मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ जेठ २९ बुधबार ११:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

वन्यजन्तुको तिर्खा मेटाउन  कृत्रिम पोखरी

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार ११:०५:००

हिउँदको सुक्खायाममा वन्यजन्तुको तिर्खा मेटाउन नवलपुरका दुईवटा सामुदायिक वनमा कृत्रिम पोखरी निर्माण गरिएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किवासमा रहेको विनयी समुदायिक वन र मध्यबिन्दुमा कृत्रिम पोखरी निर्माण गरिएको हो । पोखरी निर्माण करिब पूरा भइसकेको छ । पोखरी निर्माण एक महिनाअघिबाट सुरु भएको थियो । 

भू तथा जलाधार व्यवस्थापन कार्यालय गण्डकी प्रदेश तनहुँको दुई लाख ५९ हजार रुपैयाँ र वन समूहको ५३ हजार लागतमा पोखरी निर्माण गरिएको हो । यस सामुदायिक वनमा गैँडा, हरिण, मृग, मयूर बँदेललगायतका जनावर छन् । हिउँदको समयमा प्राकृतिक पोखरी, घोल र सिमसार सुक्ने हुँदा वन्यजन्तुलाई पानी अभाव हुने गरेको छ । यो अभाव टर्ने गरी कृत्रिम पोखरी निर्माण गरिएको विनयी सामुदायिक वन उपभोक्ता समितिका कार्यालयसचिव मीना पौडेलले बताइन् ।

वन क्षेत्रमा विनयी खोला पर्ने भए पनि क्रसर उद्योग र नदीजन्य वस्तु निकासी हुँदा वन्यजन्तु खोलामा पानी पिउन नजाने गरेकाले पोखरी निर्माण गरेको पौडेलले बताइन् । कार्यालयनजिकै २१ वटा रिङ राखी इनार खनिएको छ र सोही इनारबाट डेढ इन्चको मोटरमार्फत पानी निकालेर पाइपमार्फत पोखरीसम्म पुर्‍याइएको पौडेलले जानकारी दिइन् । कार्यालयबाट दुई सय ५० मिटरको दूरीमा पाइपमार्फत पानी लगेर पोखरीमा जम्मा गरिएको छ । पोखरी निर्माणपछि दिनहुँ साँझ र बिहान गैँडासहितका वन्यजन्तु पानी पिउन र आहाल खेल्न आउने गरेको पौडेलले बताइन् । 

भू तथा जलाधार व्यवस्थापन कार्यालय गण्डकी प्रदेश तनहुँका प्रमुख दिवाकर पौडेलले बाह्रै मास पानीको सहज व्यवस्थापन गर्न सकियोस् भनेर बजेट विनियोजन गरेको बताए । पौडेलले नवलपुरको मध्यबिन्दुमा रहेको अम्रसा सामुदायिक वनमा समेत पोखरी निर्माणका लागि दुई लाख ५९ हजार उपलब्ध गराएको जानकारी दिए । अम्रसामा पोखरी निर्माण जारी रहेको र यसै महिनाभित्र सम्पन्न हुने बताए ।