
हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
एक महिनाअघि भएको आक्रमणको अभियुक्त अझै पक्राउ नपरेपछि उनीहरू आक्रोशित बनेका हुन् । उपमहानगर प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि गत असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा आक्रमण भएको थियो । तर, यति समय बितिसक्दा पनि प्रहरी प्रशासनले आक्रमणकारीलाई पक्राउ गर्न सकेको छैन ।
यसको विरोधमा जनप्रतिनिधिहरूले आइतबारदेखि जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरमै सांकेतिक कार्यालय स्थापना गरेर प्रदर्शन सुरु गरेका छन् । उनीहरूले प्रशासनको निष्क्रियता र राजनीतिक संरक्षणप्रति गम्भीर आपत्ति जनाएका छन् ।
हेटौँडा उपमहानगरपालिका– १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले दिनदहाडै बजार क्षेत्रमा व्यवसायी कुटिए पनि, वडाध्यक्षमाथि आक्रमण भए पनि प्रहरी प्रशासनले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए ।
जिल्लाको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वराज खड्काको भूमिकामाथि चौतर्फी आलोचना भइरहेको छ । अध्यक्ष कोइरालाले आपराधिक घटनामा प्रहरीले ढिलासुस्ती गर्नु, दोषी उम्कन दिनु र घटनालाई हल्का रूपमा लिनु अत्यन्तै आपत्तिजनक रहेको बताए । उपमहानगरका जनप्रतिनिधिहरूले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलनलाई चरणबद्ध रूपमा थप सशक्त बनाउने चेतावनी पनि दिएका छन् ।