मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सांसद
नुनुता राई काठमाडाैं
२०७६ जेठ ३१ शुक्रबार ११:०८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

शाकाहारी खाना मीठो पकाउँछु : डा. डिला संग्रौला

भान्सामा सेलेब्रिटी

Read Time : > 1 मिनेट
नुनुता राई काठमाडाैं
२०७६ जेठ ३१ शुक्रबार ११:०८:००

म विद्यार्थीकालदेखि नै निरन्तर राजनीतिमा सक्रिय रहँदै आएकी छु । यस्तो अवस्थामा पनि मैले आफ्ना जीवनका सबै क्षेत्रलाई सम्हाल्दै आएकी छु । छोरीहरू हुर्काए । अहिले दुवैजनाको बिहे भइसकेको छ । हाल उनीहरू ज्वाइँसँगै देशबाहिर छन् । श्रीमान् जागिरको सिलसिलामा विराटनगरमा हुनुहुन्छ । काठमाडौंमा म एक्लै छु । घरको सबैकाम आफैँ गर्ने गरेकी छु । घर सफा गर्ने, कपडा धुने, खाना पकाउने आदि सबै गर्छु ।

घरको काम गर्नकै लागि भनेर हालसम्म सहयोगी राखेकी छैन । पहिले छोरीहरू साना छँदा त सहयोगी राखिनँ । अहिले त झन् राख्ने कुरै भएन । श्रीमान्को सहयोगका कारण पनि हो । मैले करिब १५ वर्ष कलेज पढाएँ । राजनीतिमा पनि सक्रिय थिएँ । त्यसवेला पनि घरको सबै काम म र श्रीमान् मिलेर गथ्र्यौैं । आफूलाई, ‘तेहेरो जिम्मेवारी निभाएकी व्यक्ति हुँ’ भन्न मन पराउँछु ।

घरमा शाकाहारी  खाना मात्र पाक्छ 
हामी शाकाहारी हौँ । घरमा शुद्ध शाकाहारी खाना मात्र पाक्छ । मैले पकाएको खाना श्रीमान्, छोरीहरूलगायत सबैले मीठो मानेर खान्छन् । मलाई पनि आफैँले पकाएको खाना मीठो लाग्छ । हरियो तरकारी प्रायः टुट्दैन । साथमा दूध, दही, मही, हुन्छ । 

श्रीमान्को सहयोग 
मैले खाना पकाउन नभ्याएको वेला श्रीमान्ले खाना पकाउनुहुन्छ । उहाँले पनि मीठो नै बनाउनुहुन्छ । छोरीहरू स्याहार्नेदेखि लिएर खाना पकाउने सबै काममा सहयोग गर्नुभयो । छोरीहरू पनि ‘बुबाले पकाएको खाना मीठो हुन्छ’, भन्छन् । उहाँले यही नै मीठो बनाउनुहुन्छ भन्ने छैन । यद्यपि, सबै परिकार मीठैगरी पकाउनुहुन्छ । 

हामी शाकाहारी हौँ । घरमा शुद्ध शाकाहारी खाना मात्र पाक्छ ।

सकभर घरकै खाना 
म एकदमै व्यस्त हुन्छु । घरको काम आफैँ गर्ने भएकोले बिहान उठेदेखि राति सुत्नेवेलासम्म व्यस्त हुन्छु । कहिलेकाहीँ बिहान ८ बजेदेखि पनि कार्यक्रम पर्छ । यस्तो अवस्थामा सामान्य खाजा खाएर हिँड्छु । मिलेसम्म घर गएर पकाएर खान रुचाउँछु । तर, कहिलेकाहीँ सम्भव हुँदैन । त्यस्तो अवस्थामा बाहिर पनि खान्छु । मलाई बाहिरको खाना मन पर्दैन । बाध्यतावश मात्रै खाने हो । 

नेपाली  खाना मनपर्छ
मलाई सबैभन्दा मनपर्ने खाना भनेको नेपाली खाना हो । दाल, भात, तरकारी र अचार खाए मात्र सन्तुष्ट हुन्छु । त्यसैले, सकेसम्म यही नै खान्छु । कहिलेकाहीँ रोटी–तरकारी खान्छु । यो मीठो भनेर एउटै मात्र तरकारी छैन । जे छ त्यही मीठो लाग्छ । छोरीहरू पनि त्यस्तै छन् । मीठो मानेर खान्छन् । भान्सामा सागसब्जी बढी हुन्छ । पनिर पनि खान्छौँ । तर, एकदमै कम । स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने भएकोले ताजा र कम विषादीयुक्त तरकारी किन्ने प्रयास हुन्छ ।