मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १o:२o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्जीवन बिमामा जोखिममा आधारित शुल्क तोक्ने तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२o:oo
  • जोखिम बढी हुनेले धेरै र जोखिम कम हुनेलाई सस्तो शुल्क, एउटै प्रकृतिका सम्पत्तिको बिमा गर्दा भूगोल, जिल्ला र प्रदेशअनुसार फरक–फरक शुल्क लाग्ने

नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमामा जोखिमका आधारमा बिमाशुल्क निर्धारण गर्ने नीति ल्याउन लागेको छ । प्राधिकरणले जोखिम बढी हुनेले धेरै र जोखिम कम हुनेलाई कम शुल्क तथा एउटै प्रकृतिका सम्पत्तिको बिमा गर्दा भूगोल, जिल्ला र प्रदेशअनुसार फरक–फरक शुल्क निर्धारण गर्ने नीति ल्याउने भएको हो । 

अहिले निर्जीवन बिमाको शुल्क निर्धारण गर्दा दाबी अनुपातलाई मुख्य आधार बनाइन्छ र फरक–फरक जोखिम हुँदा पनि सबै भूगोलमा एउटै दरमा बिमाशुल्क तोकिन्छ । तर, अब भने बिमा गरिने सम्बन्धित वस्तु तथा सम्पत्तिमा हुने जोखिमका आधारमा ग्राहकबाट शुल्क लिने नीति ल्याउन लागेको हो । त्यो अवस्थामा एउटै प्रकृतिको वस्तु तथा सम्पत्तिको बिमा गर्दा सम्भावित जोखिम र भूगोललगायतका आधारमा फरक–फरक शुल्क लाग्न सक्नेछ । अर्थात्, जोखिम धेरै हुने ठाउँमा उच्च र जोखिम कम हुने ठाउँमा सस्तो दरमा बिमा गरिनेछ । 

प्राधिकरणले आगामी आवको वार्षिक बिमा नीति तथा कार्यक्रममा यसबारे सम्भाव्यता अध्ययन गर्ने उल्लेख पनि गरेको छ । ‘जोखिममा आधारित बिमाशुल्क गणना गर्ने प्रणालीको सम्भाव्यता अध्ययन गर्ने,’ प्राधिकरणको वार्षिक बिमा नीति तथा कार्यक्रममा उल्लेख छ । करिब आठ दशकको नेपाली बिमा क्षेत्रको इतिहासमा पहिलोपटक जोखिमका आधारमा बिमाशुल्क गणना प्रणालीको विकास गर्न लागिएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले यो निर्जीवन बिमालाई लक्षित गरेर ल्याएको नीति भएको बताए । ‘जीवन बिमा अहिले पनि जोखिमअनुसार बिमाशुल्क लिन सक्ने ठाउँ छ । तर, निर्जीवन बिमामा यस्तो प्रणालीको विकास नै भएको छैन,’ उनले भने, ‘आगामी आवमा यसबारे अध्ययन गरेर उचित निष्कर्षमा पुग्नेछौँ ।’

बिमा गरिने एउटै प्रकतिका वस्तु तथा सम्पत्तिमा पनि भूगोल, हावापानी, वस्तु परिस्थितिका कारण सम्भावित जोखिम फरक–फरक हुन्छन । नेपालमा हिमाली, पहाडी र समथर (तराई) भूभाग छ । भौगोलिक विविधता भएको हाम्रो देशमा स्थानपिच्छे फरक–फरक जोखिम छन् । तर, अहिले नेपालमा एउटै प्रकृतिको वस्तु तथा सम्पत्तिको बिमा गर्दा देशैभर एउटै दरको शुल्क तोकिएको छ । 

सवारीसाधनतर्फ चालकको सिपले गर्दा जोखिम फरक–फरक हुन्छ । कतिपय सवारीचालकले सवारीसाधनलाई पटक–पटक दुर्घटना पारेका हुन्छन् । कतिपय चालकले सवारीसाधन दुर्घटनामा कम पारेका हुन्छन् । यस्तै, पहाडी क्षेत्रमा चल्ने सवारीसाधन र तराई क्षेत्रमा चल्ने सवारीसाधनमा फरक–फरक जोखिम हुन्छ । पक्की र कच्ची सडकमा कुद्ने सवारीसाधनबिच पनि फरक–फरक जोखिम हुन्छ । 

यसरी सम्भावित जोखिम नै फरक–फरक भएपछि बिमाशुल्क पनि सोहीअनुसार फरक–फरक लाग्नुपर्ने हो । तर, नेपालमा अझै पनि सबै ठाउँमा एउटै दरमा बिमा गरिन्छ । अब भने जोखिमके आधारमा मात्रै शुल्क निर्धारण गर्ने नीति ल्याउन खोजेको प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले बताए । 

‘अहिले नेपालको बिमाशुल्क प्रणाली असली जोखिममा आधारित छैन । विगतमा परेको दाबीका आधारमा बिमाशुल्क निर्धारण गरिन्छ । जोखिममा आधारित निर्धारणको हिस्सा कम छ,’ उनले भने, ‘बिमितले आफ्नो सम्पत्तिमा जोखिम जति हो, त्यहीअनुपातमा शुल्क तिर्ने गरी नयाँ प्रणालीको विकास गर्न यसबारे अध्ययन गर्न खोजेका हौँ ।’ 

यो नीति लागू भएमा एउटै प्रकृतिको सम्पत्तिको बिमा गर्दा भूगोल, जिल्ला, प्रदेशअनुसार फरक–फरक शुल्क लाग्न सक्नेछ । नदी–खोलाका किनारमा हुने घरको बिमा गर्दा शुल्क धेरै लाग्न सक्छ । अन्य सुरक्षित ठाउँमा भएका घरहरूको बिमा गर्दा शुल्क कम लाग्न सक्नेछ । काठमाडौं र पोखरा सहरमा हुने घरको बिमाशुल्क पनि फरक–फरक हुन सक्नेछ । कोशी प्रदेशमा भएका घर र कर्णाली प्रदेशमा भएका घरको बिमा गर्दा पनि फरक–फरक शुल्क लाग्न सक्नेछ । तराईमा गरिने माछापालन र पहाडमा गरिने माछापालनको बिमा गर्दा फरक–फरक शुल्क लाग्नेछ । मधेशमा गरिने कृषि खेती र कर्णालीमा गरिने कृषि खेतीको बिमा गर्दा पनि फरक–फरक शुल्क लाग्नेछ । 

नेपाल बिमक संघका निवर्तमान अध्यक्ष चंकी क्षेत्री यो नीति स्वागयोग्य भए पनि उत्तिकै चुनौतीपूर्ण हुने बताउँछन् । ‘नेपालजस्तो मुलुकमा यो लागू गर्न धेरै नै चुनौती छ । तसर्थ, यसमा सबैले मिलेर काम गर्नुपर्छ,’ उनले भने, ‘यसलाई कार्यान्वयन गर्न सकियो भने बिमितले जोखिमका आधारमा शुल्क तिर्छन् । उनीहरूलाई न्याय हुन्छ ।’

१८ निर्जीवन बिमा कम्पनी, ४० अर्बभन्दा बढीको कारोबार
हाल नेपालमा १४ निर्जीवन बिमा कम्पनी र चार लघु निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले वर्षमा ४० अर्ब रुपैयाँमाथिको बिमा कारोबार गर्दै आएका छन् । वर्षमा ३० लाख हाराहारीमा बिमा पोलिसी बिक्री गर्ने गर्छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरूले आव ०८०/८१ मा २९ लाख ७७ हजार एक सय १६ वटा पोलिसी बिक्री गरेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए । गत आव ०८१/८२ को ११ महिनामा ३९ लाख २६ हजार पाँच सय २९ वटा पोलिसी बिक्री गरेर ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।