मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
२o८२ श्रावण ३ शनिबार १८:२o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरकारी र खसीबोका बिक्रीबाट महाशिलामा भित्रियो साढे तीन करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १८:२o:oo

पर्वतको महाशिला गाउँपालिकाका किसानले तरकारी र खसीबोका बिक्री गरेर मात्रै रु. साढे तीन करोड भित्र्याउन सफल भएका छन् । गाउँपालिकाले कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा अभिवृद्धि गर्नका लागि विभिन्न प्रोत्साहन मूलक कार्यक्रम सुरु गरेसँगै गत आर्थिक वर्षमा झन्डै रु. साढे तीन करोड भित्रिएको हो। 

महाशिलाका ६ वटै वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रापालन गरिँदै आएको छ। पालिकाका सबै वडामा सडकको सहज पहुँच पुगेसँगै उत्पादित वस्तुको सजिलै निर्यात गर्न सकिने भएकाले एकै वर्षमा ठुलो परिमाणमा आम्दानी गर्न सफल भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिइन्। 

अध्यक्ष भुसालका अनुसार गत आर्थिक वर्षमा महाशिलाबाट एक करोड ५० लाखको तरकारी र रु. दुई करोडको खसीबोका निर्यात भएको छ। गाउँमा उत्पादित अर्गानिक र स्वास्थ्य कर हुने भन्दै ग्राहकको पहिलो रोजाइ बनेको हाल पोखराको बिरौटामा बस्दै आएका महाशिला गाउँपालिका–५ का पूर्वअध्यक्ष जीवनविक्रम उच्चैले बताए। 

महाशीलाका अध्यक्ष भुसालका अनुसार कृषकलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि पालिकाले तरकारीमा प्रतिकिलो रु. पाँच र मासुमा रु. २५ अनुदान दिँदै आएको छ। 

यस्तै, महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दा, इस्कुस, लौका, काँक्रो, टमाटर, भिन्डी, सिमी, बोडी, फर्सीलगायतका तरकारीजन्य वस्तु उत्पादन हुने गरेको छ। 

महाशिला गाउँपालिकासँगको सहकार्यमा हेफर इन्टरनेसनल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य शृंखलामार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउने परियोजना सञ्चालन गरेको छ। 

उक्त परियोजनाबाट महाशिला गाउँपालिकाका ८७५ कृषक लाभान्वित भएको अध्यक्ष भुसालको भनाइ छ। महाशिलामा एक हजार १५० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिएको छ। 

यहाँबाट गत आर्थिक वर्षमा करिब ३० टन फर्सी, १० टन तरुल बिक्रीसमेत गरिएको थियो। महाशिलाले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न कृषि एम्बुलेन्स र सहकारी-कृषि समूहमार्फत उत्पादित वस्तुहरूको बजारीकरणको व्यवस्थापन गर्ने भएको छ। तरकारी खेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम रु. दुई लाखदेखि रु. १० लाखसम्म आम्दानी गर्ने गरेका छन् । 

चालू आर्थिक वर्षको कार्यक्रममा पालिकाले स्थानीय तहमा उत्पादित कृषि उपजको एकीकृत बजारको स्थापना गर्ने योजना ल्याएको छ । खसीबोकाको मासु निर्यात गर्ने दिगो आधारको सिर्जना गर्नुका साथै व्यावसायिक दुध उत्पादनका लागि उन्नत जातको गाईपालनमा अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको अध्यक्ष भुसालले बताए। 

‘टोल-टोलमा नर्सरीः घर घरमा करेसाबारी’ कार्यक्रम सञ्चालन गर्दै कम्तीमा एउटा वडालाई फूलको वडाको रूपमा विकास गर्ने गरी पुष्पखेती कार्यक्रम सञ्चालन गरिने र वडा नं. २ भोक्सिङमा उत्पादन हुने आलुलाई ब्रान्डिङ गरिने भएको छ। 

पालिकाले  पूर्ण रूपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने र कृषि उद्यम गर्ने कृषकलाई सहुलियत ऋण प्रदान गर्ने योजना बनाएको छ।