मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका लन्डन
२०७६ असार १ आइतबार १४:३२:००
Read Time : > 1 मिनेट
खेलकुद

भारतसँग सधैँ निरीह पाकिस्तान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका लन्डन
२०७६ असार १ आइतबार १४:३२:००

चार दशक लामो एकदिवसीय क्रिकेट विश्वकपमा अहिलेसम्म पाकिस्तानले भारतलाई हराउन सकेको छैन । विश्वकपमा सधैँ पाकिस्तानमाथि भारत हाबी हुँदै आएको छ । अहिलेसम्म ६ पटकको भिडन्तमा भारतले सबै खेलमा बाजी मारेको छ । आइतबार हुने खेलमा पाकिस्तान ऐतिहासिक सफलता प्राप्त गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । तर, उच्च फर्ममा रहेको अपराजित भारतविरुद्ध जित निकाल्न पाकिस्तानका लागि त्यति सहज छैन । राजनीतिक द्वन्द्वका कारण दुई राष्ट्रबीच घरेलु सिरिज हुन सकेको छैन । यसैकारण आइसिसीले आयोजना गर्ने प्रतियोगितामा यी दुवै राष्ट्र एकअर्काविरुद्ध भिड्न सधैँ लालायित हुन्छन् । सन् १९९२ को विश्वकपमा भारत र पाकिस्तान पहिलोपटक एकअर्काविरुद्ध भिडेका थिए । भारत र पाकिस्तानबीचका ६ भिडन्त यस्ता छन् । 

१९९२ (सिड्नी)
इमरान खानको नेतृत्वमा पाकिस्तानले पहिलोपटक विश्वकप उपाधि उचाल्यो । तर, भारतविरुद्ध भने पाकिस्तान ४३ रनले पराजित हुन पुग्यो । सिड्नीमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले युवा ब्याट्सम्यान सचिन तेन्दुलकरको अविजित ५४ रनको अर्धशतकीय इनिङमा दुई सय १६ रन बनायो । पाकिस्तान एक सय ७३ रनमै समेटियो । पाकिस्तानका लागि आमिर सोहेलले ६२ रन बनाउनु नै सर्वाधिक स्कोर रह्यो । 

१९९६ (बेंग्लोर)
विश्वकपको क्वार्टरफाइनल खेल बेंग्लोरमा भएको थियो । भारतले टस जितेर पहिले ब्याटिङको निर्णय लियो । भारतका लागि ओपनर नवजोतसिंह सिद्धुले ९३ रनको उत्कृष्ट इनिङ खेल्दै भारतलाई दुई सय ८७ रनको अवस्थामा पुर्‍याए । पाकिस्तान राम्रो सुरुवातका बाबजुद पनि दुई सय ४८ रनमै अलआउट हुन पुग्यो । खेल भारतले ३९ रनले जित्यो ।

१९९९ (म्यानचेस्टर)
यो संस्करणमा पाकिस्तानले निकै राम्रो क्रिकेट खेल्यो । विश्वकपमा दोस्रोपटक पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो । तर, सुपर सिक्समा भारतसँग पाकिस्तान ४७ रनले पराजित भयो । टस जितेर भारतले पहिलो ब्याटिङ गर्दै राहुल द्रविडको ६१ रनको अर्धशतकीय इनिङको मद्दतमा दुई सय २७ रन बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तान ४५.३ ओभरमा एक सय ८० रनमा अलआउट भएको थियो । भारतले सो विश्वकपको सुपर सिक्समा पाकिस्तानविरुद्ध मात्र जित निकालेको थियो ।

२००३ (सेन्चुरियन)
दक्षिण अफ्रिकामा पहिलोपटक आयोजना भएको विश्वकपमा भारत र पाकिस्तानबीच सेन्चुरियन पार्कमा प्रतिस्पर्धा भएको थियो । सौरभ गांगुलीको कप्तानीमा रहेको भारतले फाइनलसम्म स्थान बनाएको थियो । भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले टस जितेर साहिद अनवरको शतकमा दुई सय ७३ रन बनाएको थियो । भारतले सचिन तेन्दुलकरको ९८ रनको मद्दतमा ४५.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । भारतका युवराज सिंह ५० रनमा अविजित रहे ।

२०११ (मोहाली)
दोस्रोपटक विश्वकप उपाधि जित्नुअघि २०११ को विश्वकप आयोजक भारतको भेट सेमिफाइनलमा पाकिस्तानविरुद्ध भएको थियो । घरेलु टोली भारतले २९ रनले जित आत्मसात् गर्दै फाइनलमा स्थान बनायो । भारतले पहिलो ब्याटिङ गर्दै पाकिस्तानविरुद्ध दुई सय ६० रन बनाएको थियो । पाकिस्तान दुई सय ३१ रनमा अलआउट भयो । सो खेलमा पनि तेन्दुलकरले ८५ रनको सम्झनलायक इनिङ खेलेका थिए ।

२०१५ (एडिलेड)
एडिलेडमा पनि कथा उही रह्यो । भारतले ७६ रनले खेल आफ्नो पक्षमा पार्दा विराट कोहली नायक बनेका थिए । कोहलीले एक सय सात रनको शतकीय इनिङ खेलेका थिए । सुरेश रैनाले ७४ रनको उत्कृष्ट इनिङ खेले । भारतले सात विकेट गुमाएर तीन सय रनको विशाल स्कोर बनाएको थियो । जवाफमा पाकिस्तान ४७ ओभरमा दुई सय २४ रनको अवस्थामा अलआउट भयो ।