मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १ आइतबार २०:१८:००
Read Time : > 1 मिनेट
अर्थ

गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोडको बजेट पेश (पूर्ण पाठसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १ आइतबार २०:१८:००

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभामा आइतबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चालूतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पूँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन प्रस्ताव गरिएको जानकारी दिए । प्रदेशको कूल बजेटको ६२ प्रतिशत पूँजीगत र ३८ प्रतिशत चालूतर्फ खर्च रहेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गुरुङका अनुसार अनुमानित खर्चमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान सात अर्ब ११ करोड २२ लाख छ भने ससर्त अनुदान पाँच अर्ब ३५ करोड १६ लाख रहेको छ । त्यस्तै समपूरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड, राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम सात अर्ब ७० करोड ५१ लाख तथा रोयल्टीबापत प्राप्त हुने ४० करोड रहेको उनले जानकारी दिए ।

आन्तरिक राजश्वबाट प्राप्त हुने तीन अर्ब २७ करोड ७५ लाख व्यहोर्दा छ अर्ब ७३ करोड ८३ लाख ९२ हजार न्यून हुने जानकारी दिँदै मन्त्री गुरुङले अपुग पूर्ति गर्न चालू आवको असार मसान्तसम्म खर्च भई बाँकी रहने नगद मौज्दात चार अर्ब ८० करोड उपयोग गरिने बताए । राजश्व, अनुदान र नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने एक अर्ब ९८ करोड ८३ लाख ९२ हजार र त्यसमध्ये ९८ करोड ८३ लाख ९२ हजार आन्तरिक ऋणबाट व्यहोरिने तथा त्यसबाट पनि अपुग एक अर्ब नेपाल सरकारबाट ऋण लिइने उनले जानकारी दिए । 

बजेट वक्तव्यपछि सञ्चारकर्मीसँगको भेटमा मन्त्री गुरुङले प्रदेशको सुमृद्धि र विकासका लागि यो महत्वपूर्ण आधार बन्ने प्रतिक्रिया दिए । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेट महत्वाकाङ्क्षी भन्दै यसको कार्यान्वयनमा आशङ्का व्यक्त गरे ।