मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ ३१ शुक्रबार ०९:०१:००
Read Time : > 2 मिनेट
सेयर बजार

‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता

Read Time : > 2 मिनेट
२०७६ जेठ ३१ शुक्रबार ०९:०१:००

सेयरबजार सुस्त हुदै गएपछि लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । बजेटपछि सकारात्मक दिशा लिने अपेक्षा गरिएको सेयरबजार, निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू सो रणनीति अपनाउन बाध्य भएका हुन् । यसका साथै, आगामी महिनामा सार्वजनिक हुने मौद्रिक नीति पुँजीबजारमैत्री हुने हो वा होइन भन्ने अन्योलका कारण पनि लगानीकर्ता सो अवस्थामा पुगेको एक ब्रोकरले बताए । साताको अन्तिम कारोबार दिन नेप्से शून्य दशमलव २३ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि कमी आएको छ । बजारमा तरलता अभाव चर्किएसँगै सेयर बजार प्रभावित भएको एक विश्लेषकको भनाइ छ । अहिले सेयर बजारको ‘अफ सिजन’ भएका कारण पनि बजार सुस्त भएको उनको भनाइ छ । 

बजार सारांश : बिहीबार नेप्से परिसूचक २ दशमलव ९२ अंक घटेर १ हजार २ सय ६९ दशमलव ५५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ५४ अंक घटेर २ सय ७१ दशमलव ८१ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव २ अंक र सेन्सेटभि फ्लोट इन्डेक्स शून्य दशमलव १२ अंक घटेको छ । यस दिन १ सय ७० कम्पनीको ६ हजार ५ सय ४८ पटकको कारोबारमा ४५ करोड ६५ लाख ६ हजार रुपैयाँबराबरको १४ लाख २३ हजार ६ सय ८७ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण :
आरएसआई :
 नेप्सेको १४ दिने आरएसआई यसदिन ४० दशमलव २१ स्केलमा रहेको छ । बजार ओरालो लागे पनि आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : यस दिन नेप्सेको एडी रेसियो शून्य दशमलव ५४ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ७० कम्पनीमध्ये यस दिन ५० कम्पनीको सेयरमूल्य बढेको छ भने ९२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २८ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

नेप्सेको यस दिनको पिभट बिन्दु १ हजार २ सय ६९ दशमलव ५३ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार २ सय ६४ दशमलव २३ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ५८ दशमलव ९१ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आइतबार बजार उकालो लागे नेप्सेले १ हजार २ सय ७४ दशमलव ८५ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ८० दशमलव १५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सगरमाथाको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा सगरमाथा इन्स्योरेन्स अगाडि रहेको छ । सो कम्पनीको यस दिन २ सय ७५ पटकको कारोबारमा ३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीले ८६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सो बोनस सेयर वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १ गतेदेखि बुक क्लोज गर्नेछ । बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण यस कम्पनीको सेयर कारोबार बढेको हो । सेयर संख्याका आधारमा ग्लोबल आइएमईको संस्थापक सेयर अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा अपर तामाकोसी हाइड्रोपावर अगाडि रहेको छ । अपरको यस दिन ३ सय २३ पटक सेयर किनबेच भएको छ भने ग्लोबलको १ लाख कित्ता संस्थापक सेयर किनबेच भएको छ ।
  
१० समूहको परिसूचक घट्यो 
यस दिन कारोबारमा आएका ११ समूहमध्ये १ समूहको मात्र परिसूचक बढेको छ भने १० समूहको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव २ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ८२ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ६६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ४९ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४३ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव २४ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक शून्य दशमलव २ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १९ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव १८ प्रतिशत, अन्य समूहको शून्य दशमलव शून्य ४ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य ३ प्रतिशत घटेको छ ।

६ प्रतिशत पनि बढेन कम्पनीहरूको सेयरमूल्य
यस दिन कारोबारमा आएका कम्पनीहरूको सेयरमूल्य खासै घटबढ भएको छैन । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४ दशमलव ८२ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य यस दिन ४ दशमलव ६७ प्रतिशत घटेको छ । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्स, मल्टीपर्पोज फाइनान्स, जोशी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।