मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
राफेल आर लोरिस
Invalid date format १o:२५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ब्राजिलमा ट्रम्पको कर नीति आर्थिकभन्दा वैचारिक

Read Time : > 3 मिनेट
राफेल आर लोरिस
नयाँ पत्रिका
Invalid date format १o:२५:oo
  • उच्च शुल्क लगाउने ट्रम्पको घोषणापछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अमेरिकी कदमको डटेर सामना गर्ने र उचित बदला लिने चेतावनी दिएका छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ९ मा अमेरिका भित्रिने ब्राजिलका सामानमा ५० प्रतिशत भन्सार कर लाग्ने घोषणा गरे । अन्य देशका नेताले जस्तै ब्राजिलियन राजनीतिज्ञले पनि ट्रम्पको नयाँ भन्सार दर पर्खिरहेका थिए । तर, दुई राष्ट्रबिच व्यापार वार्ता चलिरहेको समयमा भएको यस घोषणाले ब्राजिलका अधिकारीलाई अलमल्लमा पार्‍यो ।

ट्रम्पको घोषणापछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अमेरिकी कर साँच्चै लागू भएमा आफूहरूले पनि त्यस्तै प्रतिक्रिया दिने जवाफ दिए । ट्रम्पको घोषणापछाडिको कारण र समयबारे धेरै अनुमान भइरहेको छ । केही विश्लेषकले उदीयमान अर्थतन्त्रको समूह ‘ब्रिक्स’ राष्ट्रहरूको हालैको बैठक ब्राजिलमा हुनुलाई औँल्याएका छन् । त्यस समूहप्रति ट्रम्पले पहिलेदेखि आक्रोश व्यक्त गर्दै आएका छन् । अरूले भने ब्राजिलबाट सस्ता उत्पादनको अमेरिकामा निर्यात बढेकाले अमेरिकी उद्योगको रक्षा गर्न ट्रम्पले एक सुरक्षात्मक उपाय अपनाएको दावी गरेका छन् ।

तथापि, यस कदमपछाडिको स्पष्ट कारण ट्रम्प आफैँले खुलाए । राष्ट्रपति लुलालाई लेखेको पत्रमा ट्रम्पले ब्राजिलसँगको आफ्नो मुख्य गुनासो वास्तवमा पूर्वराष्ट्रपति जैर बोल्सोनारोमाथि त्यहाँको सर्वोच्च अदालतमा चलिरहेको मुद्दा भएको बताएका छन् । उग्र दक्षिणपन्थी बोल्सोनारोलाई सन् २०२२ को अक्टोबरमा सम्पन्न राष्ट्रपतीय चुनावको नतिजालाई उल्ट्याउन खोजेको आरोप छ ।

लोकतान्त्रिक संस्था र कानुनी शासनविरुद्ध जनवरी २०२३ मा विद्रोहको प्रयास गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ । दोषी ठहरिएमा बोल्सोनारो र उनका केही निकटतम सहयोगीले लामो जेल सजाय भोग्नुपर्ने हुन्छ । बोल्सोनारोलाई कतिपयले ब्राजिलका डोनाल्ड ट्रम्प भन्ने गरेका छन् ।

ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको इतिहास
ट्रम्पको पत्रमा उल्लेख गरिएको एक मात्र आर्थिक कारणमा अमेरिकाले ब्राजिलसँग व्यापार घाटा व्यहोर्नुपरेको भनिएको छ । तर, तथ्यका आधारमा ट्रम्पको यो दाबी झुटो ठहरिन्छ । लगभग दुई दशकदेखि ब्राजिलसँगको व्यापारमा अमेरिकाले निरन्तर नाफा हासिल गरिरहेको छ । ब्राजिलमाथिको उच्च कर घोषणाबारे अमेरिकी राष्ट्रपति स्वयंले भन्दा पनि राम्ररी ट्रम्प र बोल्सोनारोबिच सम्बन्धका सूत्रधार तथा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्याननले बताए । ब्राजिलको प्रमुख अनलाइन पोर्टल ‘युओल’लाई दिएको अन्तर्वार्तामा ब्याननले भने, ‘मुद्दा फिर्ता लिनुस्, हामी भारी भन्सार शुल्क हटाउनेछौँ ।’

अमेरिका–ल्याटिन अमेरिकी सम्बन्धको इतिहास हेर्ने हो भने वासिंटनले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पटक–पटक हस्तक्षेप गरेको देखिन्छ । 

विशेषगरी, शीतयुद्धको समयमा धेरै अमेरिकी नीति–निर्माताले दक्षिणपन्थी सरकारको पक्षमा वा स्वतन्त्र रूपमा अघि बढ्न खोज्ने नेतालाई सरकारबाट हटाउन सक्रिय रूपमा हस्तक्षेप गरेका थिए । तथापि, ब्राजिलमाथिको उच्च कर घोषणा पहिलो घटना हो, जहाँ अमेरिकाले अर्को देशको सरकार प्रमुखलाई गम्भीर अपराधको आरोप लागेका व्यक्तिविरुद्धको अनुसन्धान गर्न पाउने न्यायपालिकाको संवैधानिक भूमिकामाथि हस्तक्षेप गर्न दबाब दिइरहेको छ ।

ट्रम्प–बोल्सोनारोबिच पारस्परिक प्रशंसा
नि:सन्देह, बोल्सोनारोका लागि ट्रम्पको खुला समर्थन नयाँ वा अनौठो भने होइन । दुई नेताबिचको पारस्परिक प्रशंसा र वैचारिक आत्मीयताको सम्बन्ध सन् २०१८ मा बोल्सोनारोको चुनावी अभियानदेखि सुरु भएको थियो । त्यसपछिका दुई वर्ष (सन् २०१९–२०००) जब दुवै आआफ्ना देशको शासनसत्तामा थिए । दुवै नेताले विशेष आपसी सम्बन्ध रहेको बताइरहे । तथापि, उक्त अवधिमा कुनै महŒवपूर्ण द्विपक्षीय सम्झौता भने भएनन् ।

ट्रम्प र बोल्सोनारो दुवै पहिलो कार्यकालपछि लगत्तै दोस्रो कार्यकाल प्राप्त गर्न असफल भए । त्यस क्रममा दुवैले शक्तिको शान्तिपूर्ण हस्तान्तरणको अभ्यासलाई उल्ट्याउने प्रयाससमेत गरे, जसका लागि दुवै नेताले आफ्ना समर्थकलाई उचालेका थिए । अहिले चार वर्षको अन्तरालपछि ट्रम्प फेरि सत्तामा फर्किएको अवस्थामा बोल्सोनारोले अमेरिकी राष्ट्रपतिबाट सहयोगको आशा राखेका छन् ।

यस क्रममा बोल्सोनारोका तेस्रा छोरा तथा ब्राजिलको तल्लो सदनका सदस्य एड्आर्डो बोल्सोनारोले संसद् सदस्यबाट राजीनामा दिएर यसै वर्षको सुरुदेखि अमेरिका बस्न थालेका छन् । त्यहाँ उनले ‘लुला वामपन्थी तानाशाह’ भएको, आफ्ना पिताले राजनीतिक रूपमा प्रेरित मुद्दाको सामना गर्नुपरेकोजस्ता भ्रामक तर्क गरेर राजनीतिक समर्थन हासिल गर्ने प्रयास गरिरहेका छन् । ट्रम्पद्वारा उच्च भन्सार दर घोषणा र त्यसका लागि उनले दिएका कारण ख्याल गर्दा एडुआर्डोको प्रयासले काम गरेको अनुमान गर्न सकिन्छ ।

कुन दिशामा जाला ब्राजिल ?
अमेरिकाजस्तै, ब्राजिलको राजनीति पनि वामपन्थी र दक्षिणपन्थी समूहबिच गहिरो रूपमा ध्रुवीकृत छ । त्यसैले ट्रम्पको घोषणाप्रति स्थानीय प्रतिक्रिया वैचारिक आधारमा भिन्न हुनु कुनै आश्चर्यको कुरा रहेन । आफ्ना नेताको कानुनी कठिनाइका बाबजुद बोल्सोनारोका समर्थक राजनीति, मिडिया र कृषि व्यवसाय क्षेत्रमा निकै प्रभावशाली छन् । ब्राजिलले जस्तालाई त्यस्तै जवाफ दिनेछ भन्ने लुलाको प्रारम्भिक घोषणा उनका समर्थकमाझ सकारात्मक देखिँदा विपक्षी र कैयौँ मिडियाले ट्रम्प प्रशासनसँग सम्झौता गर्न नसकेकोमा लुलाको आलोचना गरे ।

साउ पाउलोको शक्तिशाली ठुला उद्योगपति ट्रम्पको नयाँ शुल्कबाट प्रभावित हुने सुरुवाती समूह हुनेछन् । त्यहाँ बोल्सोनारोका शक्तिशाली मित्र टार्सिसियो डे फ्रेटास गभर्नर छन् । तर, ट्रम्पको भन्सारको पीडा सम्भवत: ग्रामीण इलाकासहित अन्य गतिविधिमा फैलिनेछ । देशको कृषि निर्यातको ठुलो हिस्सा अमेरिकामा नभई चीनमा जान्छ । यस परिपे्रक्ष्यमा भोलि देशका शक्तिशाली निर्यातकर्ताले व्यावहारिक बनेर लुलासँग सहकार्य गरी अमेरिका जाने उत्पादन चीन र अन्य देशतर्फ स्थानान्तरण गर्छन् वा वैचारिक रूपमा आफू घाटा खाएर पनि ट्रम्पसँगको स्थायी साझेदारीलाई समर्थन जारी राख्नेछन् हेर्न बाँकी छ ।

छलफल ब्राजिलको कूटनीतिको पहिचान रहँदै आएको छ । पछिल्लो तनावबिच लुलाले वार्ताप्रति इच्छा व्यक्त गरेका छन् । अब मुख्य ध्यान ट्रम्पको आगामी कदममा निर्भर रहनेछ । ल्याटिन अमेरिकामा ट्रम्पको कदम तर्क र तथ्याकंका आधारमा सञ्चालन हुनेछ वा वैचारिक आधारमा हस्तक्षेपकारी हुनेछ, त्यो भविष्यले देखाउला । यदि कसैले ट्रम्पको पछिल्लो पत्रलाई ध्यान दियो भने दोस्रो विकल्पको सम्भावना उच्च देखिन्छ ।

– द कन्भर्सेसनबाट