
भोटेकोशीको सहायक नदी ल्हेन्देको बाढीले बगाउँदा २४ असार राति अवरुद्ध भएको स्याफ्रुबेँसी–रसुवागढी सडक दुई सातापछि आइतबारबाट एकतर्फी सञ्चालनमा आएको छ।
बाढीपहिरोले करिब १२ सय मिटर सडक बगाउँदा टिमुरे र रसुवागढीबिच सम्पर्क टुटेको थियो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुँबेँसी– रसुवागढी सडकअन्तर्गतको १६ किलोमिटर स्याफ्रुबेँसी– रसुवागढी सडकखण्ड आइतबार अपराह्न ४ बजेबाट एकतर्फी तथा अस्थायी रूपमा सञ्चालनमा आएको हो।
‘साना गाडीसँगै यात्रुबाहक बस सञ्चालनमा आएका छन्। रसुवागढी र टिमुरेमा खाद्यान्नसहितको सप्लाइ चेन जोडिएको छ,’ सिडिओ पौडेलले भने, ‘वर्षा भइरहेकाले राति भने सडकमा गाडी गुडाउन रोक लगाएका छौँ।’ तर, हेबी गाडी भने गुडाउन रोक लगाइएको छ।
२६ असारदेखि मर्मत र बगेको सडकको ट्र्याक खोल्ने काम सुरु भएको थियो। लिङलिङ भिरमा पहिरोले बगाएको १२० मिटर सडक भित्तो काटेर आइतबार ट्र्याक खुलाएसँगै सडक सुचारु भएको हो। यादवका अनुसार यो सडक खण्डको १५ ठाउँमा ११ सय मिटर सडक क्षतविक्षत छ। सडक खुलाउन सडक विभाग, लाङटाङ भोटेकोशी जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ जलविद्युत् आयोजनासमेतका जेसिबी, एक्जाभेटर, ब्रेकरलगायतका हेभी इक्युपमेन्ट प्रयोग भएको थियो।