मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७६ जेठ २९ बुधबार ११:०९:००
Read Time : > 1 मिनेट
प्रदेश

जथाभावी बालुवा संकलन

Read Time : > 1 मिनेट
डिलाराम भुसाल कपिलवस्तु
२०७६ जेठ २९ बुधबार ११:०९:००

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा–शिवपुर–उमेरी–चौराहसम्मको पूर्र्व–पश्चिम राजमार्गभित्र सञ्चालित क्रसर उद्योगहरूले सडक छेउमै नदीजन्य पदार्थको संकलन गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा सञ्चालित अधिकांश क्रसर उद्योगहरू राजमार्गको सडकमै सञ्चालन भए पनि कारबाही गर्नुको सट्टा मौन बसेर मापदण्डविपरीत काम गर्नेलाई प्रोत्साहन गरेको हो । 

मापदण्डअनुसार पूर्व–पश्चिम राजमार्गको दुवै छेउ ८२ फुटभित्र कुनै पनि वस्तु राख्न पाइँदैन । तर, क्रसर उद्योगले मापदण्डविपरीत सडकमै नदीजन्य पदार्थ बिक्रीवितरण गरी उघोगहरू सञ्चालन गरेका छन् । तर,  प्रदेश सरकार तथा स्थानीय सरकार मौन बसेका छन् । शिवराज नगरपालिकाभित्रै आधा दर्जनभन्दा बढी ठाउँमा नदीजन्य पदार्थ थुपारिएका छन् भने सडकमै क्रसर उद्योग सञ्चालन भइरहेका छन् । यसरी सञ्चालन गरिएका उद्योगहरूले पूर्व–पश्चिम राजमार्गमा यातायातलाई असहज बनाउने र वातावरण प्रदूषण बढाएर स्थानीय व्यक्तिलाई पनि सास्ती दिएका छन् ।

शिवराजको बालापुरदेखि चैनपुर नजिकै रहेका शिवराज बालुवा प्रशोधन उद्योग, र भरत पुन मगर भनिने शैलेन्द्र पुनले समेत घर स्थानीयको आगाडि सडकमै नदीजन्य पदार्थहरू थुपारेका छन् । त्यस्तै, शिवपुर उमरी चोक नजिकै रहेको हाइवे होटेल तथा न्यु स्टार आयल सेन्टर नजिकै वडा नम्बर १ का अध्यक्षका छोरा सरोज जिसीले नदीजन्य बालुवा थुपारेका छन् । त्यस्तै, श्रीराम आयल सेन्टरमा समेत आनन्द भुसालले बालुवा थुपारेका छन् ।

उमरी चोकको उत्तरतर्फ रहेको जयशंकर बालुवा प्रशोधन उद्योगसमेत सडक सिमानाभित्रै छ । यस्तै, ग्यालेक्सी बालुवा प्रशोधन उद्योगसमेत नियमविपरीत सञ्चालन भएको छ । उमरी मन्दिर जाने सडक र कृषियोग्य जमिनमा बालुवा थुपारिएको छ । वडा नम्बर १ का अध्यक्ष जगत जिसीले क्रसरका बारेमा वडामा उजुरी आएको तर आफू बिरामी भएर उपचारका लागि काठमाडौं भएकाले सुनुवाइ नभएको बताए । उनले अब केही दिनमै यसको सुनाइ गर्ने बताए । 

धुलोले स्थानीय हैरान, विद्यालयमा असर
क्रसरले उडाउने धुलोबाट स्थानीयसमेत पीडित भएका छन् । क्रसर उद्योग र उद्योगमा आवतजावत गर्नेे टिपरले उडाएको धुलोले गाउँ नै धुलाम्ये हुने गरेको स्थानीय व्यवसायीहरूको गुनासो छ । क्रसरको आवाजले गाउँमा बालबालिकालाई पढ्नसमेत समस्या छ । सडकमा तीव्र गतिमा टिपर कुदाउने गरेकाले बालबालिका, वृद्धवृद्धालाई बाटो हिँड्नसमेत समस्या भएको स्थानीयवासीको गुनासो छ ।  

यस्तो छ मापदण्ड
सरकारले शिक्षण संस्था, स्वास्थ्य संस्था, पुरातात्विक महत्वको को स्थान र सुरक्षा निकाय, निकुञ्ज, आरक्ष, मध्यवर्ती र चुरेको वातावरण संरक्षण क्षेत्र, घना बस्ती, वन क्षेत्रबाट एक किलोमिटर टाढा उद्योग हुनुपर्ने गरी सीमा निर्धारण गरेको छ । पक्की पुल, राष्ट्रिय लोकमार्गबाट पाँच सय मिटर, प्रदेश मार्गबाट तीन सय मिटर टाढा हुनुपर्ने उल्लेख छ । स्थानीय कृषि तथा ग्रामीण सडकबाट एक सय मिटर, एयरपोर्टबाट दुई किलोमिटर टाढा हुनुपर्ने कार्यविधिमा उल्लेख छ । नदीखोलाको पानी बग्ने किनाराबाट पाँच सय मिटर टाढा, ताल तलैया र ऐतिहासिक धार्मिकमहत्वको का पोखरी तथा घाटबाट पाँच सय मिटर टाढा हुनुपर्ने व्यवस्था छ । 

बालुवा हटाउन प्रशासनको निर्देशन
यता कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले राजमार्ग क्षेत्रमा नदीजन्य पदार्थ बालुवा डम्पिङ हटाउन ७ दिनको समय दिएको बताए । कसैले अटेर गरेमा सडक विभागले नै हटाउने चेतावनीसहित निर्देशन दिएको अर्यालले  बताए  । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बालुवा प्रशोधन उद्योग र केही व्यापारीलाई डम्पिङ हटाउन लगाउने बताए ।