मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ ३० बिहीबार ०८:१६:००
Read Time : > 3 मिनेट
सेयर बजार

सुस्त हुँदै सेयरबजार

Read Time : > 3 मिनेट
२०७६ जेठ ३० बिहीबार ०८:१६:००

नेपाली धितोपत्रको दोस्रो बजार अहिले सुस्त हुन थालेको छ । सकारात्मक बजेटले नेप्से बढाउने अपेक्षा गरिएको थियो । तर, सोविपरीत नेप्से ओरालो लागेपछि लगानीकर्ताको मनोबल घटेको छ । बजारमा तरलता अभावका कारण सेयरबजार प्रभावित भइरहेको छ । तरलता सन्तुलन गर्नका लागि नेपाल राष्ट्र बैंकले यस दिन १० अर्ब रुपैयाँ वित्तीय क्षेत्रमा पठाएको छ । यसले बजारको तरलता समस्या केही समाधान हुने अपेक्षा गरिएको छ । यसका साथै केही लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेका एक ब्रोकरले बताए । 

विगतका वर्षमा पनि बजेट र मौद्रिक नीतिको बीचको समयमा सेयरबजार यस्तै सुस्त हुने गरेको एक विश्लेषकले बताए । बजेट कार्यान्वयन हुन समय लाग्ने र मौद्रिक नीतिको पर्खाइका कारण बजारमा यस्तो हुने गरेको उनको भनाइ छ । यस दिन बजार खुलेदेखि मध्याह्नसम्म नेप्से ओरालो लागेको थियो । मध्याह्नपछि बजार सामान्य उकालो लागे पनि सुरुवातको बिन्दुभन्दा माथि जान सकेन । 

बजार सारांश
नेप्से परिसूचक यस दिन ३ दशमलव ५० अंक घटेर १ हजार २ सय ७२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० अंक घटेर २ सय ७२ दशमलव ३६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २८ अंक घटेको छ । यस दिन १ सय ७४ कम्पनीको ६ हजार ७ सय ९२ पटकको कारोबारमा ५० करोड २६ लाख ८२ हजार रुपैयाँबराबरको १८ लाख ७१ हजार ८ सय ९ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव ५४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ५४ रहेको छ । यस दिन कारोबारमा आएका १ सय ७४ कम्पनीमध्ये ५० कम्पनीको सेयरमूल्य बढेको छ भने ९१ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु १ हजार २ सय ७७ दशमलव २९ रहेको छ । बिहीबार नेप्से ओरालो लागे १ हजार २ सय ६७ दशमलव ४२ बिन्दुमा पहिलो र १ हजार २ सय ६२ दशमलव ३६ बिन्दुमा दोस्रो टेवा पाउने सम्भावना रहेको छ । त्यसैगरी, बजार उकालो लागे नेप्सेले १ हजार २ सय ७७ दशमलव २९ बिन्दुमा पहिलो र १ हजार २ सय ८२ दशमलव १० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

साल्ट ट्रेडिङको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ४४ रुपैयाँ बढेर ४ सय ८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको सेयरमूल्य यस दिन ७ दशमलव शून्य ९ प्रतिशत घटेर १ सय ३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । मल्टीपर्पोज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावर लिमिटेडको सेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ । 

९ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने ९ समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव ६४ प्रतिशत बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्यमा सकारात्मक सर्किट लागेपछि यस समूहको परिसूचक बढ्न टेवा पुगेको हो । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ३३ प्रतिशत र अन्य समूहको शून्य दशमलव २७ प्रतिशत बढेको छ । 

म्युचुअल फन्ड समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ५३ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव १२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५२ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४४ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २९ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २७ प्रतिशत, वित्त समूहको शून्य दशमलव २३ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ ।

सर्वाधिक कारोबार ग्लोबल आइएमईको संस्थापक सेयर
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन ७ करोड १२ लाख ६२ हजार रुपैयाँबराबरको ४ लाख ९ हजार ५ सय ५३ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको यस दिन ३ सय ७९ पटकको कारोबारमा ४ करोड २५ लाख ४३ हजार रुपैयाँ बराबरको ६४ हजार ३ सय २६ कित्ता सेयर किनबेच भएको छ । प्रभु बैंकको कारोबार रकम यस दिन २ करोड नाघेको छ भने बाँकी कम्पनीको कारोबार रकम २ करोडभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा यस दिन पाँचथर पावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ४ सय ५१ पटकको सेयर कारोबार भएको छ । 

राधीको साधारणसभा
राधी जलविद्युत् कम्पनी लिमिटेडले असार २९ गते अमृतभोग क्याटरिङ, कालिकास्थानमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ५ प्रतिशत बोनस सेयर, ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार ९ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्नेछ ।

हिमालयन डिस्टिलरीको अन्तरिम नगद लाभांश खातामा जम्मा गर्ने
हिमालयन डिस्टिलरी लिमिटेडले जेठ ३० गतेदेखि अन्तरिम लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित नाफामा रहेको रकमबाट प्रतिसेयर ६८ दशमलव ४२ रुपैयाँका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सो अवधिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामा सो लाभांश जम्मा गरिनेछ । 

ग्रामीण विकासको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २७ गतेदेखि १ बराबर शून्य दशमलव ५ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (जेठ ३०) गते अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सो हकप्रद सेयरमा ०७५ चैत २८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द जेठ ३० गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले एनआइबिएल एस क्यापिटल, ग्रामीण विकासका केन्द्रीय तथा शाखा कार्यालयहरू र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले सो हकप्रद सेयरलाई ‘केयर एनपी आइपिओ ग्रेड फोर’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतमा रहेको संकेत गर्छ । हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ५० लाख रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख पुग्नेछ ।