मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हदिश खुद्दार
२०७५ पौष १६ सोमबार ११:१५:००
Read Time : > 1 मिनेट
समाचार

प्रदेश २ बाटै श्रम स्वीकृति दिन सुरु

Read Time : > 1 मिनेट
हदिश खुद्दार
२०७५ पौष १६ सोमबार ११:१५:००

प्रदेश २ का वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने झन्झट सकिएको छ । अब जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाटै श्रम स्वीकृति पाइने भएको छ ।  आइतबारदेखि जनकपुरबाटै श्रम स्वीकृति दिन सुरु गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि सरकारले प्रदेशबाटै श्रम स्वीकृति सेवा प्रदान गर्न सुरु गरेको श्रम तथा रोजगार कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख उदयप्रसाद गुप्ताले बताए । प्रदेशबाटै सेवा सुरु भएपछि स्थानीयवासी पनि खुसी भएका छन् । श्रम स्वीकृतिका लागि जनकपुर पुगेका धनुषाको बहुर्वाका मोहम्मद जिलानीले प्रदेशबाटै सेवा पाउँदा खुसी लागेको बताए । ‘श्रम स्वीकृति लिन काठमाडौं जाँदा कठिनाइ हुन्थ्यो, खर्च पनि धेरै हुन्थ्यो । अब जनकपुरबाटै सुरु भएपछि सजिलो भएको छ,’ जिलानीले भने । 

सबै सेवाका लागि एक महिना लाग्ने
श्रम स्वीकृतिसम्बन्धी सबै कामका साथै व्यक्तिगत रूपमा विदेश जाँदा आवश्यक अनुमतिसमेत प्रदेशबाटै हुनेछ । यसका लागि भने एक महिना लाग्ने निमित्त कार्यालय प्रमुख गुप्ताले बताए । ‘गन्तव्य देशको नेपाली दूतावासबाट प्रमाणीकरण भएर आएकोे डिमान्ड लेटर पनि अब यहीँबाट जारी हुनेछ,’ उनले भने ।  यी सबै काम हुन भने कम्तीमा एक महिना लाग्ने जनाइएको छ । अहिले कर्मचारी अभाव रहेको र वैदेशिक रोजगार विभागको कामको अभ्यस्ततासमेत नभएकाले वैदेशिक रोजगार विभागको कार्यालयबाट हुने सबै काम सुरु हुन कम्तीमा पनि एक महिना लाग्ने निमित्त कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।  अहिले यी सबै काम काठमाडौंस्थित श्रम तथा रोजगार विभागबाट पनि भइरहेको उनले बताए । काठमाडौंमा रहेका युवाले त्यहीँबाट पनि सेवा लिन सक्ने श्रम तथा रोजगार कार्यालयले जनाएको छ ।

 यी हुन् प्रदेशबाटै हुने काम
प्रदेश कार्यालयबाट श्रम स्वीकृतिसँगैै वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिने निमित्त कार्यालय प्रमुख गुप्ताले बताए । उनका अनुसार, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने, गुनासो सुनुवाइ गरी सेवाप्रवाहलाई सहजीकरण गर्नेलगायत काम पनि प्रदेश कार्यालयबाटै हुनेछन् ।