मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्कन लागेका नेपाली कामदारलाई सुन पठाउन कुरिरहेका सुन तस्कर समूहका नेपाली युवा । तस्बिर : दीपक अधिकारी/नयाँ पत्रिका
दीपक अधिकारी दोहा (कतार)
२०७६ असार ४ बुधबार ११:१४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलाई सुन तस्करले बनाए अखडा (भिडियोसहित)

स्वदेश फर्कने नेपाली कामदारमार्फत् सुन तस्करी

Read Time : > 3 मिनेट
दीपक अधिकारी, दोहा (कतार)
२०७६ असार ४ बुधबार ११:१४:००

सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।  वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ । त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् । 

बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पु-याएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ६ हजार रुपैयाँ नगद दिने, काठमाडौंको रातोपुलस्थित जनक होटेलमा खान–बस्नको व्यवस्था हुने र घरसम्म पुग्ने गाडीका लागि टिकटसमेत व्यवस्था गरिदिने प्रस्ताव उनीहरूले गर्ने गरेका छन् । 

दोहाबाट फर्कने क्रममा नयाँ पत्रिकाकर्मीलाई पनि विमानस्थलभित्र उनीहरूले त्यस्तो प्रस्ताव गरेका थिए । चितवन घर बताउने विश्वास लामा, सिर्जन थापा मगर र सिरहा घर बताउने (नाम नखुलेका) व्यक्तिले त्यस्तो प्रस्ताव गरेका थिए ।  विमानस्थलभित्रै करिब आधा दर्जन संख्यामा तस्करहरू परिचालित थिए । बोर्डिङ पास बनाउन लाइन बस्न जान लागेकालाई बोलाएर पालैपालो डिल गरिरहेको देखिन्थ्यो । सुन बोकेर जान प्रस्ताव आएपछि त्यसक्रममा भएका सम्पूर्ण कुराकानीको नयाँ पत्रिकाकर्मीले गोप्य रूपमा भिडियो रेकर्डिङ गरेका छन् । 

 

तस्कर समूहको प्रश्न– सुन लिएर फर्कंंदै हुनुहुन्छ कि रित्तै ?
स्थान : हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहा कतार
समय : मध्यरात १२ बजे

दृश्य १
कतारको दोहाबाट विभिन्न एयरलाइन्स हुँदै काठमाडौं फर्कने नेपाली हमाद अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्दै छन् । विमानस्थलभित्र पुगेपछि बोर्डिङ पास बनाउने लाइनको ठीक सामुन्ने करिब आधा दर्जन नेपाली युवाको एक समूह देखिन्छ । उनीहरू स्वदेश फर्कन लागेका हरेकजसो नेपालीसँग सोधखोज गरिरहेका देखिन्छन् ।  खासमा उनीहरूको सोधीखोजी ‘सुन ओसारपसार’सँग जोडिएको रहेछ । बोर्डिङ पास लिन लाइन बस्ने क्रममा उनीहरूमध्येका एजननाले नजिकै आएर भने, ‘सुन लिएर फर्कंदै हुनुहुन्छ कि रित्तै ?’

३३ किलो सुन काण्ड, गोरे प्रकरण, क्विन्टलका क्विन्टल सुन तस्करीजस्ता समाचार पढ्दा–पढ्दा अभ्यस्त भइसके पनि विमानस्थलभित्र अपरिचित व्यक्तिबाट आएको यस्तो जिज्ञासा अनपेक्षित नै थियो । ‘सुन बोकिएको छैन ।’ जवाफ दिन नभ्याउँदै ती व्यक्तिले भने, ‘एकछिन् यता आउनुस् न ।’ किन ? तिनले अर्को प्रश्नको पनि उत्तिकै चाँडै उत्तर दिए, ‘फाइदा हुने कुरा छ । हाम्रो सुन काठमाडौं लगिदिनुस्, पैसा दिन्छौँ । काठमाडौंमा खान बस्न र घरसम्म पुग्न टिकटको पनि व्यवस्था गरिदिन्छौँ ।’ 

‘तपाईंहरू कतिजना हुनुहुन्छ ? कति सुन लैजानुपर्ने हो ?’ नेपालीहरूसँग कुराकानी गरिरहेका अरू युवालाई देखाउँदै उनले भने, ‘५/६ जना छौँ । सरकारले तोकेको ५० ग्राम सुन लैजाने हो ।’ उनले यति भनिसकेपछि विमानस्थलभित्रै पसेर सुन ओसारपसारमा संलग्न उनीहरूबारे थप जानकारी हासिल गर्ने सोचसहित हुन्छ कुराकानी गरौँ । चित्तबुझे लगौँला भन्दै लाइनबाट हटियो । पहिलो चरणमा उनीहरूसँग उभिएरै कुराकानी भयो । त्यतिन्जेलसम्ममा उनीहरूले थाहा नपाउने गरी मोबाइलमा भिडियो रेकर्ड सुरु भइसकेको थियो । 

तपाईंसँग बाला छैन भने हाम्रो लिएर जानुस्

दृश्य २
अन्दाजी ३०–३२ वर्षका देखिने ती युवाले आफ्नो नाम ‘विश्वास लामा’ बताए । घर चितवनको रत्ननगर नगरपालिका बकुलर चोकदेखि माथि जानुपर्छ, नयाँ बस्ती हो । धादिङको गजुरीबाट ६–७ वर्षअघि चितवन बसाइँ सरेको उनको भनाइ थियो । यदि तपाइँहरूसँग सुनको बाला छैन भने हाम्रो लिएर जानुस् । बकाइदा तपाईंको नाममा बिल बनाइदिन्छौँ । लुकाउनु, छुपाउनु पर्दैन । 

त्यसरी लैजाँदा पुलिसले समाउँदैन ? 
समायो भने देखाइदिने । छैन होइन, मसँग छ, मैले किनेर ल्याएको हो भन्ने । एअरपोर्टबाहिर पुगेपछि हाम्रो मान्छेलाई मोबाइल फोन सम्पर्क गरेर बुझाइदिने । पैसा पाइन्छ । हाम्रै मान्छेको होटेलमा जानुहुन्छ भने पहिला होटेल जानुस् । कोठा लिनुस् । फ्रेस हुनुस् । अनि फोन गर्नुस् ।

तपाईंहरूको होटेल कहाँ छ ?
गौशाला रातोपुलमा छ । नाम ‘जनक होटेल’ हो । धेरै पहिले स्थापना भएको, तर मोडिफाइड छ, सुविधासम्पन्न छ, राम्रो छ । तपाईंहरूलाई खान बस्नको सुविधा हुन्छ । एक रात बस्न पनि फ्री गरिदिन्छु । 

कतिवटा बाला लैजानुपर्ने ?
तपाईंहरू जतिजना हुनुहुन्छ । सबैले एउटा–एउटा लैजानुस् । त्योभन्दा बढी लैजाँदा अप्ठ्यारो हुन्छ । एउटा बाला पचास ग्रामको छ । ५० ग्राम सुन लैजान सरकारले नै फ्री गरेको छ । ५० ग्राम सुन बोकेर जाने यात्रुलाई एअरपोर्टमा पक्राउ गर्दैन ।  

हामीले लैजाने सुन लिन को आउँछ ?
हामी फोन नम्बर दिन्छौँ । एअरपोर्ट पुगेपछि त्यसमा फोन गर्नुस् तपाईंहरूले जहाँ भन्यो त्यहीँ लिन आउँछ । धेरै समय लाग्दैन । कुरी राख्नुपर्दैन । 

काठमाडौंमा रिसिभ गर्नेले हामीलाई कसरी चिन्छ नि ?
हामी तपाईंको फोन नम्बर, पासपोर्टको फोटो र तपाईंको फोटो खिचेर पठाउँछौँ । 

तपाईंहरू जसलाई पनि सुनको बाला पठाउनुहुन्छ ?
दोहाबाट काठमाडौं जाने सयमध्ये ९० जनाले लिएरै गएको हुन्छ । विशेषगरी, कामदारका रूपमा आउनेहरूलाई हामी पठाउँछौँ ।  

सुन कहाँ किनेको भन्ने प्रमाण खोजी हुँदैन ?
बालासँगै हामी बिल पनि दिन्छौँ । 

बिलमा हाम्रो नाम कसरी हुन्छ ?
बिलमा सबै कुरा भरेको हुन्छ । नाम खाली राखेको हुन्छ । कुरा मिलिसकेपछि हामी यहीँ तपाईंहरूको नाम बिलमा भर्छौं र बिल दिन्छौँ । 

त्यसो भए नक्कली बिल होला ?
होइन, सक्कली बिल हो । नाम मात्र भरेको हुँदैन । पसलबाट छाप लगाएरै ल्याएको बिल हो ।

बिल कहाँ छ, देखाउन सक्नुहुन्छ ?
‘सुनको बाला राखिएको प्लास्टिकको सानो प्याकेटबाट बिल निकालेर देखाउँदै) बिल यही हो । नाम खाली छ । अरू सबै भरेको छ । खालि ठाउँमा लैजाने मान्छेको नाम लेख्ने हो । 

एउटै सुन पसलको बिल सबैले देखाउँदा शंका गर्दैन ?
गर्दैन । एउटै पसलबाट ल्याएको भन्न मिल्छ । सबैले किनेर ल्याएको हो भन्नुपर्छ । हामीले धेरैजनालाई पठाइसकेका छौँ । अहिलेसम्म कसैलाई पक्रेको छैन । 

तपाईंहरूले ५० ग्राम मात्रै पठाउने हो कि धेरै–धेरै पनि पठाउनुहुन्छ ?
लैजान त २५ तोला पनि पाइन्छ । तर, भन्सार तिर्नुपर्छ । त्यसमा फाइदा हुँदैन । ५० ग्राम लैजाँदा भन्सार तिर्नु नपर्ने हुनाले हामीलाई फाइदा हुन्छ । त्यसैले धेरै पठाउँदैनौँ ।

जेल परे हामी छुटाइहाल्छौँ नि 

दृश्य ३
बोर्डिङ पासका लागि ढिला हुँदै थियो । उनीहरूसँगको कुरा टुंग्याएर हामी जान खोज्दै थियौँ । समूहका अर्का सदस्यले जोडले बोलाए । कहाँ जान लाग्नुभा ? आउनुस् न । गाउँले मान्छे भएर यसरी फ्याट्ट चिप्लिन मिल्छ । १ः१५ को फ्लाइट हो । अहिले १२ः१५ भयो । पछि गएपछि सरासर जान पनि पाइन्छ । आउनुस् । हतार भएको छैन । नडराई लिएर जानुस्, तपाईंहरूलाई केही भयो भने म यो कामै छाडिदिन्छु । 

तपाईंले काम छाडेर के गर्नु ? हाम्रो त जिन्दगी जेलमा बित्छ नि ?
तपाईंको जिन्दगी कसरी जेलमा बित्छ ? हामी छैनौँ । 

तपाईंले छुटाउनुहुन्छ ?
मेरो सामान लगिदिने तपाईं अनि मैले नछुटाए कसले  छुटाउँछ ? यदि लैजानु हुन्न भने पनि केही छैन । प्लेनभित्र पुगेपछि पछुताउनुहुन्छ । त्यहाँ अधिकांशका हातमा सुनका बाला देख्नुहुन्छ । तपाईंहरूले नलगे अरूले लैजान्छन् । हिजो हिमालय एअरको फ्लाइट भएन । हिजो रोकिएकाहरू अहिले होटेलबाट हिँड्न लागेका छन् । अहिले राति २ः३० मा उनीहरूको फ्लाइट छ । कुरा भइसकेको छ । उनीहरूले पनि लैजान्छन् ।  अन्तिमतिर उनले भनेका थिए, प्लेनभित्र अधिकांशका हातमा सुनका बाला देख्नुहुन्छ । अधिकांशका हातमा त के थिए थाहा भएन, वैदेशिक रोजगारबाट फर्किएकाजस्ता देखिने दर्जनभन्दा बढी युवाका हातमा पहेँला बाला झुलिरहेका थिए ।