
सामाजिक सञ्जालबाट फोहोर फाल्नेको निगरानी सुरु गरेपछि विराटनगरमा सडक र सार्वजनिकस्थलमा जथाभावी फोहोर फाल्नेको संख्यामा कमी आउन थालेको छ । विराटनगर महानगरपालिकाले १० वर्षअघि नै फोहोरमैला व्यवस्थापन निर्देशिका जारी गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । तर, फेसबुकमा नामसहित फोहोर फालिरहेका व्यक्तिका तस्बिर सार्वजनिक गर्न थालेपछि रातबिरात सडकमा फोहोर फाल्नेको संख्या हराउँदै गएको हो ।
महानगरको फोहोरमैला व्यवस्थापन शाखाले सिसिटिभी फुटेज वा प्रत्यक्ष खिचिएका तस्बिरमार्फत फोहोर फाल्नेको नामसहित फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि सडकमा फोहोर फालेर हिँड्ने पुरानो चलन हराउँदै गएको छ । शाखा प्रमुख पुनम दाहालले निर्देशिकाअनुसार जरिवाना गर्दा मात्र कुनै सुधार नआएको बताए। ‘राति फोहोर फाल्नेहरू को हुन् भनेर पत्ता लगाउन गाह्रो भइरहन्थ्यो । तर, फेसबुक पेजमा नाम, अनुहार र ठेगानासहित फोटो र भिडियो सार्वजनिक गर्न थालेपछि मानिसहरू हच्किन थालेका छन् । हामीलाई कारबाही गर्न सहज भएको छ,’ उनले भने।
विराटनगरमा दैनिक करिब १०० टन फोहोर उत्पादन हुन्छ, जसमा ६० प्रतिशत अर्गानिक, २२ प्रतिशत प्लास्टिक, ७ प्रतिशत कागज, २ प्रतिशत कपडा, १.५ प्रतिशत सिसा, १.५ प्रतिशत छाला र ८ प्रतिशत अन्य फोहोर हुन्छ । तर, यसअघि ‘फोहोर उठाउने काम महानगरको हो’ भन्ने मानसिकताले सडक र नालामा फोहोर फाल्ने समस्या रहँदै आएको थियो । फोहोरमैला व्यवस्थापन शाखाका सुपरभाइजर किरण न्यौपानेका अनुसार सामाजिक सञ्जाललाई निगरानीको हतियार बनाएपछि सडकमा फोहोर फाल्न मान्छे हच्किएका छन् । महानगरले ०७८ मंसिरदेखि पाँच वर्षका लागि निजी साझेदारसँग मिलेर घरदैलोमै फोहोर संकलन गर्दै आएको छ ।
हाल २० हजार सात सय ७८ जना सदस्य छन्, जसका घर, पसल, व्यवसाय र मठमन्दिरबाट हप्तामा दुईपटक फोहोर उठाउने व्यवस्था छ । महानगरले फोहोर संकलनका सवारीसाधनमा जिपिएस जडान, अनलाइन भ्याट बिल तथा एसएमएस सेवा सञ्चालन गरेको छ । व्यवसाय दर्ताका लागि सफाइ कार्ड अनिवार्य गरिएको, भित्तेलेखन र माइकमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । रथयात्रा, चाडपर्वमा निस्किएको फोहोर तुरुन्त व्यवस्थापन गर्ने, बन्द नाला, कल्भर्ट र भूमिगत साइफन खोल्ने विशेष कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
फोहोरमैला व्यवस्थापनको चुनौती कायमै
फोहोर व्यवस्थापनका लागि ०८०/८१ मा एक करोड २५ लाख र ०८२/८३ मा एक करोड ६० लाख रुपैयाँ विनियोजन गरे पनि उपकरण र व्यवस्थित डम्पिङसाइट अभावले अझै समस्या समाधान हुन सकेको छैन । हाल ७६.९९ वर्ग किमि क्षेत्रफल र दुई लाख ५० हजार जनसंख्या भएको महानगरमा ४७ हजार सात सय ९८ घरधुरी छन् । पर्याप्त नगरप्रहरी नहुँदा राति फोहोर फाल्नेको निगरानीमा समस्या भइरहेको छ । नगर प्रहरीको आवश्यक संख्या करिब १०० जना भए पनि हाल १७ जना मात्रै कार्यरत छन् ।
शाखा प्रमुख दाहालका अनुसार कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने र नकुहिने फोहोर घटाउने चेतना अझै फैलिन बाँकी छ । पर्याप्त डम्पिङसाइट नभएको र फोहोर व्यवस्थापनको जिम्मेवारी केवल नगरपालिकामाथि थोपर्ने प्रवृत्तिले समस्या समाधानमा ढिलाइ भइरहेको छ । ‘समस्या र चुनौती त छन्, तर निरन्तर अनुगमन र सामाजिक सञ्जालको डरका कारण अहिले सडकमा खुला फोहोर देखिने अवस्था हराउँदै गएको छ,’ दाहालले भने, ‘मानिसमा फोहोर सडकमा होइन, घरबाटै दिनुपर्ने चेतना जाग्दै गएको छ ।' फोहोरमैला निष्कासन, संकलन तथा अन्तिम विसर्जनसम्बन्धी ०६८ मा जारी निर्देशिकाअनुसार सडक वा सार्वजनिक स्थानमा फोहोर फाल्नेले पहिलोपटक पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र फाल्न पाइन्छ ।