मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 19 July, 2025
तेजकुमारी अधिकारी
Invalid date format १o:३५:oo
Read Time : > 2 मिनेट
साहित्य प्रिन्ट संस्करण

सामाजिक विसंगतिको सजीव चित्रण

Read Time : > 2 मिनेट
तेजकुमारी अधिकारी
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

आर्थिक रूपमा सम्पन्न जमिनदार र उच्च जातको मानिने ठकुरी केटाको आफ्नै घरमा कमैया बस्नेको छोरीसँग प्रेम सम्बन्ध हुन्छ । केटाले आफ्नो परिवारलाई मनाई सामाजिक रूपमा विवाह गरेर घर भित्र्याउन सक्ने अवस्था देख्दैन । आफूले छाड्न नसक्ने र परिवारको सहमतिमा वैवाहिक संस्कार र परम्परा पूरा गरी विवाह गर्न नसक्ने भएपछि निजले गाउँको देवीमाताको मन्दिरमा मालतीसँग विवाह गर्छ । घरपरिवारका सबै सदस्य काठमाडौंमा भएको समयमा साँझ–बिहान आफ्ना निम्ति खाना बनाउन आउने मालतीसँग शारीरिक सम्बन्ध कायम भई छोराको जन्म हुन्छ । सो कुरा कुमारको परिवार, मुखिया बा र आमालाई ग्राह्य र मान्य हुन सक्दैन । त्यसैकारण, मालती र निजको सन्तानलाई अन्य परपुरुषको जिम्मा लगाइन्छ । यो उपन्यास ‘बेचिएको नाता रगतको’को कथा हो । 

भर्खरै शरदप्रसाद कोइरालाद्वारा लिखित ‘बेचिएको नाता रगतको’ नामक उपन्यास बजारमा आएको छ । यस उपन्यासमा कुमारले मालतीलाई मन्दिरमा लगी टीका लगाएर पत्नीको रूपमा ग्रहण गर्छ । कुमार र मालतीबिच शारीरिक सम्बन्ध कायम हुन्छ । उनी गर्भवती हुन्छिन् । मालती गर्भवती भएको आभास सबैभन्दा पहिला मालतीको आमा कमलीलाई हुन्छ । निजले आफ्नी छोरीलाई एकान्त पारी सोधपुछ गर्दा जमिनदारको छोरासँगको सम्बन्धका कारण गर्भवती भएको थाहा हुन्छ । 

मालतीका बाबु चूडामणि सीमान्त र आमा कमलीले राति कुमार ठकुरीलाई भेट गरी मालतीको गर्भको विषयमा सोधपुछ गर्छन् । कुमार ठकुरीले मालतीको आमाबाबुलाई निर्धक्क आफूहरूले देवीमाताको मन्दिरमा विवाह गरेको र आफूसँगको सम्बन्धकै कारण मालती गर्भवती भएको बताउँछन् । मालतीका अभिभावकले कुमारलाई मालती र निजको बच्चा बेवारिसे हुुनुहुँदैन, तपाईंले कसरी जिम्मा लिने सोच बनाउनुभएको छ भनेर सोध्छन् । कुमारले यसै गर्भका कारण बाबुआमाले आफू र मालतीबिचको सम्बन्धलाई मान्यता दिने अवस्था हुन सक्छ, त्यसो भएमा मालतीलाई आफ्नै घरमा भित्र्याउने र आफ्ना बाबुआमाले नमानेमा मालतीलाई लिई अन्यत्र गएर जीवनयापन गर्ने व्यहोरा बताउँछन् । मालतीका बुबाआमा कुमारको भनाइमा विश्वास गर्छन् । 

प्रकृतिको स्वाभाविक नियमअनुसार मालतीको गर्भले पूर्णता प्राप्त गरी मालतीकै घरमा छोराको जन्म हुन्छ । विवाह नभएकी मालतीले बच्चा जन्माएको विषय गाउँमा डढेलोसरह फैलिन्छ । आफैँकहाँ कमैया बसेको चूडामणिको छोरीबाट बच्चा, त्यो पनि आफ्नै कान्छो छोरा कुमारको सम्बन्धबाट भएको व्यहोरा जमिनदार मुखियाबालाई अवगत हुन्छ । उक्त सम्बन्धलाई इन्कार गर्न छोरालाई दबाब दिने र मालतीलाई बच्चासहित अन्यत्र जिम्मा लगाउन उनी हरसम्भव प्रयत्न गर्छन् । आर्थिक प्रलोभनमा मालतीलाई अन्यत्र जिम्मा लगाउने मुखियाबाको योजना सफल हुँदैन । त्यसपछि मुखियाबाले आपराधिक समूहको डरत्रासमा मालतीलाई बच्चासहित अन्य पुरुषको जिम्मा लगाउँछन् । 

उपन्यासको जोडी पात्र एक–अर्काको अँगालोमा रहँदा दुवैको मनमा भएको अनुभूतिलाई उपन्यासमा उतारिएको छ । दुवैमा प्रेम र शारीरिक तापको भाव उर्लिरहेको थियो । दुवै नि:शब्द थिए तर दुवैजना प्रेमरागमा एक–अर्कालाई केही भनिरहेको र केही सुनिरहेको मनस्थितिमा थिए । आत्मा नै मिलेपछि बोलिरहन नपर्ने आत्माले नै एकले अर्कालाई भन्न र सुन्न सक्ने बनाउने रहेछ । कसैको हुनुमा पनि आनन्द अनुभूति हुँदो रहेछ ।

कमलीलाई आफ्नो छोेरीले गरेको कार्य थाहा पाउँदा छातीमा गोली लागेजस्तो भयो । आफू बसिरहेको जमिन भासिएजस्तो भयो । विनाशकारी भूकम्पले पृथ्वी नै हल्लाएजस्तो भएको अवस्थालाई आफूभित्र दबाउँदै छोरीको कपाल मुसार्दै सम्झाउँछिन् ।

मालतीको कोखबाट बच्चा जन्मिसकेपछि मालतीका बाबु र भाइ बच्चाको न्वारनका लागि मुखियाको घरमा जान्छन् । छोरी गर्भवती हुँदा लामो समयसम्म किन भन्न आएनौ, बच्चा जन्मिसकेपछि भन्न आउने भनी इन्कार गरेपछि मालतीका बाबु चूडामणिले मुखियाबालाई जवाफ दिन्छन् । 

मुखियाबाले मालतीलाई अन्यत्र जिम्मा लगाउन खोज्छन् । गाउँको एक शिक्षकसँग मालतीको बाबु र मालतीलाई सम्झाइदिन सहयोग माग्न जान्छन् । त्यस अवस्थामा गाउँको शिक्षकले यस विषयलाई सम्बन्धित व्यक्तिले कसरी लिएको छ सोको आधारमा भर पर्छ भन्छन् । व्यक्तिको आत्मामा चोट लागेको भए व्यक्ति मर्मान्त हुन्छ । त्यसलाई कुनै पनि कुराले हल्लाउन सक्दैन । व्यक्तिले त्यसलाई आत्मसम्मानको रूपमा लिएको भए व्यक्तिले त्यस्तो क्रियामा सम्झौता गर्न सक्दैन । व्यक्तिको सार्वजनिक जीवनमा आँच आउने कार्य गरिएको भए त्यसलाई प्रतिष्ठाको रूपमा कायम राख्न चाहन्छ । व्यक्तिको स्वाभिमानमा प्रहार भएको भए सहमति गरी त्यसलाई तिलाञ्जली दिन सक्दैन । 

उपन्यासमा कथा अगाडि बढ्दै जाँदा भएका संवाद तर्कसहित प्रस्तुत गरेको देखिन्छ । जुन पात्रको भनाइ हो, त्यही ठिक हो जस्तो लाग्छ । पीडाजनित अभिव्यक्ति पनि सशक्त छ । कानुन व्यवसायीले लेखेको उपन्यास भएकाले हुन सक्छ, कानुनी शैली र शब्दावलीको पनि आभास आउँछ । पुस्तकमा शुभकामना मन्तव्य पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाले दिनुभएको छ । पुस्तक प्रकाशक ताराप्रसाद भट्टराई हुनुहन्छ । पुस्तकको वितरक पैरवी पुस्तक भण्डार पुतली सडकका चन्द्र सिवाकोटी हुनुहुन्छ ।