गावस्करको पहिलो र अन्तिम एकदिवसीय शतक

तपाईंलाई थाहा छ ?

२०७६ जेठ २९ बुधबार १०:२०:००

३१ अक्टोबर १९८७ मा नागपुरमा भएको खेलमा न्युजिल्यान्ड र भारतबीच समूह चरणको अन्तिम खेल भइरहेको थियो । पहिलो ब्याटिङ गर्दै न्युजिल्यान्डले नौ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफमा भारतका कृष्णमाचारी श्रीकान्त र सुनील गावस्कर ओपनिङका लागि मैदानमा उत्रिएका थिए । श्रीकान्त ७५ रनमा आउट भए ।

त्यसपछि मोहमद अजरुद्दिनले गावस्करसँग साझेदारी निभाए । यी दुईले भारतलाई ३२.१ ओभरमै २२४ रन बनाएर जित दिलाए । गावस्करले ८८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै अविजित १०३ रन बनाए । जुन तत्कालीन समयमा कुनै पनि भारतीय खेलाडीले प्रहार गरेको सर्वाधिक छिटो शतकका रूपमा रहेको थियो ।

गावस्करको यो पहिलो र अन्तिम एकदिवसीय शतकका रूपमा रह्यो । त्यसअघि गावस्करले टेस्टमा भने ३४ शतक प्रहार गरेका थिए । त्यसपछि भारतले सेमिफाइनल खेलेको थियो तर पराजित हुँदै भारत बाहिरियो त्यसपछि गावस्करले सन्न्यास घोषणा गरेका थिए । उक्त शतक नै गावस्कोर करिअरको पहिलो र अन्तिम शतकका रूपमा रह्यो ।