१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १५:१४:००
Read Time : > 1 मिनेट
नयाँCity

एकको नजरमा अर्को : अञ्जली अधिकारी र प्रकाश सपुत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १५:१४:००

गायक प्रकाश सपुतको गीत ‘गलबन्दी’ यतिवेला चर्चामा छ । यसअघि उनको ‘बोल माया’ गीत पनि निकै चर्चित भएको थियो । दुवै गीतमा अञ्जली अधिकारीले मोडलिङ गरेकी छिन् । प्रकाशलाई पनि स्क्रिनमा देख्न सकिन्छ । दुवै गीतबाट प्रकाशले जति चर्चा पाए, उति नै चर्चा अञ्जलीको अभिनयले पनि पायो । दुवै कलाकारसँग नयाँ पत्रिकाका राज सरगमले एक–अर्काका आनीबानीबारे सोधखोज गरेका छन् :

अञ्जली अधिकारीको नजरमा प्रकाश सपुत

बहुप्रतिभाशाली र एकान्तप्रेमी

एकदम सहज : उहाँ साह्रै सहज हुनुहुन्छ । कति काम सजिलै सिकाउनुहुन्छ । मलाई उहाँ अभिभावकजस्तो लाग्छ । 

बहुप्रतिभाशाली : उहाँलाई सर्जक मात्र भनेर हुँदैन । धेरै राम्रो सर्जक हो । हरेक काम मिहिन रूपमा सोचेर मात्र गर्नुहुन्छ । चार वर्ष भयो, उहाँसँग मैले सहकार्य गर्न थालेको । जहिल्यै सिक्न पाएकी छु ।

भावुक : साह्रै भावुक हुनुहुन्छ । मन भएको मान्छे । सहयोग गर्न जहिल्यै तम्तयार हुने । स–साना कुरामा पनि अरूलाई सहयोग गरिरहनुहुन्छ । 

एकान्तपे्रमी : उहाँ प्रायः एक्लै–एक्लै हराइरहेको देख्छु । सायद केही सिर्जना गरिरहनुहुन्छ । हिँड्दाहिँड्दै एक्लै छोडिनुहुन्छ । जब केही सोच्नुहुन्छ, तब एक्लिएको लाग्छ । 

एकदम साधारण : कहिल्यै ठूलो कुरा गर्नुहुन्न । अनि उहाँको ड्रेसअप पनि सामान्य लाग्छ । नयाँ डिजाइनका लुगामा पनि फिट देखिनुहुन्छ । जस्तो ड्रेसअप गर्दा पनि सुहाउँछ । 

प्रकाश सपुतको नजरमा अञ्जली अधिकारी बढी नै ठट्टा गर्ने

प्रतिभावान् : अञ्जली प्रतिभावान् व्यक्ति हो । उनको शारीरिक संरचना जुन भूमिकाका लागि पनि फिट देखिन्छ । अनुहार कमलो भएकाले ‘कमन लुकिङ’ छ । किशोरी, युवती, सासू, बुहारी जस्तो भूमिकामा पनि सुहाउँदो प्रतिभा हो । 

मिजासिलो आनीबानी : ठूलो पल्टिने बानी छैन । हरेक स्तरको मान्छेसँग खुलेर हाँस्ने, बोल्ने बानी छ । तर, बढी नै ठट्टा गर्ने । जिस्किँदाजिस्किँदै कहिलेकाहीँ चिढिने पनि गर्छिन् । चित्तचाहिँ दुखाउँदिनन् ।

काममा कन्सन्ट्रेट : कामको वेलामा जहिल्यै एकाग्र हुन्छिन् । सकेसम्म कामलाई नबिथोलिदिए हुन्थ्यो भन्नेमा हुन्छिन् ।

अलि ठाडो बोल्छिन् : कतिपय कुरा सुन्दा ठाडो कुरा गरेझैँ लाग्छ । तर, मनमा घमण्ड भने छैन । तैपनि, ठाडो नबोलिदिए अझ सुहाउँछ । घमण्डी रहेछ भन्ने किन पारिरहनु !

छिटो निर्णय दिने : उनी काम मन परेको छैन भने तुरुन्त अस्वीकार गर्छिन् । जस्तै– पैसाको कुरा नमिले, भूमिकामा चित्त नबुझे । कम्तीमा सोचेर निर्णय दिनुपर्छ । त्यसो गर्नुभयो भने उहाँलाई नै राम्रो हुन्छ ।