
स्ट्राइकरद्वय मीना देउवा र पूर्णिमा राईले साफ यू–२० महिला च्याम्पियनसिपमा दोस्रो ह्याट्रिक पूरा गरेका छन् । शनिबार बंगलादेशको ढाकामा भएको आफ्नो पाँचौँ खेलमा नेपालले भुटानलाई ८–० ले हराउँदा दुवै खेलाडीले ह्याट्रिक गरेका हुन् । पूर्णिमाले पाँच खेलमा १० गोल गरेकी छिन् । भुटानविरुद्ध पहिलो खेलमा विश्राम पाएकी मीनाले त्यसपछिका चार खेलमा सात गोल गरिसकिन् । नेपालले गरेको ३० मध्ये १७ गोल यिनै खेलाडीको नाममा रहेको छ । समीक्षा मगर र कुसुम खतिवडाको नाममा समान तीन गोल रह्यो ।
यसअघि भुटानविरुद्ध ह्याट्रिक गरेकी पुर्णिमाले दोस्रो भेटमा पनि ह्याट्रिक पूरा गरेकी हुन् । पहिलो खेलमा पूर्णिमाले खेलको १८, ६३, ८४ र ८८औँ मिनेट गरी चार गोल गरेकी थिइन् । भुटानसँग दोस्रो भेटमा पूर्णिमाले खेलको २४, पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरेकी हुन् । त्यसबाहेक उनले श्रीलंकाविरुद्ध पहिलो भेटमा दुई तथा दोस्रो भेटमा एक गोल गरेकी हुन् ।
यता, मीनाले पहिलो खेलमा भुटानविरुद्ध विश्राम पाएकी थिइन् । दोस्रो भेटमा भने खेल सुरु भएको ४४ सेकेन्डमै गोल गर्न सफल भइन् । १२औँ मिनेटमा दोस्रो गोल गरेकी मीनाले ६५औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी हुन् । नेपाल पुलिसबाट घरेलु प्रतियोगिता खेलिरहेकी धनगढीकी मीनाले श्रीलंकाविरुद्धको खेलको आठौँ, ४२ र ७०औँ मिनेटमा गरी ह्याट्रिक पूरा गरेकी थिइन् । मीनाले दोस्रो ह्याट्रिकपछि निकै खुसी रहेको बताइन् । उनले अन्तिम खेलमा बंगलादेशलाई हराउने वाचा गरेकी छिन् । ‘भुटानसँग पहिलो खेल खेल्दा गोल निस्कियो । पहिलो खेलमा भुटानविरुद्ध खेलेकी थिइन्,’ मीनाले भनिन्, ‘जस्तोसुकै टिम होस् आगामी दिनमा हामी जित्नकै लागि खेल्छौँ । बंगलादेशविरुद्ध खेल्न उत्साहित छौँ । सबैले मिहिनेत गरेर नै हामीले जित्ने हो ।’
अब, नेपालले बंगलादेशसँग निर्णायक खेल मंगलबार खेल्नेछ । यो खेल जिते नेपाल प्रतियोगिताको च्याम्पियन बन्नेछ । बराबरीले पनि बंगलादेश च्याम्पियन बन्नेछ ।
पाँच खेलमा नेपालको ३० गोल
प्रतियोगितामा भारत र पाकिस्तान तथा माल्दिभ्स सहभागी नहुँदा नेपालसँगै भुटान, बंगलादेश र श्रीलंका सहभागी छन् । डबल राउन्ड रोबिन आधारमा आयोजना भइरहेको लिगमा नेपालले अब बंगलादेशसँग मात्रै खेल्न बाँकी छ । पाँच खेल खेल्दा नेपाल बंगलादेशसँगै पहिलो भेटमा ३–२ ले पराजित भएको थियो । नेपालले चार खेल जित्दा ३० गोल गरिसकेको छ । नेपालले मात्र चार गोल व्यहोरेको हो । नेपालको पक्षमा अझै २६ गोल रहेको छ ।
भुटानविरुद्ध सहज जित
स्ट्राइकरद्वय पूर्णिमा र मीना देउवा चम्किएपछि नेपालले भुटानविरुद्ध पाँचौँ खेलमा ८–० को जित निकाल्यो । ढाकास्थित ‘वसुन्धरा स्पोर्टस् ग्राउन्ड’मा दुई खेलाडीले ह्याट्रिक गर्दा समीक्षा मगर र कुसुम खतिवडाले समान एक गोल गरेका थिए । फराकिलो जितको लक्ष्यसहित मैदान उत्रिएको नेपालले उपाधि समीकरणबाट बाहिरिसकेको भुटानविरुद्ध ४४ सेकेन्डमै गोल गर्यो । डिफेन्डर सरिता नाथले पासलाई भुटानी डिफेन्डरले रोक्न सक्दैनन् । सोही बललाई मीनाले जाली चुमाएकी हुन् । यो नै प्रतियोगिताको सबैभन्दा कम समयमा गोल हुने कीर्तिमान बनेको छ ।
समीक्षाले नवौँ मिनेटमा अग्रतालाई दोब्बर बनाइएकी हुन् । १२औँ मिनेटमा मीनाले ३–० को अग्रता बनाएकी थिइन् । त्यसपछि २३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत पहिलो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गरेपछि पूर्णिमाले ह्याट्रिक पूरा गरेकी हुन् । ६३औँ मिनेटमा कुसुमले नेपाललाई ७–० को अग्रता दिलाएकी थिइन् । मीनाले दुई मिनेटपछि नै गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।