
नेपालमा पहिलोपटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय रूपमा मनाइने हेलोविन पर्वको अवसरमा अक्टोवर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए। उनका अनुसार नेपालमा यी विधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवमार्फत यस्ता विधाका चलचित्रहरूलाई देशमा प्रचारप्रसार गर्न लागेको हो।
नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (निफ)को सह–आयोजनामा महोत्सव हुन लागेको हो।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ। चलचित्रहरूको लागि आवेदन पनि खुला गरिएको पाठकको भनाइ छ।