आइतबार भारत र अस्ट्रेलियाबीच खेल भइरहेको थियो । अस्ट्रेलिया आफ्नो इनिङको दोस्रो ओभर खेलिरहेको थियो । भारतीय बलर जसप्रित बुमराहले बलिङ गरेका थिए । बुमराहको बल जब डेभिड वार्नरको ब्याटको भित्री किनारा लाग्दै विकेटलाई छुँदै बाहिर निस्कियो धेरैले वार्नर आउट भएको आकलन गरे । तर, संयोग न स्टम्प ढल्यो न स्टम्पमाथिको बेल नै । स्टप्स बेल हल्का हलियो मात्रै तर बलेन र झरेन् पनि । क्रिकेटको नियमअनुसार आउट हुन बेल झर्नुपर्छ अन्यथा आउट मानिन्न । अहिलेसम्म जारी विश्वकपमा भएका १४ खेलमध्ये पाँचपटक यस्तो भइसकेको छ । कुनै बलरको बलले विकेट त छोयो तर बेल झेरन जसले ब्याट्सम्यान आउट भएनन् ।
यो कसरी भइरहेको छ
विश्वकपमा जुन बेलको प्रयोग भएको छ यसको भित्र फ्ल्यासिङ लाइटको प्रयोग गरिएको छ । लाइटकै तौल भारी भएर बेल नझरेको आरोप आइसिसीमाथि खेलाडीले लगाएका छन् । भारतीय खेलाडी जसप्रित बुमराहले भने, ‘मेरो विचारमा लाइट गह्रौं भएकै कारण बेल नझेरेको हुन सक्छ । सोही लाइटका कारण बेलको तौल भारी भएको मान्न सकिन्छ । यसमा विचार गर्न ढिला गर्नु हुन्नँ ।’ अस्ट्रेलियन कप्तान एरोन फिन्च भन्छन् ‘नयाँ स्टम्पमा बेल केही भारी भएका कारणले नै झरिरहेको छैन ।’ कतिपयले स्टम्पको टपमा बेल अडाउनका लागि जुन प्वाल बनाइएको हुन्छ । त्यो निकै गहिरो भएका कारण पनि बेल नझरेको दाबी गर्ने गरेका छन् ।
बेललाई दोष दिन मिल्दैन
आइसिसीले भने बेलमा कुनै समस्या नभएको भन्दै खेलाडीलाई बेल नझर्नु संयोगमात्र भएको बताएको छ । उसले भनेको छ, ‘अहिलेको बेलको ओजन सामान्य छ । विशेष गरेर सामान्य अवस्थामा प्रयोग हुने बेल र तीव्र हावा चलेको समयमा लगाउने बेलबीचको बेल प्रयोग गरिएको छ । त्यसैले यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । हामीले इंग्ल्यान्डको मौसमअनुकुल बेलको प्रयोग गरेका छौँ ।’
राम्रो बलमा पनि विकेट झर्दैन
बेलमा समस्या भएको भारतीय कप्तान विराट कोहलीको तर्क छ । कोहलीले भने, ‘बेलमा समस्या छ किनभने राम्रो बलमा विकेटमा लागे पनि बेल झरेको छैन । स्टम्पको कोटिङमा पनि समस्या हुन सक्छ । यद्यपि सरसर्ती चेक गर्दा धेरै भित्रसम्म गाडिएको छैन । तर, समस्या देखिएकाले समाधान चाँडो गर्नुपर्छ । सधैँ यस्तो भएमा यसले समस्या पार्न सक्छ ।’
यी खेलाडी भाग्यमानी रहे
बेल नझर्दा बलर तनावमा देखिएका थिए भने ब्याट्सम्यान भाग्यमानी रहे । इंग्ल्यान्डका आदिल रसिदको बलमा दक्षिण अफ्रिकाका क्वन्टन डि कक बेल नझर्दा जोगिने पहिलो खेलाडी बनेका थिए । त्यस्तै, न्युजिल्यान्डका ट्रेन्ट बोल्टको बलमा श्रीलंकाका दिमुथ करुणारत्ने पनि बेल नझर्दा जोगिए । तेस्रो खेलाडीका रूपमा क्रिस गेल रहे । अस्ट्रेलियाका मिचेल स्टर्कले गरेको बलमा वेस्ट इन्डिजका क्रिश गेल जोगिएका थिए । त्यस्तै, इंग्ल्यान्डका बेन स्टोक्सको बलमा बंगलादेशका मोहमद सैफुददिन पनि बेल नझर्दा भाग्यमानी बने । त्यस्तै, पछिल्लोपटक जसप्रित बुमराहको बलमा अस्ट्रेलियन डेभिड वार्नर भाग्यमानी बनेका थिए । तर, संयोग नै मान्नुपर्छ ब्याट्सम्यान स्टम्पमा लागेर बेल्स नझरे पनि सबै बेल नझर्ने टिम पराजित हुन पुगेका छन् ।