सकारात्मक सोच्छु त्यसैले सुखी छु : अंगुरबाबा जोशी

मेरो स्वास्थ्य

२०७६ जेठ २९ बुधबार १०:४०:००

अंगुरबाबा जोशी, साहित्यकार तथा समाजसेवी तस्बिर : संजित परियार

अंगुरबाबा जोशी साहित्यकार, समाजसेवी हुन् । उनको परिचय यत्तिमा सीमित छैन । उनी नेपालकै पहिलो महिला क्याम्पस प्रमुख हुन् । उमेरले नौ दशक छुन लागेकी जोशीले आफ्नो स्वास्थ्य र जीवनशैलीबारे नयाँ पत्रिकाकी सुनिता खनालसँग भनिन् :

रोग लागे पनि  हाँसेर जिइरहेकी छु
म ८८ वर्षकी भएँ । मेरो शरीरमा निको नहुने दसौँ रोग छन् । रोग लागेपछि धेरैले रोएर जीवन बिताएको देखेको छु । तर, म हाँसेर बिताउँछु । १५–१६ वर्षअघि घाँटीको क्यान्सर भयो । अप्रेसन गर्दा मुख बांगो भएर गालामा पुग्यो । उपचार गर्न भारत गएँ । पछि ब्रेस्टको क्यान्सर भयो । दुवै ब्रेस्ट काटेर फाल्नुप-यो । अहिले पनि समय–समयमा उतै (भारत) धाइरहनुपर्छ । साथै, लामो समयदेखि मुटुमा पेसमेकर राखेर हिँडेकी छु ।

भित्री सुन्दरतामा  पोख्त भएँ 
सौन्दर्य भन्ने कुरा निश्चित समयमा महत्वपूर्ण हुन्छ । अनुहारकाे सुन्दर्ता युवाअवस्थामा विशेष हुन्छ । त्याे बेला आफू र अरु दुवैले सुन्दरता खोज्छन् । जति जति परिपक्व हुँदै गयो, सौन्दर्यको परिभाषा फेरिने रहेछ । बाहिरी सुन्दरताभन्दा भित्रको सौन्दर्यले महत्व राख्दै जाने रहेछ । विचार कति सकारात्मक छ र बुद्धि कति तीक्ष्ण भएको छ भन्ने कुराले फरक पार्दो रहेछ । अहिले जत्तिको सुन्दर म कहिल्यै थिइनँ जस्तो लाग्छ, मलाई । अहिलेको मेरो उमेरको सौन्दर्य मन र दिमागको हो । त्यो मसँग छ । बांगो अनुहारले म्याटर गर्दैन । 

जति परिपक्व हुँदै गयो, सौन्दर्यको परिभाषा फेरिने रहेछ । बाहिरी सुन्दरताभन्दा भित्रको सौन्दर्यले महत्व राख्दै जाने रहेछ ।


कसैसँग रिसराग छैन 
मसँग सुख र शान्तिको अनुभूति छ । रत्तिभर तनाव लिन्नँ म । केहीको चिन्ता छैन मलाई । कसैसँग रिसराग छैन । सबै मान्छेको अन्तिम गन्तव्यसुख शान्ति र आनन्द नै हो । यद्यपि, कतिपयले यो नस्विकार्नु अर्को पाटो हो । मसँग रोग छ, शरीर दुख्छ । दुख्नु शरीरको धर्म हो भन्ने सोच्छु । सहनुपर्छ भन्ने लाग्छ । दुखेमा औषधि गर्ने हो । मेरोे शरीरलाई दुखेको हो, मलाई होइन भन्ने सोच्छु । 

उमालेका  खानेकुरा मात्र खान्छु
बिहान ७ बजे उठिसक्छु । चपाएर केही खान मिल्दैन । नमिलेर के भयो र खाने कुरा पेलेर बनाएको सुप खान्छु । सबै कुरा उमालेको मात्र खान्छु । जौको चिउरालाई दूधमा घोलेर खान्छु । सिस्टरको सहायतामा दिनमा चारपटक औषधि खान्छु । एकदेखि डेढ घन्टा फिजियोथेराफी गर्छु । एक मिनेट पनि हातमा किताब भएन भने म छटपटाउँछु । निरन्तर पढिरहन्छु, लेखिरहन्छु । बेलुका १० बजे सुत्छु । आनन्दित मनले सपना पनि राम्रो देख्छ । म सधैँ सकारात्मक सोच्छु । अरूलाई पनि त्यही गर्न अनुरोध गर्छु । 

 

प्रतिकृया दिनुहोस