाग्छ ।

पुस्तक : श्रीमद्भगवद् गीता 
लेखक : महर्षि वेदव्यास
विधा : शास्त्र
मनपर्ने कारण : गीताशास्त्र वास्तवमै मानव जीवन जिउनका लागि अत्यावश्यक विशिष्ट शास्त्रजस्तो लाग्छ । जति पढे पनि अभैm पढ्न र बुझ्न बाँकी ज्ञानको महासागरजस्तो । अनि फेरि पनि पढूँ लाग्ने । खासमा श्रीमद्भगवद् गीतालाई पूर्वीय जीवनदर्शनको आदर्श अर्थात् आध्यात्मिक ज्ञानको व्यावहारिक अभिव्यक्ति भने पनि हुन्छ, त्यो पनि काव्यिक शैलीमा । गीताको कर्मदर्शन मलाई आकर्षित गर्ने साहित्यिक दर्शन अस्त्विवादको गुढ प्रस्तुति हो । यसका आधारमा भन्दा अस्तित्ववाद पश्चिमको नभएर पूर्वकै देन मान्नुपर्ने हुन्छ ।

पुस्तक : लक्ष्मी निबन्धसंग्रह
लेखक : महाकवि लक्ष्मीप्रसाद देवकोटा
विधा : ललित निबन्ध
मनपर्ने कारण : लक्ष्मी निबन्धसंग्रह अत्यन्त उत्कृष्ट अभिव्यक्ति शैली र गहन चिन्तन शैलीमा संरचित विश्वस्तरको नेपाली ललित निबन्धकृति हो । हृदयविलास र बुद्धिविलास दुवैका लागि उत्तिकै उपयुक्त कृति । जति पढे पनि संरचना र सार दुवै दृष्टिले उत्कृष्ट छ । 

पुस्तक : माधवी
लेखक : मदनमणि दीक्षित
विधा : उपन्यास
मनपर्ने कारण : आफ्नै किसिमको प्रेमशास्त्रमा आधारित उपन्यास । पूर्वीय वैदिक सभ्यताको अत्यन्त सुन्दर विन्यास भएको कृति । तर्कपूर्ण विचार र सुललित एवं सुन्दर शैलीको संयोजन भएको गहन कृति । सत्यमा यो कृतिलाई नेपाली साहित्यकै विशिष्ट गरिमा भन्न सहिन्छ ।