मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
२o८२ श्रावण ३ शनिबार १६:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १६:२६:oo

हल्दिबारी गाउँपालिकाका चिया बगानहरूमा ‘लुपर’ नामक किराको प्रकोप फैलिएको छ। हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरूले यसबाट ठुलो क्षति व्यहोर्नुपरेको छ।

झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँचवटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ किराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताए । किसानहरूले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन गरेका छौँ, उनले भने।

चिया किसान गोपाल गिरीले चियाको हरियो पत्ती टिप्ने मुख्य समयमा हल्दिबारीका ठुला र साना सबै चिया बगानमा ‘लुपर’ किराले महामारीको रूप लिएको बताए । उनले झापाको हल्दिबारीमा मात्र यो रोगको प्रकोप देखापरेको बताए। यसअघि चियाको बोटमा ‘रेड स्पाइडर’ नामक किराको प्रकोप देखापर्ने गरेको थियो। ‘लुपर’ का कारण हल्दिबारीका चिया बगान पहेलिएर सुक्न थालेको उनको भनाइ छ।

‘लुपर’ एक प्रकारको झुसिल किरा वा फौजी किराजस्तै पात र मुना खाने किरा हो। यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टी लुपर’ भनेर चिनिन्छ। यसको माउ पुतली हुन्छ। पातमा पारेका असंख्या अन्डाबाट लार्भा निस्किएर चियाको पात खाने गर्दछ।

चियाको बोटमा वैशाखदेखि नयाँ पात पलाउने भएकाले वैशाखदेखि साउनको समयलाई हरियो पत्ती उत्पादनको सबैभन्दा मुख्य समय मानिन्छ। किसानहरूले यसपालिको यो समयमा चिया पत्ती टिप्न नपाएको कारण करोडौँको नोक्सानी भएको बताएका छन्।

हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगानलगायत सातवटा ठुला चिया बगान छन् भने पाँच सयभन्दा बढी परिवारको निजी बगान छ । किसानहरूले सहकारीमार्फत दुईवटा प्रशोधन कारखाना आफैँ चलाउँदै आएका छन्। रासस