
नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण प्राविधिक विषय रहेको बताएका छन्।
‘यो प्राविधिक कुरा हो, पहिले राजनीतिक कुरा टुंगिनुपर्छ। राजनीतिक कुरा टुंगियो भने प्राविधिक कुरा त्योअनुसार मिलाउँला, पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग उनले भने, ‘सदस्यता नवीकरण भएको थियो कि थिएन, अभिलेखमा छ कि छैन भन्ने कुरामा कुनै विवाद गर्न आवश्यक छैन।’
सदस्यता नवीकरणभन्दा पार्टी अध्यक्ष केपी ओली र भण्डारीबिचको सहमतिको विषय महत्त्वपूर्ण रहेको भट्टराईको धारणा छ। उनले भने, ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने, उहाँलाई सम्मानजनक भूमिका दिने भन्ने भयो भने आज नवीकरण भएको छैन भने पनि भोलि नवीकरण गर्न सकिन्छ। होइन, उहाँ फर्कन उचित छैन भन्ने उहाँहरूको संवादबाट टुंगियो, पार्टीले पनि छलफल गर्यो भने नवीकरण नै भएको रहेछ भने पनि त्यो निष्क्रिय हुन्छ होला।’