१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
पक्राउ परेका पत्रकार प्रशान्त कनोजा । तस्बिर : एजेन्सी
२०७६ जेठ २९ बुधबार १०:०४:००
Read Time : > 1 मिनेट
विश्व

विवादास्पद ट्विटपछि पक्राउ परेका पत्रकार रिहा गर्न अदालतको आदेश

Read Time : > 1 मिनेट
२०७६ जेठ २९ बुधबार १०:०४:००

आदित्यबारे विवादास्पद ट्विट गरेपछि भारतीय पत्रकार प्रशान्त कनोजा पक्राउ परेका थिए

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे ट्विटरमा विवादास्पद भिडियो सामग्री पोस्ट गरेपछि पक्राउ परेका भारतका एक पत्रकारलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आदित्यबारे विवादास्पद ट्विट गरेपछि शनिबार पक्राउ परेका भारतीय पत्रकार प्रशान्त कनोजालाई रिहा गर्न सर्वोच्चले मंगलबार फैसला गरेको हो ।

कनोजाले आदित्यनाथसँग निकट सम्बन्ध रहेको बताउने एक महिलाको भिडियो ट्विटमा पोस्ट गरेका थिए । कनोजाले भिडियोसँगै ‘तपाईंले लुकाउने प्रयत्न गरे पनि माया छिप्दैन’ भन्ने वाक्य लेखेका थिए । उनी दिल्लीमा रहेर स्वतन्त्र पत्रकारिता गर्दै आएका थिए । 

भिडियोमा ती महिलाले आदित्यनाथले चाहेमा उनीसँग बाँकी जीवन जिउन चाहेको बताएकी थिइन् । मुख्यमन्त्रीलाई अनादर गरेको आरोपमा प्रहरीले कनोजालाई घरबाट पक्राउ गरेको थियो । कनोजाको पक्राउपछि आदित्यबारे पोस्ट भएको सो भिडियोलाई केहीले रि–ट्विट र पुनः पोस्ट गरेका थिए । सोही आरोपमा पछिल्लो तीन दिनमा अन्य पाँच व्यक्ति पनि पक्राउ परेका थिए ।

‘पत्रकारको पक्राउले नागरिकको स्वतन्त्रताको अधिकारमाथि हमला भएको छ,’ सर्वोच्च अदालतले मंगलबार कानोजाकी पत्नीले दायर गरेको निवेदनमाथिको सुनुवाइमा अदालतले भनेको छ, ‘पत्रकारले कुनै हत्या गरेका छैनन् ।’ फैसलापछि आफू निकै खुसी भएको कानोजाकी पत्नी जिजिशाले बताएकी छिन्, ‘म अहिले धेरै खुसी छु । मलाई भारतीय संविधानमा विश्वास छ । मेरा पतिले कुनै अपराध गरेका थिएनन् ।’ 

आदित्यबारे अशोभनीय ट्विटलाई रि–ट्विट गर्ने अर्का पत्रकार अन्जु शुक्ला र इसिंका सिंहसहित पाँचजना पनि पक्राउ परेका थिए । अदालतको फैसला सोही प्रवृत्तिको मुद्दामा पक्राउ परेका अन्य व्यक्तिमा पनि लागू हुनुपर्ने जनाइको छ । उनीहरूको पक्राउलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालका प्रयोकर्ताले आक्रोश पोखेका थिए । उनीहरूको पक्राउको भारतका सम्पादकको समूहले आलोचना गरेको थियो भने कंग्रेस अध्यक्ष राहुल गान्धीले आदित्यनाथले ‘मूर्खतापूर्ण व्यवहार’ देखाएको बताएका थिए ।